www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन प्रवद्र्धन गर्न प्याकेज कार्यक्रम

रामकृष्ण लामिछाने
पर्वत,२६ माघ

जिल्लामा प्रशस्तै पर्यटकीय क्षेत्र रहेर पनि प्रर्याप्त पर्यटकहरु पर्वतमा खासै आउँदैनन् । पर्यटकीय नगरी पोखराबाट नजिक र मुस्ताङको प्रवेशद्धार भएर पनि पर्वतको पर्यटन जति विकसित हुनुपर्ने हो त्यति भएको देखिँदैन । यहाँ नेपालकै अग्ला पुलहरु बनेपछि भने केही पर्यटकको आवागमन बढेको पाईन्छ ।

स्थानीय तहको कार्यान्वयन पश्चात अव पर्यटनको क्षेत्रमा स्थानीय तहले योजना बनाउनुपर्ने र पर्यटनलाई प्याकेजका कार्यक्रम ल्याएर विकास गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । ‘यहाँ अग्ला पुलहरु हेर्ने र पर्यटकहरु उतिखेरै फर्किने बाहेक जिल्लालाई केही फाईदा भएको छैन,’ पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष एवम पर्वत पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष शिवशर्मा पौडेलले भने, ‘पुल हेर्न आउनेलाई हामीले पञ्चासे लैजाने, महाशिलाको भ्रमण गराउने, क्यानोनिङ गराउने जस्ता प्याकेज बनाएर पर्यटकहरुलाई रमाउने वातावरण बनाउनुपर्छ ।’ पञ्चासेमा आउने पर्यटक कुश्मा नआईकन त्यतैबाट फर्किन्छन कुश्मामा आउँदैनन् । पुल हेर्न आउनेहरु पञ्चासेमा पुग्दैनन् । पुल हेर्न कुश्मा आउनेलाई होमस्टेमा बस्न चित्रेमा लैजाने र पञ्चासे र चित्रेमा आउने पर्यटकहरुलाई पुल हेर्न आउने बनाउन सकियो भने तीन दिन देखि सात दिनसम्म पर्यटकलाई भुलाउन सकिन्छ । उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहेका पौडेलले भने,‘ पर्यटकहरुले अहिले आउने र जाने बाहेक केहि ईन्भेष्ट नगरी फर्किरहेका छन् ,आउँछन् सेल्फि खिच्छन जान्छन् । पर्यटनलाई व्यवसायिक बनाउने हो भने पर्यटकीय गन्तव्यलाई विविधिकरण गर्नुपर्ने पौडेलले वताए ।

Batas

पर्वत जिल्ला सदरमुकाम कुश्मामा नेपालकै लामा र अग्ला तीन वटा झोलुङ्गेपुलहरु रहेका छन् । गुप्तेश्वर गुफा र अल्पेश्वर गुफा पनि सदरमुकाममै रहेका छन् । त्यस्तै डहरेदेउराली, पञ्चासे, कालञ्जार पहाड, हम्पालको लेक, चिसापानी लेक जस्ता अग्ला पहाडा टाकुरा पनि यस आसपास रहेका छन् । जिल्लाको महाशिलामा विश्वको ठुलो ढुङ्गा, बिहादी गाउँपालिकाको सेतीबेनीमा शालिग्राम शिला रहेको छ । यि प्राकृतिक र मानव निर्मित पर्यटक लोभ्याउने क्षेत्रहरु पर्वत जिल्लामा रहेका छन् । यसका अतिरिक्त कालीगण्डकी नदीमा ¥याफ्टिङ, दुर्लुङको महाभीरमा क्यानोनिङ खेल, कुश्मा बलेवा यान्त्रिक पुलमा पनि पर्यटकहरुको आकर्षण रहेको छ । यहाँका केहि युवाहरुले लगानी गरेर कालीगण्डकी नदीमाथी वञ्जिजम्प बनाईँदे छ । बञ्जिजम्प बनाउने कार्य ७० प्रतिशत सकिएको छ ।

यी सबै क्षेत्रहरुमा पुग्ने सडक सहज छैन । सडक सहज बनाउने र सडकयात्रामा नपुग्ने ठाउँलाई पदमार्गको खोजी गरि पदमार्गको विकास गर्न सक्ने हो भने पर्यटक लोभ्याउन सकिने उद्योगी होमनारायण श्रेष्ठले बताए । उनको विचारमा पनि पर्वतका पर्यटकिय स्थलको प्रचार प्रर्याप्त रुपमा हुन सकेको छैन् । ‘अब स्थानीय तह कार्यान्वयनमा आएका छन्,’ श्रेष्ठले भने, ‘स्थानीय तहले पर्यटन सम्बन्धि गुरुयोजना बनाएर जिल्लाको आर्थिक समृद्धिमा पर्यटकिय क्षेत्रलाई उपयोग गर्न सक्नुपर्छ ।’

