www.tandavnews.com
Fact ~ In search of truth

सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान

बाजुरा ।
जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
Batas
हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थयात्री त्यसतर्फ लागेका हुन् । बडीमालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू  बडीमालिका जाने गर्दछन् ।
खप्तडमा लाग्ने गङ्गादशहरा मेलाका समयमा स्थानीय निकायका उच्चपदस्थ व्यक्तिले यहाँ दर्शन तथा पूजाआरधाना गर्दै आएका छन् ।
बडीमालिकाको दर्शनले धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रही आएको बडीमालिकाका पुजारी भानुभक्त पाध्यायले बताए  । उनका अनुसार बडीमालिका बरदायी शक्तिस्वरुपा माता भएकाले देश तथा विदेशबाट  पनि एकपटकका लागि मात्र भएपनि यहाँ आउने गरेका छन् । बडीमालिकामा  बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट सरकारी पूजा लैजाने गरिन्छ ।
सरकारी पूजाका लागि बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेतृत्वको टोली आइतबार बडीमालिकामा प्रस्थान गरेको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधिसमेत सहभागी छन् । हरेक वर्ष जिल्लाका चार शक्तिपीठमा पूजा आरधाना गर्ने प्रचलन छ ।
जिल्लाका बडीमालिका, बूढीनन्दा, बडालेख, दुनलेख, सुनन्दालगायत शक्तिपीठमा एकैदिन पूजा लाग्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए ।
उनका अनुसार  धार्मिक तथा पर्यटीय क्षेत्रको प्रवद्र्धन र आन्तरिक पर्यटक बढाउनका लागि आवश्यक पहल गर्न जरुरी रहेको छ । बडीमालिका र बूढीनन्दालाई राज्यले पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेर उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना अघि सार्नुपर्छ ।
बडीमालिका र बूढीनन्दाको तीर्थयात्रा सुरु 
बडीमालिकाको तीर्थयात्रा आजदेखि सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरासहित विभिन्न जिल्लाका तीर्थयात्री यात्रामा यात्रामा सहभागी छन् । पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुदर्शीका दिन बडीमालिकासहित अन्य शक्ति पीठमा एकैसाथ पूजा लाग्ने गर्छ ।
बडीमालिकाको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भएकाले अधिकांश श्रद्धालु भक्तजन बडीमालिकाको दर्शन गर्न आउने गरेको त्यहाँका पुजारी नेत्रप्रसाद पाध्यायले बताए ।
निःसन्तानलाई सन्तान दिने र मागेको बार पूरा हुने भएकाले श्रद्धालु भक्तजनको बडीमालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ थियोे । बडीमालिकाको पूजाका लागि  डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पूजा बाजुरामा आइपुगेको छ । बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट ल्याइएको सरकारी पूजा सकेपछि अन्यभक्तजनले दर्शन गर्ने प्रचलन रहिआएको छ ।
बूढीनन्दामा पनि यात्रा सुरु 
जिल्लाकोे पूर्वी उत्तरी भेगमा रहेको बूढीनन्दामा आउने भक्तजनको  तीर्थ यात्रा पनि सुरु भएको छ । बडीमालिकासँगै बूढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ । धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरु छन् ।
बडीमालिका र बूढीनन्दा बहिनी भएकाले उनीहरु दुबैको  चतुर्दशीकै दिन पूजा हुने गरेको हो । यस वर्ष पहिलो पटक बूढीनन्दामा पनि सरकारी पूजा हुने भएको छ ।
चार शक्ति पिठमा एकैसाथ पूजा
जिल्लाका धार्मिक तथा पर्यटीकय क्षेत्र रहेका बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकैसाथ पूजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेका ती चार शक्तिपिठमा आआफ्नै ठाउँमा पूजा आराधना गरेर मेला भर्ने गरिन्छ ।
बडीमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकैसाथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडीमालिकालगायत अन्य तीर्थयात्रा गर्न नपाइने धार्मिक मान्यता रहिआएको छ । बडीमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा घरमा घटना हुने वा अन्य कुनै क्षति हुने जनविश्वास रहिआएकाले आआफ्नै ठाउँमा पूजा मेला गर्ने गरिएको बताइन्छ ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.