www.tandavnews.com
Fact ~ In search of truth

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली राजपत्रमा : गैर आवासीयलाई पनि नागरिकता

काठमाडौँ ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ । नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा गृहमन्त्रालयका नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए ।
Batas
नागरिकतामा नेपाली नागरिकताको प्रमाणपत्र भनी लेख्ने गरिएकामा गैर आवासीय नेपालीलाई दिइने नागरिकतामा भने गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र भनी उल्लेख हुने व्यवस्था गरिएको छ । यस्तो नागरिकता लिनेलाई राजनीतिक अधिकार भने नहुने उनले स्पष्ट पारे ।
नियमावलीमा उल्लेख भएअनुसार गैर आवासीय नेपाली नागरिकता लिनेलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार भने हुनेछ  तर उनीहरूका लागि शपथको पनि व्यवस्था पनि गरिएको शाखा प्रमुख कटुवालले जानकारी गराए । बाबु वा उनका परिवारले नागरिकताका लागि सनाखत गर्न नमानेमा जनप्रतिनिधिले सनाखत गरेका आधारमा पनि १६ वर्ष उमेर पुगेकालाई नागरिकता दिन सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।
सरकारी मान्यताप्राप्त अनाथालायमा हुर्किएका बालबालिकालाई स्थानीय सरकारको सिफारिसका आधारमा नागरिकता दिन सकिने भएको छ । जन्मदा एउटा लिङ्ग भएर नागरिकता लिइसकेकाले लिङ्ग परिवर्तन गरी नागरिकतामा सच्याउन चाहेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रमाणपत्रको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी नागरिकता दिन सकिने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.