www.tandavnews.com
Fact ~ In search of truth

‘मेरो जातले गरेका गल्ती’

सुमित्रा भट्टराई

केही दिन अघि नेपालगञ्जका एक दम्पत्तिले छोरीसँग लडेर अर्ब बराबरको सम्पत्ति दान शीर्षकको खबर पढेकी थिएँ ।

त्यो खबर पढेर ट्विटर चलाउँदै थिएँ । एकजना मलाई विशिष्ट लाग्ने व्यक्तिको ट्विट देखेँ । उहाँले त्यही खबरलाई रिट्विट गर्दै यस्तो लेख्नुभएको ‘छोरी नहुँदा जीवनको एउटा महत्वपूर्ण सम्पत्तिबाट बिमुख भएछु जस्तो लागेको थियो । यो समाचार पढेपछि त्यस्तो लाग्न छाड्यो ।’ उहाँले कुन सुरमा लेख्नुभयो तर त्यही पंक्तिले धेरै प्रशंसकको मन कुँडीयो ।

Batas

उहाँले एक जनालाई ईगिंत गर्दै लेखेको कुराले सयौँको चित्त दुख्यो । एउटा व्यक्तिको गल्तीमा जन्मिदैँ नजन्मिएकी छोरीको के दोष ? यहाँ कयौँ छोराहरू पनि छन् जसले बुबाआमाको स्याहार गर्दैनन्, पुख्र्यौली सम्पत्ती नासेर हिँड्छन् ।

आजसम्म कसैले सो ईंगित गर्दै नजन्मिएका र नजन्माईएका छोरालाई गाली गरि लेखिएका सामाग्री पढ्नुु परेको छैन र नपरोस् पनि । वयक्तिले गरेको गल्तीमा वर्गलाई कसरी दोषी मान्न सकिन्छ ?

धार्मिक ग्रन्थमा पति दृष्टिविहीन हुँदा पतिको अप्ठ्यारो महसुस गर्न आँखामा पट्टी बाँध्ने गान्धारीको भन्दा समयजालमा परी पाँच दाजुभाईसँग विवाह गर्ने द्रौपदीको बढी चर्चा हुन्छ । अहिले पनि जीवनका उतारचढावमा दुई भन्दा बढी विवाह गर्ने महिलाले द्रौपदीको उपमा पाउँछिन् ।

किनभने एक पुरुषले गरेको गल्ती हामीलाई ‘युज्ड टु’ हुन्छ । एक महिलाले गरेको गल्तीले वर्गलाई दोषी बनाउँछ । केही वर्ष अघि एकजना महिलाले आफ्ना पतिको हत्या गरी सेफ्टीट्यांकमा फ्याँकेको खबरले खुबै चर्चा पायो । चोक–चोकका चियागफमा त्यही विषयमा हुन थाल्यो ।

सोही खबरको प्रभावले होला छिमेकी काकाले काकीलाई तिमीहरूको ‘जातै त्यस्तै’ भन्दै थर्काउन भ्याएछन् । शसंकित भएछन् । अझै कहिलेकसो न्यूयोर्ककी महिलाले गरेको गल्तीमा नारायणगढकी नारीले भनाई खान्छिन् । तर पोखराकी नारीले गरेको असल कामको बाग्लुङकी नारीले जस पाउँदिनन् । हाम्रातिर एउटा उखान पनि थियो ‘बुढाले छोराछोरी बिग्रिए तैँले गर्दा, सप्रिए मैले ।’ अचेल भन्छन् कि भन्दैनन् कुन्नी ?

आजै बिहान मार्च ८ को शुभकामना पाउँदै गर्दा यस्तै–यस्तै गल्तीहरू मेरो मनमा अल्झिरहेका थिए । सम्झिरहेकी थिएँ । ति समयले श्रृजना गरेका केही व्यक्ति विशेषका गल्तीहरू जसले सदियौँ सम्म एउटा वर्गलाई नैै पछ्याईरह्यो । वर्षौँ अघिदेखि नै हाम्रा रुद्रघण्टी हराए, पँधेरामा बात मार्दा हाम्रा धोती खुस्किए, पतिहरूले मनपेट खोल्दा पेल्ने भयौँ ।

हामीले शब्द मनमा राख्दा कपटी भयौँ, मन खोल्दा रुद्रघण्टीको दोष भयो । पढेलेखेकै भएपनि हामी माथि भएका शाब्दिक हिंसाको प्रतिकार गर्न अझै सोच्नुपर्ने अवस्था छ । धन्न त्यो हिंसा सुनिदिने जमात् पनि छ । पोख्ने ठाउँ पनि छ । नत्र मनमनै गुम्सिएर मनैभित्र विष्फोट हुन्थे होलान् ।

जेहोस् यस दिनले यि धेरै कुरा फेरी सम्झिने वातावरण बनाइदियो । केही दिन अघिदेखि नै मुलुकभर अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा बहस, अन्र्तक्रिया, सम्मान लगायतका कार्यक्रम गर्दै यसवर्ष १०८ औँ अन्र्तराष्ट्रिय महिला दिवस अथवा मार्च ८ मनाउने तयारीमा छौँ हामी ।

विश्वका विभिन्न देशहरूमा महिला प्रति सम्मान व्यक्त गर्दै यस दिनलाई महिलाको आर्थिक, सामाजिक तथा राजनैतिक क्षेत्रमा प्राप्त भएका उपलब्धीलाई सम्झना गरिन्छ । चाहे त्यो विकासशिल मुलुक होस् या विकसित हरेक देशमा महिला सशक्तिकरणको चर्चा र सम्झना गर्दै मार्च ८ मनाउने गरिन्छ ।

