www.tandavnews.com
Fact ~ In search of truth

सुन प्रकरण : एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो अनुसन्धान

काठमाडौँ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ ।

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै सिआइबीको हिरासतमा सारिएको थियो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले एसपी थापालाई अनुसन्धान तोकेर आवश्यक प्रक्रियाअघि बढाएको जानकारी दिए ।

“अब थापा नेतृत्वको टोलीले मिसिलहरु अध्ययन गर्र्ने, उच्च अदालतमा पुगेको मुद्दाको जिल्ला अदालतबाट म्याद मिलान गर्ने तथा थप अनुसन्धानको काम थालेको छ”, प्रवक्ता कडायतले भने । यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर विभागले थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरेको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्ने जनाइएको छ ।

Batas

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई हाजीरी जवानीमा छाडिए पनि १७ जना हिरासतमा छन् ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.