www.tandavnews.com
Fact ~ In search of truth

खीरको स्वाद हराउँदै

ध्रुवसागर शर्मा
गलेश्वर, रासस ।

आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ ।

गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खीर बनाएर खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ ।

Batas

हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ । भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ ।

भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खीर पाक्न थालेकाले खीरको मौलिक स्वाद विस्थापित हुँदै गएको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानीले बताए । “गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिठ्ठी लगाएर बनाइएको खीरमा पहिलाको जस्तो स्वाद कहाँ पाउनु”, ६० वर्षीय सिउथानीले भने “दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खीर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहैै छैन ।”

गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खीर बनाइ सेवन गरेमा शरीरलाई पोषणतत्व प्राप्त हुने आयुर्वेद शास्त्रमा उल्लेख छ । त्यस्तै वर्षा ऋतु, झरी–बाँदलका बेला र साउन महिनाको मध्यमा खीर खानाले शरीर स्वास्थ हुने भएकाले साउन १५ लाई खीर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।

बर्सेनि आजका दिन बेनी बजारका डेरी पसलमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुने गर्छ । कडेँल डेरीकी सञ्चालिका राधिका कँडेलका अनुसार साउन १५ मा खीर खानकै लागि अघिल्लो दिन नै साविकको भन्दा ७० लिटर बढी दूध थपिए पनि सबैको माग पूरा गर्न सकिने अवस्था छैन ।

चौधौँ शताब्दीदेखि छिमेकी मुलुक चीनबाट सुरु भएको खीर खाने प्रचलन हाल विश्वका प्रायजसो मुलुकमा फैलिएको छ । विशेष गरी सार्क क्षेत्र, पश्चिम एसिया, उत्तरी अफ्रिका र मध्यपूर्वका देशमा खीर खाने चलन बढिरहेको पाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार देश दूधमा आत्मनिर्भर उन्मुख भएको देखिन्छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा अहिले ७८ लिटर दूध प्राप्त हुने देखिएको १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब ३० अर्बको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ । कृषि क्षेत्रमध्ये दूधमा गरिएको लगानी दोस्रो स्थानमा रहेको छ ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.