www.tandavnews.com
Fact ~ In search of truth

नाग र कमलको फुलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी

वासुदेव पौडेल/ऋषिराम बराल
गण्डकी, रासस ।
Batas
तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ ।
नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताए । यही जनविश्वासका कारण यसको महत्व थप बढ्दै गएको बताउँदै नाग र कमलको फुलले यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइरहेको उनले उल्लेख गरे ।
समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बताउँदै यसको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिए । उनका अनुसार तालको दृश्यावलोनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा, टाढाटाढाबाट आउने चराचुरुङ्ी यहाँका प्रमुख आकर्षण हुन् ।
झण्डै तीन दशक अघिदेखि यस क्षेत्रका दलित समुदायले पोखरीको संरक्षणका साथै विकास गर्दै आएको अध्यक्ष विश्वकर्माले बताए । उनका अनुसार पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय तहले पनि यसको संरक्षण एवं प्रवर्द्धनमा चासो बढाउँदै आएका छन् ।
विश्व रामसार सूचीमा सूचीकृत रहेकाले पनि पछिल्लो समयमा यसको संरक्षण थप चासोको विषय बनेको छ । धार्मिक पर्यटकीयरुपमा उत्तिकै महत्व राख्ने कमलपोखरी परिसरमा प्रत्येक वर्षको नागपञ्चमीका दिन विशेष मेला लाग्ने गरेको कमलपोखरी आमा समूहका अध्यक्ष हस्तिमाया विकले जानकारी दिइन् । विशेष गरी दलित समूदायले यस क्षेत्रको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आएको बताउँदै उनले संरक्षणसँगै यसको महत्वलाई प्रचारप्रसार गर्न भने नसकिएको बताए ।
भगवान् विष्णुको प्रतिकका रूपमा मानिने कमलको फूल फूल्ने भएकाले यसलाई कमलपोखरी नामकरण गरिएको यहाँका स्थानीय बताउँछन् । प्रत्येक वर्षको नागपञ्चमीका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
संरक्षण समितिका अध्यक्ष विश्वकर्माका अनुसार पोखरीको सरसफाइ तथा मर्मतका लागि आवश्यक बजेट नहुँदा तालमा झार झागिँदै गएको छ । मन्दिरको पूजारी पनि दलित समुदायबाटै व्यवस्था गरिएको बताउँदै उनले हाल उज्वल विकले नियमित पूजाआजा गर्दै आएकाे जानकारी दिइन् ।
अध्यक्ष विश्वकर्माका अनुसार कमलपोखरी तालको क्षेत्रफल सुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनेकाले यसको क्षेत्रफल ३२ रोपनी रहेको जानकारी गराइन् । “पछिल्लो समय अतिक्रमणका कारण करिब छ रोपनी क्षेत्रफल कम देखिएको छ”, उनले भनिन्, “अहिले ताल वरपर तारबार गरिएको छ ।”
पोखरा बजारबाट नजिकै रहेकाले पनि यहाँ शनिबार र अन्य सार्वजनिक बिदाका दिन आत्रिक पर्यटकको घुइँचो लाग्ने गरेको अध्यक्ष विश्वकर्माले बताइन् । विसं २०४५ देखि नै यहाँका स्थानीयल सङ्गठित भइ तालको संरक्षण गर्दै आएकामा विसं २०५१ देखि ‘कमलपोखरी आमा समूह’दर्तागरी औपचारिकरुपमा ताल संरक्षणका साथै यसको विकासका क्षेत्रमा पहल थालिएको उनको भनाइ थियो ।
विसं २०६४ मा गठित कमलपोखरी संरक्षण समितिको पहलमा तालको संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको समितिका अध्यक्ष विश्वकर्माले बताइन् । उनका अनुसार कमलपोखरी चार दशक अघिसम्म बुडुवा तालका नामले परिचित थियो । प्राचीनकालमा ताल रहेको क्षेत्रमा पानीसँगै झारले ढाकिएको थियो ।
“छ दश अघिसम्म पर्याप्त माछा पाइने यस स्थानमा गौँडाको मुखमा बस्ने मति पोडे, उनका छोरा गोथे पोडे र नाति इन्द्र पोडेले यहाँ माछा मार्ने गर्दथे”, अध्यक्ष विश्वकर्माले भनिन्, “तत्कालीन मुखिया भीमप्रसाद आचार्यलले पोडे परिवारलाई वार्षिक रू तीन रुपैयाँ एक महोेर लिएर माछा मार्नका लागि स्वीकृति दिएको आफूले सुनेको हुँ ।”
पछिल्लो समय यस स्थानको धार्मिक महत्व रहेको थाहा पाएपछि संरक्षणका लागि स्थानीयले थप पहल अगाडि बढाएको अध्यक्ष विश्वकर्माले बताइन् । उनका अनुसार कमलपोखरीसम्म आउने बाटो नहुँदा स्थानीय कालेजैसी  गोतामे, अमिन शेरबहादुर कार्की र धनपति तिमल्सिनाले जग्गा दिएपछि बाटो खोलिएको थियो । बाटो सञ्चालनमा आएसँगै यसस्थलमा नागको मन्दिरलगायतका अन्य भौति पूर्वाधार निर्माण थालिएको उनले जानकारी दिइन् ।
“नियमित पूजाका लागि रकम अभाव भएपछि रू एक लाख एक हजारको अक्षयकोष स्थापना गरी धूप तथा अक्षता किन्ने व्यवस्था मिलाएका छौँ”, समितिका अध्यक्ष विश्वकर्माले भनिन्, “नागपञ्चमीका दिनमा आउने भक्तजनको दान र सहयोगले यसको संरक्षणका लागि केही टेवा पुगेको छ ।”
नागपञ्चमीमा यहाँ पूजा गरी कमलको फूलपात घरमा लगेर राखेमा घरपरिवारलाई राम्रो हुने जनविश्वास रहेकाले आजको दिन यहाँ आई कमलको फूल तथा पात घर लैजाने गरेको स्थानीय बताउँछन् । पोखरीका बीचमा नागको मूर्तिसँगै परिसरमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर तथा दुई वटा पाटीले यहाँको सौन्दर्य थप बढाएका छन् ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.