www.tandavnews.com
Fact ~ In search of truth

हमिदको भ्रमणले पोखरा पर्यटनको विश्वव्यापी चर्चा

पोखरा ।

नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको छ । नेपाली सेनाको विशेष हेलिकप्टरबाट यहाँ आएका उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसहित प्रदेशका कार्यवाहक मुख्यमन्त्री, सभामुख, मन्त्रिगण, प्रमुख प्रतिपक्षी दलका नेता एवं उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपतिको स्वागतार्थ विमानस्थलको अतिविशिष्ट कक्षबाट उनी सवार हेलिकप्टरसम्म नै रातो कार्पेट बिच्छ्याइएको थियो । हेलिकप्टरबाट झर्नासाथ क्रमशः नेपाली परम्परागत पोशाकमा सजिएका पञ्चकन्या, प्रदेश प्रमुख, कावा मुख्यमन्त्रीलगायत उच्चपदस्थ अधिकारीले गरेको स्वागतमा राष्ट्रपति हमिद प्रफुल्लित देखिन्थे । विमानस्थलमा उनको स्वागतार्थ पञ्चैबाजा पनि बजाइएको थियो ।

विमानस्थलको अतिविशिष्ट कक्षमा केही समय रहेका राष्ट्रपति हमिद सवारी साधनबाट मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पोखराको प्रमुख पर्यटकीय केन्द्र मानिएको फेवाताल पुगेका थिए ।उक्त मार्गमा सहभागी टोल विकास संस्था, आमा समूह, नागरिक समाजलगायत संस्थाका प्रतिनिधिले उनको भव्य स्वागत गरेका थिए ।

यस्ता अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको पर्यटन व्यवसायी एवं टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले बताए।

‘राष्ट्रपति हमिदको भ्रमणले पुनः एक पटक पोखराको पर्यटनले विश्वव्यापीरुपमा चर्चा पाएको छ’, उनले भने, ‘अतिविशिष्ट व्यक्तिको भ्रमणले पोखराको पर्यटन प्रर्वद्धननमा निकै टेवा पुग्नेछ ।’ पोखराको प्राकृतिक सुन्दरता र यहाँबाट देखिने रमणीय हिमाली दृश्यले जो कोहीलाई पनि लोभ्याउने गरेको बताउँदै उनले मौसमका कारण आज भने आशातित हिमाल खुल्न नसकेको बताए ।

फेवाताल किनारमा पुगेका राष्ट्रपति हमिदले धर्मपत्नीका साथ झण्डै आधा घण्टा जलविहार गरेका थिए । जलविहारका क्रममा उनले ठाउँठाउँमा सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

जलविहारपछि राष्ट्रपति हमिद फेवाताल किनारास्थित फिष्टेल लजमा दिवा भोज गर्नाका साथै केही समय आराम गरी दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गरे । रुपाकोटको दृश्यावलोकनपछि उहाँ सीधै काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.