पोखरा
ताण्डव न्यूज ।
हिमालयन एनिमल रेस्क्यू ट्रस्ट (हार्ट नेपाल )ले पोखरा महानगरपालिकाका सडकमा रहेका कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । माघ ६ गते वडा नं १ बाट सुरु भएको यस अभियानमा हाल सम्म जम्मा ७०२ वटा कुकुरहरुलाई खोप लगाई सकिएको छ ।
यसरी लगाइएको खोपले एक वर्षसम्म कुकुरलाई रेबिज रोगबाट सुरक्षित राख्ने र मानिसलाई टोकी हालेमा रेबिजको जोखिम न्यून रहने हार्टले जनाएको छ ।
हार्टका अनुसार नेपालमा वर्षेनी २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गर्दछ । दक्षिण पूर्वी एशियामा ९६५ रेबिज रोग मानिसमा कुकुरबाट आउने गर्दछ । रेबिज रोग लागिसके पछि यसको कुनै उपचार हुदैन र बिरामीको मृत्यु अत्यन्तै पीडादायी र कष्टकर हुन्छ । यसै तथ्यलाई मध्यनजर गर्दै विगत ५ वर्षदेखि हार्टले रेबिज विरुद्धको अभियान चलाउदै आएको छ ।
अरु वर्ष झैँ यो वर्ष पनि वडा नं १ बाट सुरु भएको यो कार्यक्रम वडा नं १७ मा गएर समाप्त हुने जनाइएको छ । सडक सामुदायिक कुकुरहरुको संख्या नियन्त्रण गर्नको लागि खोप लगाउने क्रममा भेटिएका पोथी कुकुरहरुको निःशुल्क बन्ध्याकरण पनि गर्दै आइएको छ ।
हाल यो अभियान वडा नं १३ सम्म पुगेको र छिट्टै बाकी वडामा पनि कार्यक्रम विस्तार गरिने संस्थाका निर्देशक खगेश्वर शर्माले बताए ।
हार्ट नेपालले विगत १० वर्ष देखि छाडा छाडिएका कुकुरहरुको बन्ध्याकरण र बर्सेनी रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम बाहेक पोखराको बाटोमा भएका बिरामी तथा चोटपटक लागेका कुकुरहरुको उद्धार एवं उपचार गर्दै आएको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.