www.tandavnews.com
Fact ~ In search of truth

बाल श्रमिकको बाध्यता

– दुर्गा रानामगर

एक कार्यक्रममा भेटिएकी २० वर्षीया युवती आफूलाई नागरिकता दिलाई दिनका लागि हार गुहार गरिरहेकी थिइन् । आमाबा नभएपछि उनले सानैमा घर छाडिन् । त्यही बाध्यताले उनी सानैदेखि घरेलु श्रमिकको रुपमा पोखरामा बस्न थालिन् ।

बेसहारा भएकी उनलाई त्यस घरले सहारा त दिएको थियो तर त्यसबापत उनले बिहानदेखि बेलुकीसम्म घरको सबै काम गर्नुपथ्र्यो । सबेरै उठेर घर सफा गर्नु, बिहान बेलुकी खाना पकाउनु, भाँडा माझ्नु, कपडा धुनु, घरधनीलाई तेल लगाइदिनु उनको दिनचर्या हुन्थ्यो ।

Batas

कलम समाउन सक्ने उनका ससाना हातहरुले त्यतिबेला कुचो सम्हाल्न सक्दैनथे । उनी विद्यालय शिक्षाबाट वञ्चित थिइन् । उनी त्यही घरमा हुर्किइन् । उनको लागि परिवार भनेको नै त्यही घर थियो ।

एकदिन उनले नागरिकता बनाइदिनका लागि आग्रह गरिन्, घरधनीले उनलाई घरबाट निस्केर जान भने । तब उनी छाँगाबाट खसे जस्तै भइन् । किनकि उनले आफू पनि त्यही घरकी छोरी हुँ भन्ने सोच्ने गर्दथिन् । घर छाडेर गएपनि जाने उनको कुनै ठेगान थिएन । उनले त्यसपश्चात घरमा नागरिकताको कुरा गरिनन् ।

उनीजस्तै अन्य धेरै घरेलु श्रमिकहरुले यस्तै किसिमको समस्याबाट गुज्रनु परेको छ । बाल श्रमिक त्यसमा पनि घरेलु बाल श्रमिकहरुको अवस्था दयनीय छ । सहारा दिने नाममा बिहानदेखि बेलुकीसम्म घरको सबै काम उनीहरुलाई गर्न लगाइन्छ । अझ विशेष गरि सम्पन्न परिवारले बाल श्रमिक राख्ने गरेको पाइन्छ । त्यसलाई उनीहरुले श्रमिकको नाम दिँदैनन्, आफन्त अथवा सहयोग गरेको भन्ने गर्दछन् । कसैले घरको काम सकेर विद्यालयसम्म भने पठाउने गर्दछन् ।

बालबालिका सम्बन्धी ऐन २०७५ ले १४ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदार वा कमलरीको रुपमा राख्नु हँुदैन भनेको छ । यस्तै नेपालको बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ ले पनि १४ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउनु हुँदैन र यदि लगाएमा तिन महिनासम्मको कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने भनेर लेखेकोे छ ।

अहिले १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन पाइँदैन भन्ने चेतना समाजमा पुगेको छ । विशेषगरी होटल रेस्टुरेन्ट क्षेत्रमा पनि बाल श्रमिकहरु भेटिन्छन् । तर उनीहरुको उमेर सोध्ने हो भने उनीहरुले आफ्नोे उमेर बढाएर भन्ने गरेका छन् । सायद रोजगारदाताहरुले त्यसो भन्न लगाए कि ? काम गर्ने बाध्यता उनीहरुको पनि हुन्छ र त्यही बाध्यतालाई आफ्नो स्वार्थ बनाएर बिना पारिश्रामिक, बिना कुनै सुरक्षा लगातार काममा खटाउने गरिन्छ ।

