www.tandavnews.com
Fact ~ In search of truth

कथा: स्वप्निल संसार

निशान थापामगर

उही पुरानो दिनचर्याजस्तै म कामबाट छुटेर घर जाने व्यग्र प्रतिक्षामा थिए । घडीमा हेर्छु भर्खर चार बज्नै आँटेको छ । तैपनी, माछापुच्छे«को टुप्पोमा बादलका घुम्टोहरु घना भएर बेरीएका छन् । पोखरामा पानी पर्नु कुनै आइतबार कुर्नु त पर्दैन तर आज पानी नपरेको झण्डै एक हप्ता हुन लागिसक्यो ।

जाडो सिजन भएकाले घरमा गएर कालो कफीसँगै शनिबार जम्मा गरेको पत्रिकाको थुप्रो छिचोल्ने योजनाले मलाई छिट्टै घरजाउँ भन्ने लालसा पलाएको थियो । ‘उफ, यो माइक्रोबस किन आँउदैन’ म एक्लै गुनासो गर्दै थिए । केहि बेरको बोरिङ प्रतिक्षापछी गाडी आई पनि हाल्यो ।

Batas

आज माईक्रो बस खाली छ । सँधै झुण्डिएर, कोचिएर यात्रा गर्नुपर्ने गाडीमा आज अचम्मलाग्दो तरीकाले खाली पाउँदा एकपटक त सोँचाई पनि आयो, ‘हैन सबै मानीसले दुईपाङ्ग्रे किनेछन् की के हो ? म मात्रै एक्लो ज्यान माईक्रोमा धक्का खाँदै हिड्दैछु ।’ दिनभरको कामको थकाईले होला सायद सिटमा बस्न पाउँदा केही राहत महशुस भएको छ ।

ओहो ! आँखा खोल्छु त देख्छु कस्तो रोमाञ्चक ठाउँ । हैन यो कुन ठाउँ पर्यो ? पोखरामा यस्तो ठाउँ छ र जुन मलाई नै थाहा छैन ? के अचम्म भएको यस्तो, फेवाताल भन्दापनि ठुलो ताल छ, आहा कति शान्त, यि तालमा सेता हाँसहरु कति शान्त भई खेलेका मानौ यी त लय मिलाएर हिड्दै पो छन् त । कतै तालमा फुलेका कमल फुलहरुलाई धक्का लाग्छ जस्तो गरेर यि कहाँ जाँदैछन् । म तालको वल्लो किनारमा खडा छु । खै पल्लो किनार देखिदैन त ? कतै म समुन्द्रमा त आईपुगिन ।

अँह त्यस्तो त हुनै सक्दैन, समुन्द्र ? समुन्द्र त नेपालमा छैन । तालैतालको शहरमा बसेको म पक्कैपनि यो ताल हुनुपर्छ । म महशुस गर्दैछु, यहाँ त कुनै आवाज छैन तर कतै पृष्ठभुमीमा मधुर संगित बजेजस्तो लाग्छ । यो कुन संगित हो ? कुन बाजा हो ? कुन धुन हो ? अहँ पत्तो लाग्नै सक्दैन । म जता पनि जान्छु आवाज उस्तै छ । न सानो न ठुलो एकनासको एउटै आवाज, कताबाट बज्दैछ, कताबाट ? यि तालको छेऊमा फुलेका कुन फुल हुन जो यति सुन्दर छन् । मखमली ? गुलाब ? सयपत्री ? अँह कुनैपनि हैन कुनैपनि । तर कति सुन्दर । यिनीहरुको नाम छ कि छैन ? यिनीहरु बाट यो कस्तो सुगन्ध आईरहेको छ ? जो म महशुस गर्न सक्छु तर ठम्याउन सक्दिन ।

हैन, म कुन लोकमा छु ? स्वर्ग, नर्क अथवा यही पृथ्वीको कुनै ठाउँ जहाँ कोही बस्दैनन् । जहाँ काँडाले घोच्दैन, आगोले पोल्दैन । जहाँ प्रेम र शान्ति मात्रै छ, जहाँ पिडा, व्यथा, दर्द छैन् । के त्यस्तो ठाउँ छ यो संसारमा ? म आफैसँग अनुत्तरित प्रश्न सोध्दैछु ।

म यसो वरिपरि हेर्छु । यहाँ त सबै छ । तर के हुन् ? म आफै पत्तो पाउन सक्दिन । यी डाँडाहरुमा कुन विरुवा हुन जो यस्तो राम्रो मिलेर बसेको छ । यो झरना कहाँबाट सुरु भएर कहाँ खस्दैछ ? म अचम्मित छु, अचम्म ! म यी सबै प्रश्नहरुको उत्तर खोज्दै सोध्न चाहन्छु म कहाँ छु ? यो कुन ठाउँ हो ? तर कसलाई ? यहाँ त कोही पनि छैन ।

