www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न : प्रधानमनत्री

काठमाडौँ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हित र प्रक्रियाअनुसार नै अगाडि बढेको र त्यसमा दायाँबायाँ नहुने बताएका छन्। संविधान र नियमानुसार नै सरकार अगाडि बढेको र आफू सोहीअनुसार नै क्रियाशील रहेको उनले स्पष्ट पारे।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा उनले राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने उल्लेख गरे।

प्रधानमन्त्री दाहालले जटिल र अप्ठ्यारो परिस्थितिमा राज्यबाट उत्पीडित वर्ग, समुदाय र तप्कालाई अधिकार सम्पन्न बनाउन योगदान गरेका राजनीतिक दल र नयाँ राजनीतिक दलको योगदान र पुराना अनुभव तथा नयाँको काम गर्ने तरिकाबीच तालमेल गरेर जान जरुरी रहेको बताए।

Batas

आफूहरु एउटा राजनीतिक प्रणालीबाट अर्को प्रणालीमा आएको, राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट सङ्घीयतामा आएको तथ्य पेस गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक शान्ति सम्झौता, संविधान, गणतन्त्रका साथसाथै लोकतन्त्रमा नयाँ खालको अभ्यास गरिएको स्पष्ट पारे।

राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर आफूहरु एक ठाउँमा उभिएको उल्लेख गर्दै उनले विचार मिल्ने दलहरुबीच मतैक्य गर्न सकिए विकास र निर्माणको अपेक्षा राखेका जनतालाई केही न केही राहत दिन सकिने लक्ष्यका साथ तत्कालीन नेकपा (एमाले)सँग सहकार्यको हात अगाडि बढाएको बताए।

विकास र समृद्धिका लागि आफूले तत्कालीन एमालेसँग एकता तथा सहकार्यको प्रस्ताव राखेको भए पनि त्यसलाई जोगाउन नसकिएको र तीन वर्ष पनि टिकाउन नसकेको प्रधानमन्त्रीले स्मरण गरे।

जनता र कार्यकर्ताले आफूहरुबीचको सहकार्य र एकतालाई अनुमोदन गरेको भए पनि हामी नेताहरुकै कारण जोगाउन नसकेको उनले बताए। “हामी नेताहरुले नै जनता र कार्यकर्ताको भावनालाई सम्मान गर्न सकेनौँ । झन्डै दुई तिहाइ बराबरको जनमत टिकाउन सकेनौँ । यसको समीक्षा कसरी र कसले गर्ने हो ?”, प्रधानमन्त्रीले भने, “एकले अर्कोलाई दोषारोपण गरेर, तर्क कुतर्क गरेर सुख पाइँदैन । केन्द्र र प्रदेश सरकार किन गयो रु यसको समीक्षा गर्नुपर्छ कि पर्दैन ?”

देशमा विकासको नयाँ ल्याउने उद्देश्यका साथ आफूहरु एक ठाउँमा उभिएको भए पनि आफ्नै पार्टी र सरकारले संविधानमाथि नै घात हुने गरी गतिविधि गरिएपछि विग्रह पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशिता र समानुपातिक प्रणाली तथा शान्ति सम्झौताका लागि नेपाली कांग्रेससँग सहकार्य गरेको स्पष्ट पारे।

आफू एमालेसँग खोज्दै प्रधानमन्त्री बन्न नगएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मैले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको थिएँ । तपाइँले मलाई एक पटक बनाए। मलाई प्रधानमन्त्रीभन्दा पनि लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया महत्वपूर्ण लाग्छ ।”

प्रधानमन्त्रीले एमालेसँग एजेन्डा नै नमिलेका कारण गठबन्धन परिवर्तन गर्नुपरेको बताए। उनले भने, “नमिलेको एजेन्डा नै हो । नमिलेको विचार र राजनीतिक मुद्दा नै हो ।” सदनमा बहुमत रहँदासम्म पटकपटक विश्वासको मत लिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले पूर्णता पाउने बित्तिकै नयाँ गतिका साथ सरकार अगाडि बढ्ने बताए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.