बालश्रम ऐनले १४ वर्ष उमेर पूरा गरेकाहरुका लागि काम गर्न लगाउन सक्ने व्यवस्था गरेको छ । तर, त्यसका केही प्रावधानहरु छन् । जस्तो बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्मको अवधिमा काममा नलगाउने, काममा लगाउदा दिनको ६ घण्टा र हप्तामा ३६ घण्टा भन्दा बढी नलगाउने, उचित पारिश्रमिक दिनुपर्ने, स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने, जोखिमपूर्ण काममा नलगाउने, उसको इच्छाविरुद्ध काममा नलगाउने आदि व्यवस्थाहरु हाम्रा कानुनमा छन् ।

राष्ट्रिय जनगणना २०६८ ले नेपालमा १ लाख ४ हजार ७ सय १४ बालबालिका त्यसमा ५६ हजार २ सय ६७ बालक र ४८ हजार ४ सय ४७ बालिका काममा संलग्न रहेका तथ्याङ्क प्रस्तुत गरेको थियो । यस्तै नेपाल बहुसूचक सर्वेक्षण २०१४ ले ५ देखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका श्रममा रहेको बताएको छ ।

बालबालिकालाई काममा लगाउँदा पारिश्रमिक पनि धेरै दिनु नपर्ने र काममा जति खटाएपनि हुने भएका कारण रोजगार दाताको रोजाइमा बालबालिका पर्ने गर्दछन् । नेपाल सरकारले सन् २०२० सम्ममा सबै प्रकारको बालश्रम उन्मूलन गर्ने लक्ष्य लिएको छ । पोखरामा बालबालिकाको क्षेत्रमा काम गर्ने थुप्रै संघसंस्थाहरु रहेका छन् । पोखरा बालमैत्री सहर बन्ने अभियानमै छ ।

पोखराको १८ वटा वडामा ३ सय ६८ बालश्रमिकहरु रहेको तथ्याङ्क पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनीकरण कार्यक्रमले प्रस्तुत गरेको छ । त्यसमध्येमा केबल २ प्रतिशत मात्र कास्कीको र अन्य केही बाहिरी जिल्ला र केही छिमेकी राष्ट्र भारतबाट रहेका छन् । बढी मात्रामा वर्कसप तथा ग्यारेज, कारखाना, होटल रेस्टुरेन्ट र घरायसी काममा बालश्रमिकहरु रहेका छन् । त्यसमा पनि वर्षौदेखि पारिश्रमिक नै नपाइकन र पाएपनि न्यूनतम पाएर काम गर्नेहरु थुप्रै रहेका छन् । कतिको भने बालबालिकाको हातमा नपर्दै परिवार तथा विचौलियाले लैजाने गरेको अवस्था पनि छ ।

गरिबी र अशिक्षाकै कारणले बालबालिकाहरु काम गर्न बाध्य हुन्छन् । बालश्रम मुक्त शहर बनाउन सरोकारवाला सबै निकायसँग कार्यान्वयनको स्पष्ट, प्रभावकारी योजना छैन । बालश्रम न्यूनीकरणका लागि बालश्रम मुक्त वडा, बालश्रम मुक्त होटल बनाउने जस्ता राम्रो प्रयासहरु पनि भएका थिए । तर अहिले बालश्रम मुक्त बनाउने अभियान भने केही सेलाएको छ । कुनै ठाउँको होटल, वर्कसप, कारखाना आदि बालश्रम मुक्त गर्ने बित्तिकै अरुले पनि त्यसको सिको गर्दै जान्छन् । यसका लागि बालश्रम मुक्त बनाउन छलफल तथा हौसला दिनु जरुरी छ ।

सामाजिक प्रतिष्ठाको विषयसँग बालश्रमलाई जोड्दा बालश्रम मुक्त बनाउन सहयोग हुने गरेको छ । १४ वर्ष पुगेकालाई काममा राख्न त पाइन्छ तर रोजगारदाताले उनीहरुलाई उचित पारिश्रमिक सहित सामाजिक सुरक्षाको प्रत्याभूति गराउनु जरुरी छ ।

email : [email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.