www.tandavnews.com
Fact ~ In search of truth

जनकपुर : सौभाग्य मिथिलाञ्चल

ताण्डव न्यूज
सुरज हजारे दाहाल  ।

धार्मिक नगरी जनकपुर, जानकी अर्थात सीताको जन्मस्थल हो । पोखराबाट ३ सय ८४ किमी दूरीमा अवस्थित यो सहर प्रसिद्ध धार्मिक स्थल जनकपुरधामको नामले पनि चर्चित छ ।

सुरज हजारे दाहाल
Batas

 मधेश आन्दोलनको बेला पहाडीहरु धपाइएको जनकपुर अहिले भने घुम्न सुरक्षित छ । धनुषा जिल्लाको सदरमुकाम र प्रदेश २ को पनि राजधानी हो जनकपुर । ऐतिहासिक मिथिलाको राज्यको पनि राजधानी रहेको जनकपुरलाई जलेश्वर, मिथिलेश्वर तथ कुपेश्वर जस्ता सहरले सुरक्षित गरेको जनविश्वास छ । यस्तै ५२ मन्दिर र ७२ कुण्डको सहरको रुपमा पनि परिचित छ जनकपुर ।

ऐतिहासिकताः हिन्दू धर्मावलम्बीको पवित्र मन्दिर जानकी मन्दिर पनि जनकपुरमै रहेको छ । जानकी मन्दिरको निर्माण भने मुस्लिम शैलीमा गरिएको थियो । वास्तुकला र धार्मिक सहिष्णुताको दृष्टिकोणले जानकी मन्दिर नेपालकै उत्कृष्ट मन्दिर हो । प्राय मन्दिर प्यागोडा शैलीमा निर्माण गर्ने गरिए पनि जानकी भने मुगल शैलीमा बनाइएको थियो ।

हिन्दू धर्मको पवित्र ग्रन्थ रामायणकी एक प्रमुख पात्र सीता अर्थात जानकीको नामबाट राखिएको जनकपुर मन्दिरको चर्चा भारतीय हिन्दू धर्मावलम्बीविच पनि रहेको छ ।

मुगल शैलीमा निर्मित यस मन्दिरको निर्माण भारतीय राजकुमारी वृषभानु कुमारीले ९ लाख चाँदीका सिक्का खर्चेर गरेकी हुनाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । निसन्तान रहेकी वृषभानुले पुत्रलाभ गरेपछि भाकल स्वरुप मन्दिर निर्माण गरेकी थिइन् । यस मन्दिर निर्माण गर्न १७ वर्ष लागेको थियो ।

विसं १९५१ मा मन्दिरको निर्माण सुरु गरि १९६८ मा निर्माण सम्पन्न गरिएको थियो । मन्दिर निर्माण सम्पन्न भएको जम्मा १०६ वर्ष भए पनि यस भित्र रहेको राम र जानकीको प्रतिमा भने ७०० वर्ष पुरानो रहेको संस्कृतविदहरुले बताउँदै आएका छन् । राजा मणिक सेनले १८४१ सालमा १४०० बिघा जमिन जानकी मन्दिर निर्माणार्थ दान गरेका थिए । क्षेत्रफलको आधारमा जानकी मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर हो । ४९ हजार ५ सय ५५ वर्ग फिट क्षेत्रफलमा फैलिएको मन्दिरको उचाई ५० मिटर रहेको छ ।

जनकपुर घुम्न जाँदा मिथिला कला हेरिएन भने जनकपुर भ्रमण नै अपुरो हुन्छ । जनकपुरको कुवा गाउँमा अवस्थित नारी विकास केन्द्रमा मैथिली कला झल्कने सरसमान किन्न पाइन्छ ।

प्राय हिन्दू मन्दिरमा प्रयोग नगरिने हरियो रङले समेत जानकी मन्दिरलाई किनारमा पोतिएको छ । मुस्लिमहरुको पवित्र रङ समेत रहेको हरियो रङ प्रयोग हुनुमा मन्दिर इस्लाम धर्म मान्ने कालीगढहरुले बनाएका थिए । रामजानकी मन्दिर परिसरमा राममन्दिर, जानकी मन्दिर, विवाह मण्डप, धनुष सागर र गंगासागर पोखरीहरु छन् । जानकी मन्दिरमा सम्पूर्ण पुजा मिथिला परम्परा अनुसार गरिदैँ आएको छ ।

