www.tandavnews.com
Fact ~ In search of truth

अघिल्लो महाधिवेशनमा २ मतले पराजित शर्मा पुनः सभापतिमा उठ्दै

पोखरा, ताण्डव न्यूज

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोषनाथ शर्माले सभापतिमा उम्मेदवारी दिने भएका छन् । यसअघि कास्की कांग्रेस सचिवको जिम्मेवारी पुरा गरेका शर्माले यसपटक शीर्ष नेतृत्वमा प्रतिष्पर्धा गर्ने बताएका छन् । कांग्रेस वृत्तमा सादगी नेताकारुपमा चिनिएका शर्मा पार्टीप्रति अत्यन्त जिम्मेवार र दायित्व पुरा गर्ने नेताकोरुपमा चिनिन्छन् ।

 ‘म परिचित पात्र हो कास्की कांग्रेसका साथीहरुका लागि, मौका नपाएको मात्र हो । यसपाली म जसरी पनि लड्छु । राजनीति त्याग पनि हो । यस अघि मैले त्यो गरे । सभापति लड्ने र जित्ने कुरामा यसपाली म अडिग छु,’ शर्माले ताण्डवलाई बताए ।

Batas

पोषनाथ शर्माले १२ औँ महाधिवेशनमा सभापतिमा लडेका थिए । त्यतिबेला उनी यज्ञबहादुर थापासँग मात्र २ मतले पराजित भएका थिए । उनले कांग्रेसका पुराना नेता शुक्रराज शर्माको लागि मार्ग प्रशस्त गर्दै आफू क्षेत्रीय सभापतिमा थन्किएका थिए । तर यसपटकको अधिवेशनमा उनै शुक्रराजले सभापतिका अर्का आकांक्षी आइबहादुर गुरुङलाई समर्थन गर्दै लबिङ् सुरु गरेकोमा शर्माको चित्त दुखाई छ । उनले भने, ‘मैले गरेको त्याग र विश्वासमाथि धोका भएको छ, यद्यपि मलाई विश्वास छ उहाँले मेरो पक्षमा सहयोग र समर्थन जुटाउनुहुने छ ।’

शुक्रराजले हाल आएर एक्कासी गुरुङलाई सहयोग गरेकोमा केही कांग्रेसीजनले ‘चुनावी फण्डा’ गरेको जनाएका छन् । आसन्न अधिवेशनमा कार्यसमितिभित्रै रहन उम्मेदवारी दिएका एक उम्मेदवार भन्छन् ‘उहाँ (शुक्रराज शर्मा) यसपटक गण्डकी प्रदेश सभापतिमा उठ्ने तयारीमा हुनुहुन्छ, सम्भवतः गुरुङ समुदायको भोट आफुलाई आओस् भन्ने रणनीति हुनुपर्छ ।’

स्थानीय निकाय चुनावमा अन्नपूर्ण गाउँपालिकामात्र कांग्रेसले विजय हासिल गर्न सकेको थियो । क्षेत्रीय सभापतिको रुपमा अन्नपूर्ण गाउँपालिका जिताउन शर्माले चौतर्फी भूमिका खेलेका थिए । शर्माले २०५४ सालमा ‘गृहमन्त्री वामदेव आतंक’ का बीच तत्कालिन सल्यान गाविसको अध्यक्ष जितेका थिए । पानीको अत्यन्तै समस्या रहेको सल्यान गाविसमामा शर्माले आफ्नै अगुवाईमा पञ्चासे क्षेत्रबाट पानी ल्याएर गाउँको प्यास मेटेका थिए । जसकारण शर्मा तत्कालिन राजा विरेन्द्रबाट गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित पनि भएका थिए । सल्यानमा शैक्षिक सुधार, बाटो, बिजुलीबत्ती पुर्याउन उनको योगदान छ ।

शर्मा पहिले रेडियो नेपालको कार्यक्रम घटना र विचार चलाउँदा उनी पश्चिमाञ्चल प्रतिनिधि थिए भने कांग्रेस नेता पुरुषोत्तम दाहाल प्रस्तोता थिए । ‘पत्रकारिता नछोडेको भए ऊ त्यसैबाट माथि पुग्थ्यो । राजनीति गरेर पनि माथि नै पुगेको छ। तर यसरी २० औं वर्ष जिल्लामा अड्किनु पर्ने थिएन । घटना र विचारको प्रस्तोता भन्ने छुट्टै थियो त्यतिबेला । उसको आवाज सुनेर काठमाडौँको महाधिवेशनमा मान्छेहरु पछि लाग्थे,’ शर्मा निकट एक कांग्रेस नेताले भने ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.