हेटौँडा ।
बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल छन् ।
नेपाली काँग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन्। यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैँजूले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइछन् ।
सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २ः०० बजेसम्मका लागि तोकिएको थियो । बागमती प्रदेशसभाको भोलि शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभामा एक सय १० जना सांसद छन्।
प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समय सीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने सचिवालय सचिव एवं निर्वाचन अधिकृत खड्काले जानकारी दिए।
रासस
© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.