www.tandavnews.com
Fact ~ In search of truth

प्रेमको प्रतीक रानी महल

सुरज हजारे दाहाल

पाल्पा जिल्लाको रानी घाटमा अवस्थित रानी महल प्रेमको प्रतीकको एक सुन्दर वास्तुकला हो । रानी महलको निर्माण जनरल खड्ग शमशेरले वि.सं. १९५४ मा आफ्नी रानी तेजकुमारीको सम्झनामा गरेका थिए ।

पश्चिमी युयानी शैलीमा निर्मित यस महललाई बेलायती इन्जिनियरले डिजाइन गरेका थिए । २००७ सालमा राणा शासनको पतनपछि भने रानी महलको संरक्षण नगरिँदा यो जीर्ण भएको थियो ।

Batas

२०५४ सालमा जिर्णोद्वार सुरु गरि यही वर्ष पुनः निर्माण सम्पन्न भएको हो । पुरातत्व विभागले २० वर्ष लगाएर पुनःनिर्माण सम्पन्न गरेपछि आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ । यस महल सदरमुकाम तानसेनबाट १६ किमी दूरीमा अवस्थित छ ।

रङ्गरोगन र मर्मत सम्भारपछि अहिले रानी महल निकै सुन्दर देखिएको छ । महलमा उज्यालो निलो र सेतो रङ पोतिएको छ भने छानो रातो रङको छ । प्रेमको प्रतीक मानिएको रानी महल हेर्न बढी मात्रामा आन्तरिक पर्यटक र केही विदेशी जाने गर्छन् ।

खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको हुँदा विशेष गरि यहाँ युवायुवतीको भिड लाग्ने गर्छ । शनिबार तथा अन्य सार्वजनिक बिदाको दिन र भ्यालेन्टाइन दिवसको बेला यहाँ अनगिन्ती प्रेमिल जोडी आउँने गर्छन् ।

कोही महल हेरेर सोही दिन फर्किन्छन् त कोही एक रात महल नजिकैको रिसोर्ट तथा होटलमा बास बस्छन् । पहिले कच्ची बाटो रहेको तानसेनदेखि रानीमहल सडक खण्डमा अब ग्राभेलिङ गरि आगामी वर्षभित्र पिच गर्ने लक्ष्य सडक डिभिजन कार्यालयले राखेको छ ।

विशेषताः कालीगण्डकी नदीको विशाल चट्टानमा निर्मित रानी महलको नक्सा १२० वर्ष अगाडि नै बेलायती डिजाइनरले कोरेका थिए । एक शताब्दी अगाडि नै नेपालमा पश्चिमा शैलीको वास्तुकला भित्रिएको प्रमाण रानी महल हो ।

महलको उचाइ ११२ फिट तथा चौडाइ ५६ फिट रहेको छ । छेउमै विशाल नदी भएर पनि नदीको बाढीले यतिका वर्षसम्म महललाई कुनै क्षति गरेको छैन ।

महलको निर्माण गर्न सेना तथा जनताले तत्कालिन समयमा श्रमदान गरेका थिए । रानी महलमा प्रयोग गरिएको इँटामा ‘खड्ग शमशेर’ शब्दहरु कँुदिएको छ । महलको उत्तर भएर नदी बग्ने भएकोले धार्मिक रुपमा पनि यस क्षेत्रलाई पवित्र मानिन्छ । महलको ठिक पारी कालीगण्डकी माथि झलुंगे पुल रहेको छ ।

पुलबाट रानी महल हेर्दा नदी माथि नै महल टक्क अडेको जस्तो देखिन्छ । नदीको डिलबाट नै जग उठाएर महल बनाइएको हुँदा यस्तो कलात्मक दृश्य पुलबाट देख्न सम्भव भएको हो ।

महलको देब्रे भागमा फूलबारी रहेको छ भने दाहिने भागमा नदी हेर्नको लागि बनाइएको एकतले टावर छ । महलको अगाडि भने सुरक्षा गार्ड बस्ने ठाउँ रहेको छ । पानी पोखरी तथा मन्दिर पनि रानी महलको अर्को आकर्षक केन्द्र हो ।

तल्लको भागबाट महल जाँदा भने सुरुमा पानीको फोहरा देखिन्छ । महलको भुँइ तल्लामा खड्ग शमशेरले पूजा गर्ने कोठा, पहिलो तल्लामा बैठक कोठा र उपल्लो तल्लामा उनको सुत्ने कोठाहरु रहेका छन् ।

