www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण

चितवन (रासस)

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् ।

सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ ।

Batas

नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीका अनुसार सडक यात्राका क्रममा सुरक्षित यात्रा गर्न र सडक सुरक्षाका लागि आयोजनाले विभिन्न संरचना निर्माण गरिरहेको छ ।

उनका अनुसार दुर्घटना नहोस् भन्नका लागि कालोपत्र सडकमा दायाँ र बायाँ पहेलो रंग र बीचमा सेतो रंगले एज मार्किङ गरिँदैछ । जसबाट सवारी चालकले आफ्नो लाइनमा सवारी चलाउने र दुर्घटना कम हुने विश्वास गरिएको छ ।

सडकखण्डको हरेक मोड र व्यस्त क्षेत्रमा ट्राफिक साइनबोर्ड राखिनेछ । बाटोको अवस्था झल्काउने र सडकमा सुरक्षित यात्राका लागि दिने संकेत सहितको ट्राफिक साइनबोर्ड रहनेछन् ।

जसका कारण बाटोमा यात्रा गरिरहँदा सडकको अवस्थाका विषयमा जानकारी प्राप्त गर्न सकिनेछ । सडकखण्डमा पर्ने पुलमा संकेत दिनका लागि रम्बल स्टिप राखिनेछ ।

नारयाणगढदेखि मुग्लिनसम्म १८ वटा पुल रहेका छन् । सवारी चलाएर सडकमा यात्रा गरिरहँदा पुलको मुखैमा राखिएको रम्वल स्टिपमा सवारी गुड्दा पुल आएको संकेत मिल्नेछ ।

सो सडकखण्डमा सडक सहज बनेसँगै पछिल्ला तीन महिनामा दुर्घटनाको संख्या बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार फागुनमा ६, चैतमा आठ र वैशाखमा नौ वटा दुर्घटना भएका छन् ।

जसबाट तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते भएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.