सदरमुकाम पर्वतका अग्ला फुलहरुको अवलोकन, यान्त्रीक पुलबाट पुरानो एयरर्पोटको अवलोकन, धार्मीक गुफाहरुको अवलोकन, कालिगण्डकी नदीमा ¥याफटिङ, पर्वतको बञ्जीजम्पमा जम्पीङ गर्ने, प्याराग्यालाइडिङ गर्ने, पञ्चासेको पैदल यात्रा, अग्ला पहाडहरुमा क्यानोनिङ खेल, साईकीलीङ, सेती–बेनी शिला र महाशिलाको अवलोकन, डहरेको लेक अवलोकन, हम्पाल लेक, यहाँका होमस्टेको बसाई जस्ता पर्यटकीय स्थलहरुलाई प्याकेजको रुपमा संचालन गर्न जरुरी रहेको यहाँका सरोकारवालाहरुले बताउने गरेका छन् ।


चित्रे होमस्टे विकास केन्द्रकी अध्यक्ष शुशीलादेवी गुरुङ पनि पर्यटन प्याकेज संचालन गर्न आवश्यक रहेको बताउँछिन् । उनले चित्रेमा होमस्टे व्यवसाय गर्दै आएकी छिन् । चित्रेमा गुरुङको नेतृत्वमा हरेक घरमा होमस्टे अभियान चलेको छ । ‘चित्रेमा आउने पर्यटकहरु एक दुई मात्रै बसेर पोखरा फर्किने गरेका छन,’ उनले भनिन्, ‘चित्रेमा आउनेहरुलाई अर्को फरक ठाउँमा पुराउने कार्यक्रम ल्याउनु जरुरी रहेको छ ।’
उनका अनुसार हरेक ग्रामीण सडकहरुको स्तरोउन्नती गर्नुपर्छ । पर्यटकहरुलाई होमस्टेले दिनुपर्ने सेवा प्रभावकारी बनाउनुपर्छ । पर्वतमा संचालनमा रहेका हरेक होमस्टे सम्म पुग्न यातायातको आवश्यकता छ । ‘पर्यटन प्याकेज संचालन गर्न हामी पनि तयार छौं,’ गुरुङले भनिन् ।
हालसालै मात्र पर्वतको दुर्लङमा परिक्षण शुरु गरेको ‘क्यानोनिङको लागि पनि पर्यटन प्याकेज आवश्यक रहेको क्यानोनिङ सञ्चालक समितिका सदस्य मदन गुरुङले बताए । ‘यो निकै अनौठो खेल हो, जहाँ रक क्लाईम्बिङ गर्दै खेल खेल्न सकिन्छ ।’ क्यानोनिङमा पर्यटकहरु आउने क्रम शुरु भैसकेको छ ।
पर्वतमा केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालदेखि सञ्चालनमा आएपछि पुल हेर्नका लागि दैनिक सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् । पर्वत उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको सो पुलमा शुल्क तिरेर मात्रै आवतजावत गर्न सकिन्छ । सदरमुकाम वरिपरिका पर्यटकिय स्थलको प्रचार व्यापक रुपमा भएपनि अन्य ठाउँका क्षेत्र अझै पनि ओझेलमा रहेको पत्रकार रोशन तिवारीले बताए । ’प्रचार प्रसारमा सञ्चारमाध्यम मात्रै लागेर हुँदैन,’ उनले भने, ‘अब स्थानीय तह, जिसस, पर्यटन व्यवसायी सबै जना कस्सिनुपर्छ ।’ पर्यटन संगै यहाँको व्यापार व्यवासय र लघु उद्यमको पनि विकास हुने तिवारी बताउँछन् ।
नेपालकै पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ । पोखरा–वाग्लुङ राजमार्ग र यहाँबाट हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने सडक स्तरउन्नतीको काम भैरहेको छ । यता कालीगण्डकी करिडोर सञ्चालन भैसकेको छ । अब लुम्बिनीका पर्यटक मुस्ताङ र मुस्ताङ आउने पर्यटकहरु लुम्बिनीको भ्रमणमा जाने छन् । पर्वत मध्य क्षेत्रमा रहेको छ । त्यसैले यहाँ पनि पर्यटकहरु आउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने सर्वसाधारणहरुले बताउने गरेका छन् ।
पर्वतमा दुईवटा नगरपालिका र पाँचवटा गाँउपालिकाका प्रतिनिधिहरुले लुकेर रहेका पर्यटकीय स्थलहरुलाई खोज तथा अनुसन्धान गरि सार्वजनिक गर्न जरुरी रहेको छ । पर्वतको आर्थिक समृद्धिको आधार पर्यटनलाई बनाउनुपर्ने सरोकारवालाले बताएका छन् । ‘अब अग्ला पुलले मात्रै जिल्लाको पर्यटन चल्दैन,’ पर्वत पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले भने, ‘ सरोकारवालाहरु चुप लागेर बस्ने हो भने जिल्ला विकासमा कहिल्यै अगाडी बढ्दैन ।’
–समाधान राष्ट्रिय दैनिकमा माघ २७ मा प्रकाशित समाचार

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.