रानी महल हेर्न पाल्पा जाँदा तानसेनमा ढाकाको कपडाबाट बनाइएका कपडा तथा करुवा खरिद गर्न सकिन्छ । नेपालकै ठूलो करुवा पनि पाल्पामा हेर्न सकिन्छ । यस्तै द्वन्दको समय ध्वस्त भएर पुनर्निर्माण गरिएको लालदरबार पनि हेर्न सकिन्छ ।

प्रेमसँगै आँशुः इतिहासमा पढिएका प्राय प्रेमिल कथामा आँशु पनि रहे झँै रानी महलमा प्रेमसँगै रोदन रहेको छ । विसं १९४३ सालमा खड्ग शमशेरले वीर शमशेरको हत्या गरि श्री ३ बन्ने षड्यन्त्र असफल भएपछि उनलाई अर्घाखाँची निकाला गरिएको थियो । तर १९४५ मा वीरले उनलाई पाल्पाको कमाण्डिङ जर्नेल बनाइदिए ।

उतै विवाह गरेकी उनकी रानी तेजकुमारीको १९४९ मा सालमा कपाल कोर्ने क्रममा लडेर मृत्यु भएको थियो । आफ्नी प्राण प्रिय रानीको मृत्युले उनी स्तब्ध भएका थिए । कालीगण्डकीमा दाहसंस्कार गरेपछि सोही घाटलाई रानीघाट नामकरण गरि सोही ठाउँमा उनले रानी महल बनाएका थिए । १९५० मा निर्माण प्रारम्भ गरि १९५४ मा रानी महलको निर्माण सम्पन्न भएको थियो । साथै महल पुग्न तानसेनदेखि घोडेटो बाटो समेत खड्ग शमशेरले बनाएका थिए ।

आफैंले निर्माण गरेको महलमा ५ वर्ष पनि बस्न नपाउँदै खड्ग शमशेर भारत भाग्न बाध्य भएका थिए । विसं १९६० मा खड्ग शमशेरले श्री ३ अर्थात प्रधानमन्त्रीको पद हडपेर देश चलाउन खोजेको छनक चन्द्र शमशेरले पाएपछि उनले पाल्पामा सेना पठाएर खड्ग शमशेरलाई नियन्त्रण गर्न खोजेका थिए ।

सेना आउने छनक पाए पश्चात सबै बहुमूल्य ढुकुटी लिएर खड्ग शमशेर भारत भागेका थिए । दिवंगत रानीको सम्झनामा रानी महल निर्माण गरिएको महललाई प्रेमको प्रतीक रुपमा मानिदँै आएको छ ।

खर्च, समय र बसाई : पोखराबाट ४ घण्टाका बस यात्रामा पाल्पा पुगिन्छ । पाल्पा सदरमुकाम तानसेन बजारबाट बिहान ८ बजे एउटा जीप रानी महलका लागि छुट्छ । करिब १ घण्टामा जीप रानी महलमै पुग्छ । हिँडेर पनि गोरेटो बाटो तथा मूल सडक हुँदै करिब ३ घण्टामा रानी महल पुगिन्छ । एक रात पाल्पा सदरमुकाम तानसेन र एक रात रानी महल छेउको होटलमा बसेर यात्रा, खाना सहितको अधिकतम खर्च पाँच हजार लाग्छ ।
……

रानी महललाई केही व्यक्तिले भारतको ताज महलसँग तुलना गरि दुबैलाई प्रेमको प्रतीक भन्ने गरेका छन् । तर ताज महल निर्माण गर्ने शाह जहाँले अर्काकी श्रीमती मुम्ताजलाई विवाह गरेका थिए ।

मुम्ताजको श्रीमानको हत्या गरेर उनले जबरजस्ती मुम्ताजसँग विवाह गरेका थिए । चौधौं सन्तान जन्माउने क्रममा मुम्ताजको मृत्यु भएपछि ताज महल शाह जहाँले बनाउन लगाए तर यस्तो महल फेरि कसैले बनाउन नसकोस् भनेर कालीगढहरुको हात काटिदिए । तसर्थ रक्तपात र षड्यन्त्रको इतिहास बोकेको ताज महललाई प्रेमको प्रतीक रानी महलसँग जोडेर नेपालको ताज महल भन्नु प्रेमको अपमान हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.