www.tandavnews.com
Fact ~ In search of truth

आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन भदौ २ देखि

काठमाडौं ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ ।

आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त)मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ ।

Batas

यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् ।एसिया प्रसान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा) लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुको सहभागिता रहने महानिर्देशक पोखरेलले जानकारी दिए ।

आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो । यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो ।

महानिर्देशक पोखरेलका अनुसार सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ । आगामी अक्टोबर महिनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिनेछ ।

महासभा हरेक तीन वर्षमा हुन्छ । महानिर्देशकको सम्मेलनमा विभिन्न मुलुकले कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुनेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.