विशेष गरि रामको जन्म दिनको अवसरमा मनाइने रामनवमीमा नेपाली र भारतीय दर्शनार्थीको ठूलो घुँइचो लाग्छ । मंसिरको रामजानकी विवाह उत्सवमा त झन् भारतबाट डोलीमा पूजा सामाग्री लिएर भक्तजनहरु जन्तीका रुपमा जानकी मन्दिर आउँछन् । यस्तै बैशाखको जानकी नवमी, दशैँको कोजाग्रत पूर्णिमा, भदौ महिनामा मनाइने झुला महोत्सवमा पनि श्रद्धालुहरुको भिड लाग्ने गर्छ ।

पुजा अर्चना 

जानकी मन्दिमा हरेक दिन बिहान ७ बजे र बेलुकी ८ बजे आरती गरिन्छ । यस्तै मध्यान्ह १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खोलिदैन । गर्भगृहको पछाडी संस्कृति संग्रहालय छ । संग्रहालयले सीता जन्मिएदेखि उनको विवाह भएसम्मको समयको झल्को दिन्छ । गर्भगृहको भुँइतलामा ऐतिहासिक गहना र भेषभूषा रहेका छन् ।

घुम्ने अन्य स्थल

रामले धनुष तोडेको रंणभूमि मैदान, राम र जानकीको विवाह भएको मणि मण्डप, धनुषको टुक्रा खसेको धनुषाधाम, आसपासका तलाउ र जलेश्वर मन्दिरलगायत समेट्न समेटेर एक दिनको प्याकेजमा धार्मिक भ्रमण गर्न सकिन्छ । जनकपुर घुम्न जाँदा मिथिला कला हेरिएन भने जनकपुर भ्रमण नै अपुरो हुन्छ । जनकपुरको कुवा गाउँमा अवस्थित नारी विकास केन्द्रमा मैथिली कला झल्कने सरसमान किन्न पाइन्छ ।

परम्परागत मैथिल सिपलाई विसं २०४६ सालदेखि जनकपुर महिला परियोजनाले भित्ते मिथिला चित्रकलालाई कागज, कपडा र सेरामिक्सको भाँडामा उतार्दै आएको छ । मिथिल कला झल्कने टिसर्ट तथा परम्परागत झोल किन्न पाइन्छ । यस्तै हाल बन्द रहेको नेपालको एक मात्र रेलवे जनकपुर–जयनगर रेलको पुरानो डिब्बाहरु अवलोकन गरि तस्विर खिच्न सकिन्छ ।

प्रचार र सरसफाई

प्रदेश २ को राजधानी तथा धार्मिक नगरी भएर पनि प्रचार र सरसफाईको अभावले जानकी मन्दिर ओझेलमा परेको छ । भारतीय बाहेका अन्य विदेशी पर्यटकको घुम्ने सूचीमा जनकपुर परेको पाइँदैन ।

एक त जनकपुरमा पर्यटका लागि स्तरीय होटलको कमी छ भने खानेकुरा पनि उनीहरुले चाहे जस्तो पाउँदैनन् । अर्कोतर्फ सरसफाइको कमिले गर्दा कसैले पनि बसाई लम्बाउन चाहदैनन् । हालै आएर जनकपुरलाई सफा बनाउने अभियान गंगा सागर र स्वर्गद्वारबाट थालनी गरिएको छ । यस्तै मैथिली संस्कृतिको प्रचार नहुँदा धार्मिक पर्यटकलाई प्याकेजमा आकर्षित गरिएको पाँइदैन ।

खर्च र बसाई

पोखराबाट बिहान ५ः३० बजे र दिउँसो २ बजे गरि दिनको २ वटा बस पृथ्वीचोकबाट छुट्छन् । दिउँसो २ बजेको बस भोलिपल्ट बिहान ५ बजे जनकपुर पुगिन्छ । जनकपुर दुई दिन बसेको तथा खान र बास सहित पाँच हजार रुपैयाँले सबै यात्रा खर्च समेट्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.