काठमाडौँ।
प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल भइरहेको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।
छलफलमा भाग लिँदै सांसदहरुले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन ढिला गर्न नहुने, शान्ति सम्झौतामा हस्ताक्षर भएको १६ वर्षपछि संसद्को कार्यकाल सकिने बेलामा यो विधेयक संसदमा टुङ्ग्याउन ल्याइएको हो वा देखाउन भन्ने प्रश्न गर्दै यस्तो संवेदनशील विषयमा गम्भीर हुनुपर्ने बताए।
उनीहरूले शान्ति प्रक्रियालाई अवमूल्यन गर्न नमिल्ने भन्दै पीडितहरूसँग छलफल र परामर्श गरी उनीहरूका सरोकारका विषयमा बेवास्ता नगरी प्रक्रिया अगाडी बढाउनुपर्नेमा जोड दिए।
यस्तै सांसदहरुले पटक पटकका सशस्त्र आन्दोलन र जनआन्दोलनबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिमा सहिद परिवार, बेपत्ता पारिएका परिवारको अभिभावकत्व सरकारले ग्रहण गर्न सकेको छ की छैन भन्नेतर्फ ध्यानाकर्षण गराए।
बैठकमा सांसदहरु प्रदीप ज्ञवाली, यशोदा गुरुङ सुवेदी, कृष्णभक्त पोखरेल, दिव्य मणीराज भण्डारी, गोकुल बाँस्कोटा, प्रेम सुवाल, रेखा शर्मा, डा. डिला संग्रौला पन्त, विजय सुब्बा, अमृता थापा, घनश्याम खतिवडा लगायतले आफ्नो धारणा राखे।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु भयो ।
सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको ब्यहोरा जानकारी गराए।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९ पेश गरे।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.