www.tandavnews.com
Fact ~ In search of truth

‘मिटर ब्याजे प्रविण ! पीडितका भाई भन्छन् ‘दिदी पनि बितिन्, घर पनि खाइदियो’

पोखरा
ताण्डव न्यूज ।

पोखरा–५ पस्र्याङ चिल्ड्रेन पार्क नजिक गंगा केसीको घर थियो । अहिले न गंगा केसी छिन् न त उनको घर नै । पाठेघर क्यान्सरको कारण गंगाको २०८० जेष्ठ १८ गते निधन भयो । जीवनको अन्तिम क्षणमा पनि गंगालाई क्यान्सर र मृत्युको भन्दा पनि अरु नै कुराको भय थियो । आफ्नो बुवाले दिएको घर–जग्गा जान्छ की भनेर सधैँ पिरमा बाँचिन् उनी ।

एकतर्फ रोगको उपचार गराउन पैसा आवश्यक परेको थियो भने अर्को तर्फ घर–जग्गा नै जाने डरको पीडामा उनको जिवन गयो ।

Batas

गंगाले मृत्युको अन्तिम क्षणमा आफ्नो भाईहरुसँग भनेकि रहिछन् ‘मिटर ब्याजे प्रविण’ले घर खाने भयो । एकतर्फ भाईहरुले दिदिको उपचारको लागि लाखौँ खर्च गर्दै थिए भने अर्कोतर्फ पोखरा पृथ्वी चोकका प्रविण कुमार श्रेष्ठले घर खाली गर भन्दै तनाव दिने गरेको उनको भाईले ताण्डव न्यूजसँग सुनाए । चार जना दाजुभाई भएकी गंगालाई गुण्डागर्दी शैलिमा घरमा आएर गाली गर्दा डरले खुलेर प्रतिवाद गर्न नसकिएको एक भाईले नाम नबताउने सर्तमा कुरा खोले । प्रविणले ज्यान मार्ने धम्की दिएपछि आफुहरु चुपचाप बस्नु परेको उनले गुनासो पोखे ।

‘दिदिलाई क्यान्सरले भन्दा पनि मिटर ब्याजे प्रविणकुमार श्रेष्ठको टर्चरले वढी पीडा दिएको थियो,’ उनले भने, ‘दिदिलाई बचाउन सकिएन न त दिदिको घर नै, अहिले अन्य मान्छेहरु पैसा माग्न हामीकहाँ आउछन् ।’
दिदि विरामी हुँदा मानवता पनि नदेखाएर उल्टो थर्काउने गरेको भाईले सुनाए । ‘हामीले दिदिलाई उपचारको लागि कास्की मोडल अस्पतालमा २१ दिन, जेएमसी अस्पतालमा १ महिना र भरतपुर क्यान्सर अस्पतालमा १ महिना राख्दा लाखौ रकम खर्च भयो । तर त्यो प्रविणले कहिले मान्छे मर्ला र घर खाम्ला भने जसरी टर्चर दिने काम गथ्र्यो । दिदि वितेपछि गुण्डा र प्रशासन लगाएर घरको समान निकाल्दा पनि हामीलाई थाहाँ नदिई अहिले घर भत्काएर जग्गा हडपेको छ ।’

भाईका अनुसार गंगाले २०६७ सालमा ३५ लाख व्याजमा लिएको रकम २०७८ सालमा आउदा ४ करोड तिर्न देखिएको थियो । घर धितो विभिन्न व्यक्तिसँग राख्दै आएको तर अन्तिममा धितो राखेको प्रविण कुमार श्रेष्ठले घर फिर्ता माग्दा ४ करोड रकम भनेपछि घर गुमाउनु परेको भाईले सुनाए । ‘फिर्ता गर्ने तम्सुक हुँदा पनि घर खाईदियो प्रविणले, अहिले त्यो घरको मुल्या ४ करोड पर्दैन मिटर ब्याज लिएर पनि घर खाईदिए,’ उनले भने, ‘दिदिले २०७९ फागुन २ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रविण श्रेष्ठलाई कारवाही गरि पाउँ भन्दै उजुरी दिनु भएको थियो ।’ प्रहरी प्रशासनले पनि प्रविणलाई केही कारवाही गर्न नसकेपछि अब अन्तिम बाटो अदालत रहेको भाईले सुनाए । ‘दिदि वितेपछि पनि प्रशासनमा गएर उजुरी दिएको के भयो भन्दा यतिकै सकियो भन्ने जवाफ आयो,’ उनले भने, ‘प्रविण भन्ने मान्छे मिटर व्याजे गुण्डा र प्रशासन हातमा लिने मान्छे हो, आफ्नो उजुरी सेटिङ गरेर मिलायो ।’

सबै भन्दा पहिला पोखरा–६ की मिना भट्टराई त्यसपछि सन्ध्या कुँवर, गमबहादुर गुरुङ, नेत्र बहादुर खाडाँ हुदै अन्तिममा प्रविण श्रेष्ठले घर धितोमा राखेको भाईले बताए । ‘सबैसँग घर फिर्ता गर्ने भनेर तम्सुक बनाइएको छ,’ उनले भने, ‘एउटाको ब्याज अर्कोमा खप्टिदै साँवा बढि गरेपछि अन्तिमा प्रविणले सबै भन्दा धेरै ब्याज मागेको हो ।’

यस्तै प्रकृतीको अन्य घटनामा पनि प्रविण संलग्न रहेपनि अझैसम्म पनि कानुनको फन्दामा पर्न नसकेपछि उनिसँग सबै डराउने उनको भनाई थियो ।

यसअघि प्रविणले गरेको ज्यादतीबारे मिडियामा नआएको होइन । तर उनलाई कानुनी कठघरामा उभ्याउने हिम्मत कसैको भएन ।

प्रविणसँग विशेषगरी जिल्ला प्रहरी कार्यालय कास्की मुद्धा शाखाका केही प्रहरी कर्मचारी सुराकीका रुपमा रहेकाले उनि उपर आउने उजुरी निष्क्रिय हुने गरेको श्रोतले बतायो । यसैगरी कमाएको अकुत सम्पत्तिले प्रहरी प्रशासन किन्ने गरेको श्रोतको भनाई छ ।

यस विषयमा ताण्डव न्यूजले प्रविण कूमार श्रेष्ठलाई फोन मार्फत ‘तपाइले गंगा केसीसँग मिटर ब्याज लिई घर नै खाइदिएको भाईहरुको आरोप छ, के भन्नुहुन्छ ?’ भन्दा ‘म पछि कल गर्छु ’’ भन्दै फोन काटे ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.