www.tandavnews.com
Fact ~ In search of truth

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न समिति गठन

चितवन ।

भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो ।

Batas

“के, कसरी घटना घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्नेछ”, मल्लले भने । समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । सोही आधारमा दोषीलाई कारवाही गर्न सहज हुने उनले बताए।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनमाथि आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो । सो क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि सोही दिन काठमाडौँ लगिएको थियो ।

सो घटनापछि सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी अपशब्दहरु लेखिएको भन्दै महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

प्रहरी प्रमुख मल्लका अनुसार सो उजुरीपछि खैरहनीका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको छ । महानगरको उजुरी साइबर क्राइम ब्यूरोमा पठाइएको र त्यहाँबाट पनि अनुसन्धान थालिएको मल्लले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.