www.tandavnews.com
Fact ~ In search of truth

फिर्केखोला महत्वपूर्ण पर्यटन गन्तव्य बन्छ : महानगर प्रमुख आचार्य

पोखरा ।
पोखरा महानगरपालिकाले मेयर धनराज आचार्यले अतिक्रमित संरचना हटाएर फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको बताएका छन् ।
Batas
महानगरले शुरु गरेको फिर्केखोलाको सिमाङ्कन अवलोकनका क्रममा प्रमुख आचार्यले भने, “दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेनसहितको फुटट्रयाक बनाइने र यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।” उनले फिर्केखोला हुँदै फेवातालमा पुग्ने फोहोरका कारण ताल समेत प्रदूषित भएकोमा चिन्ता व्यक्त गरे ।
पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा–१८ को अधेँरीकुना नजिक पुगेको आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको छ । पोखरा–१७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन अब करिब दुई सय मिटर मात्र बाँकी छ ।
खोलाको नाप जाँचको स्थलगत अवलोकनमा पुग्नुभएका महानगरपालिकाका प्रमुख आचार्यले भने, “खोलाको नाप जाँचका क्रममा हालसम्म पाँचसय बढी सीमा स्तम्भहरू गाडिएका छन्, यसले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो, यसका शङ्का गर्नुपर्ने कुनै कारण छैन ।” उनका अनुसार खोलाको सिमाङ्कनले खोलामाथिको अतिक्रमण र दोहनलाई उदाङ्गो बनाइदिएको छ ।
फिर्केखोलामाथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने उनले जानकारी दिए । सिमाङ्कनको नेतृत्व गरिरहनुभएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म पाँच सयभन्दा बढी सीमास्तम्भ खोलाको दायाँबायाँ गाडिएका छन् । अब खोलाको दुई सय मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी छ । नाप जाँचका क्रममा खोलामाथि अतिक्रमण गरिएको, स्थायी संरचना निर्माण गरिएको र प्रदूषण गरिएको लगायतका अवस्थाहरू भेटिएको उनले बताए ।
खोलाको प्राकृतिक बहावको खोजी र अतिक्रमण विरुद्ध नागरिक अभियान्ताले सकारात्मक सहयोग गरिरहेको र फिर्केखोलाको सिमाङ्कन टोलीमा सर्वेक्षक, इञ्जिनियर र अमिनसहितको ४० जनाको टोली परिचालित रहेको पौडेलले जानकारी दिए ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.