www.tandavnews.com
Fact ~ In search of truth

उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन

काठमाडौँ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित  विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् ।

उनले विमान अवतरणदेखि यात्रु, कर्मचारीको प्रवेश, तिनीहरूको हातेब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गरेका थिए  । सो क्रममा गृहमन्त्रालयका सचिवसहित उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत कार्यालयका प्रमुखको सहभागिता थियो ।

Batas

विमानस्थलको बाटो भएर छिरेको सुन दुई दिनअघि भन्सार पाससमेत भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटि उजागर गरेको छ । 

अनुगमनपछि सङ्क्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थलमा सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउनेभन्दा पनि समन्वय र एकीकृत भएर काम गर्नुपर्नेमा जोड दिए। 

“राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो”, उनले भने, “यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै कठोररूपले जिम्मेवार हुनुपर्छ, तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्न र  त्यही स्पिरिटमा काममा गति दिन निर्देशन दिएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीबारे छानविन समितिले यसको जराजरामा पुगेर कारबाही गर्ने प्रतिवद्धता  व्यक्त गरे।

रासस

–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.