www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-मुुग्लिन सडक आयोजनाको पोखरा खण्डको काम बढाउन छलफल

पाेखरा ।
पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ ।
Batas
छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायातविज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र आयोजना व्यवस्थापक (पोखरा खण्ड) अमितकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।
भेटमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडि बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए। महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडि बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनले जानकारी गराए ।
“अहिले हामीले पोखरा खण्डको राइट अफ वे खाली गराउने काम सम्पन्न गरिसकेका छौँ”, उनले भने, “अभियानकै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको हो, अब केही स्थायी संरचना हटाउन बाँकी छ, मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचना तत्काल हटाइनेछ ।”
हाल काम अघि बढाउनका लागि वातावरण तयार गरिएको र काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको प्रमुख आचार्यले बताए । एसियाली विकास बैंकको सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ ।
सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल दुुई/दुुई लेनको दुइटा पुल बनाउन रु एक अर्ब सात करोडमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा चारवटा ठूला र १२  साना पुल बन्नेछन् ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.