यस दिवसमा हरेक वर्ष आवश्यकता अनुसार मर्म राख्ने नारा समेत बनाउने गरिन्छ । त्यस वर्ष आवश्यक विषय हेर्दै बनाइएका नारालाई दिवसका अवसरमा आयोजना गरिएका कार्यक्रममा हामी ति नारा प्रस्तुत गर्ने गर्दछौँ । अन्र्तराष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा यसवर्ष ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ः ग्रामिण तथा सहरी महिलाको जिवनस्तर रूपान्तरण’ रहेको छ । यस्तै अन्तर्राष्ट्रिय नारा Time is now : Rural and urban activists transforming women’s lives भन्ने रहेको छ ।

नेपालमा विसं २०३७ सालबाट यस दिवस मनाउन सुरू भएको मानिन्छ । तत्कालिन समयमा मजदुर आन्दोलनमा महिला सहभागिता समेत बढेको थियो । द्धारिकादेवी ठकुरानी, साहना प्रधान, मंगलादेवि जस्ता शिर्ष नेतृहरूले यस दिवसलाई जोखिम मोल्दै उर्जा थपे । अहिले हामी निर्धक्कताका साथ सरकारी निकायकै सहभागितामा सरकारसँगै सहकार्य गर्दै मार्च ८ मनाउँछौँ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक अनुसार पीडितहरूको तथ्यांक हेर्ने हो भने सन् २०१७ मा ३ हजार ५ सय ६० जना महिला पीडित भए ।

जसमा बेचबिखनको प्रयास सम्बन्धी घटनामा ७३, बोक्सीको आरोप सम्बन्धी घटनामा ३३, बलात्कारका घटनामा २ सय ६५, बलात्कार प्रयास सम्बन्धी घटनामा १ सय २२, बहुविवाह सम्बन्धी घटनामा २ सय ४८, महिला बेचबिखन सम्बन्धी घटनामा ४०, प्रसुति सेवा सम्बन्धी दुई, घरेलु हिँसा सम्बन्धी घटनामा २ हजार सात सय ३३ र यौन दुब्र्यवहार सम्बन्धी घटनामा ४४ जना पीडित भए । यो संख्या झण्डै साढे छ सयले बढी हो ।

पेशागत रूपमा १२ सय ८७ जना कृषक, ३९ जना उद्योग ब्यवसायी, २ हजार तीन सय चारजना गृहणी, एक अधिकारकर्मी, चारजना पत्रकार, नौ कर्मचारी, सात प्रहरी, १ सय २५ मजदुर, ६९ राजनीतिक कार्यकर्ता, दुई सामाजिक कार्यकर्ता, ६ सय ४७ विद्यार्थी र ४१ नबालक महिला तथा बालबालिका राज्य र गैरराज्य दुवै पक्षबाट पीडित भए ।

हिंसाको शिकार हुनेमा अधिकांश गृहणी भएको तथ्यांकले देखाउँछ । जसकारण उनीहरू हिंसा पीडित भए । घरभित्र गरिएको कामको सम्मान नगरिएको यसले प्रष्ट उदाहरण दिन्छ । प्रदेश नम्बर ४ को तथ्यांक हेर्ने हो भने ६ सय ५९ जना पीडित भएको इन्सेक पोखरा कार्यालयले अभिलेख ग¥यो ।

यस वर्ष गैरराज्य पक्षबाट भएका घटनामा देशभर सात सय दुई पुरूष पीडित भएको इन्सेकले अभिलेख गरेको छ । यो तथ्यांकले वर्ग वा पेशालाई आधार मान्दा को कति असुरक्षित भनेर देखाउँछ ।

हामी असुरक्षित भएरै यसवर्ष पनि बलात्कार विरूद्ध ‘रोष क्याम्पिङ’ गर्दैछौँ । पछिल्ला केही दिन यता बलात्कारका घटनामा पीडित हुने महिला तथा बालिकाको संख्या बढ्दो छ । ‘स्ट्याण्ड फर पूजा….जस्टिस फर…’ मनाउनुपर्ने बाध्यता छ ।

अदालतले गरेको मानाचामलका फैसलाहरूमा आफ्नो भाग परेका पाखाबारी भोगचलन गर्न पाउँदैनौँ । अथवा भोगचलन गर्न पाएका सम्पत्ति पनि केही खोला किनारमा पर्छन् केही बिजुलीका तारमुनी । यो यथार्थ हो । यसो भन्दा सबैले न्याय नपाएको भन्ने चाहीँ हुँदै होईन तर अधिकांशले यस्तै– यस्तै न्याय पाउँछन् ।

बिहे गरेर एक महिनाकी दुलही छोडेर विदेशिएका पतिका पत्नीले दोस्रो बिहे गर्दा अथवा सम्पत्ति आफ्नो नाममा राखेर फरार हुँदा कयौँ नवदुलही त्राही त्राही हुनुपर्छ । मैले गरेका जस तथा अपजसको भागीदार म बनुँ । सात समुन्द्र पारीका खबरले मेरो दैनिकीलाई प्रभाव नपारोस् ।

महिला दिवसमा महिला स्वन्त्रता, सशक्तिकरण र पहुँचलाई आधार बनाउँदै हर्ष खुसी साट्न पाउँ । कतै गीतमा भनिएझैँ आधा आकाश बन्न पाउँ । मेरो स्थान कोटामा र चोटामै नअल्झियोस् । मेरो जीवनका निर्णयमा मेरो सहभागिता होस् । मेरो कदमले मेरो ‘जातलाई दोषी नबनाओस्’ ।

सबैलाई मार्च ८ को शुभकामना ।

 

(प्रलेख अधिकृत : इन्सेक पोखरा कार्यालय)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.