अहो, त्यो पारि गेटबाट को आउँदै छ ? म हेर्छु एकटक त्यो निलो रङ्गमा अंग्रेजी फिल्म सिन्ड्रेलाको जस्तो आँखै चम्काउने सुन्दरता बोकेर को आउँदैछ । उसको खुट्टामा चप्पल पनि छैन । नङहरुमा गुलाबी रंग छर्किएर ओठमा अर्धमुस्कान लिएर सुनौलो कपालमा त्यहि नाम नभएको फुल उनेर ऊ आउँदै छे मै तिर ।

‘कति ढिला गरेको ?’ लौ मलाई चिनेजसरी गरि बोल्छे त । म एकछिन त अलमल्ल भएँ । ‘मँ’ मैले जवाफ दिएँ ।

‘तिमी को हौ ?’

‘तिम्रो ठट्टा गर्ने बानी अझै उस्तै छ ?’

म अचम्मै हुँदैछु ।

‘मैले भनेकी थिएँ नि तिमी म बाट भाग्न सक्दैनौ ।’

हैन यस्ले के भन्दैछे । म अझै कुरा बुझ्न सकिरहेको छैन । यो केटीप्रती मेरो आकर्षण अचम्म लाग्दो गरि पहिलो भेटमै बढ्यो । यस्तो लाग्दैछ, म यसलाई चिन्छु, कतै भेटेको छु । तर कता ? यस्को कुरा सुन्दा लाग्छ म यसलाई धोका दिएर फरार भएको अभियुक्त हुँ । तर म त अझैसम्म आफुलाई सिङ्गल नै ठान्छु । कि यो पहिलो जुनीको घटना त हैन ?

‘ओई, कता हरायौ ?’ उ मलाई झस्काएर भनी । ‘हिँड हामी केहि समय त्यो ठाउँमा गएर बसौँ जहाँ हामी पहिले बस्ने गथ्र्यौ ।’ उसले मेरो हात समाएर लगी । यो ठाउँ, रुखको छहारी मुनी यो काठको हो अथवा सुनको कर्सी हो जहाँ बसेपछि खुट्टा तालमा डुबुल्की मार्छौ । आहा ! कस्तो सून्दर ठाउँ ।

उसले मेरो हातमा आफ्नो हात राख्दै भनी, ‘तिमी सम्झन्छौ त्यो साँझ तिमीले भनेका थियौ यो त्यस्तो ठाउँ हो जहाँ पीडा छैन, दर्द छैन बिल्कुल त्यो संसारबाट टाढा जहाँ मानिसहरुको भिडमा हराईन्छ, जहाँ मानिसबाट नै डर लाग्छ, मानिस मानिसबाट नै भाग्न खोज्दै छ । हामीले चाहेजस्तै छ यो संसार बिल्कुल हामी हाम्रो मालिक भएर बस्न सक्ने । कसैबाट भाग्न नसक्ने हाम्रो संसार ।’

खै कति समय हामी यसरी नै बस्यौँ । उसले मलाई विगतदेखी नै प्रेम गर्ने कुरा दर्शाइ । म भने उसलाई बल्ल प्रेम गर्न थालेको छु । उ सबै पुराना कुरा सम्झाउन चाहन्छे, म बुझ्दिन ती कुरा ऊ मलाई नयाँनौलो लाग्दैछे । म उसलाई देखेपछि बिना कुनै सोचविचार प्रेम गर्नै थालेको छु । आहा ! यो संसार जहाँ संसारिक कुरा केहि छैन त्यहि पनि सुन्दर छ । सबै कुराले भरिएको जस्तो, सबै कुराहरुले पुर्ण ।

एक्कासी झ्याप्प गाडी रोकियो । लौ म त निद्रामा पो रैछु । होईन यो अगाडी के को भिडहरु ? मानिसहरु हुल जम्मा भएर हल्ला गर्दैछन् । कोही एम्बुलेन्सलाई फोन गर्ने कुरा गर्दैछन, प्रहरी भाग्दै आउँदैछन् । म पनि तल झरेर हेर्छु । मानिसहरु भिडमा भन्दैछन, ‘कलेजबाट स्कुटीमा आउँदै गरेकी केटीलाई माईक्रोबसले ठक्कर दिएछ । युवतीलाई ठुलो चोट नलागेपनि मृत्यु भएछ ।’ म नजिकै जान्छु । युवतीको लाशलाई प्रहरीले एम्बुलेन्समा हाल्छन् ।

ओहो ! त्यो केटि जसलाई म भर्खरै स्वप्निल संसारमा भेटेको थिए, प्रेम गरेको थिए ।

त्यो ‘परी’ त्यो सुन्दरी जसलाई यथार्थको संसारमा म मृत देख्दैछु ।

मेरो आँखाबाट अनायासै पानी बगिरह्यो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.