www.tandavnews.com
Fact ~ In search of truth

फकाएर एबोर्सन, धम्काएर तर्काउने

पाेखरा 

अर्जुन गिरी/ताण्डव न्यूज 

स्याङ्जा निवासी २१ वर्षीया निरु र गोर्खा घर भएका २३ वर्षीय रोशन (नाम परिवर्तन) बीच दुई वर्षको प्रेम सम्बन्ध थियो । पोखरा पृथ्वीनारायण क्याम्पसमा वीएमा अध्ययन गर्ने क्रममा उनीहरुको प्रेम यात्रा सुरु भयो । एउटै क्याम्पस एउटै कक्षा कोठा, प्रेम झाङगिने नै भयो ।

रोशन सानी आमाको घर मालेपाटन बस्थें । निरु आफ्नो बहिनीसँग बगर ट्याक्सी चोक नजिकै एउटा घरको कोठा बहालमा बस्थिन् । प्रेम सम्बन्धले करिब १ वर्षको यात्रा काट्दै थियो । एक दिन रोशनले निरुलाई सहबासको प्रस्ताव राखे । निरुलाई त्यो प्रस्तावले धर्मसङ्कटमा पार्यो । ‘नमानौँ त प्रेमीको आग्रह, मानौँ त यसरी आँखा छलेर बाहिर टहलिने गरेको होइन, के हुने हो ?’ निरुको मनमा यो प्रश्नले दिनरातभर बेचैन बनायो ।

हुने हार दैव नटार भने झैं पुरुषत्वको घुर्की अगाडि उनको दृढताको ढेग म¥यो । अन्ततः मौन सहमति जनाउँदै निरु प्रेमीको समर्थनमा आइन् । ‘दायाँ–बाँया होइन नि फेरि’ भन्दै सर्त राखिन् ।

२०७३ साल जेठमा लेकसाइडको एक होटलमा बसे । निरुको मनमा डर र उत्सुकता दुवै थियो । फेवा तालको किनारमा साँझ बिताएर उनीहरु अध्यारोे भएपछि होटलमा फर्किए । लाइट निभाएर एउटै ओछ्यानमा अँगालोमा बाँधिएर उनीहरु आफ्नो दुःख सुखसँगै प्रेम सद्भाव साटे ।

त्यसपछि गफ कम हुन थाल्यो, प्रेम अनि चाहना बढ्दै गयो । समयक्रम अनुसार यौवनको रसलीलामा रमाउने इच्छा व्यक्त गर्दै रोशनले प्रस्ताव राखे । ‘बिहेपछि मात्र अहिले हुँदैन’ भन्दै निरु रिसाएर अर्को पट्टि फर्किइन् ।

‘मलाई विश्वास गर्दैनौ’ भन्दै रोशनले फकाउन निरुलाई अँगालो हाले । आफ्नो इच्छा पूरा गर्न रोशनले विश्वास दिलाउने सबै अस्त्र प्रयोग गरे । अन्ततः निरु मान्न विवश भइन् । बिहान निरुले अनुहार निन्यारो गर्दैै ‘केही त हुँदैन नि ?’ भन्दै रोशनलाई प्रश्न गरिन् । ‘कस्तो पीर मानेको केही भयो भने म छँदै छुनी’ रोशनले निरुको निधारमा चुम्मन दिँदै भने । अस्थायी साधान (कन्डम) प्रयोग गरेको हुनाले रोशन विश्वस्त थिए, केही हुँदैन भनेर ।

रोशनले त्यति भनेपनि निरुको मनमा ‘केही हुन्छ कि, कसैले थाहा पाएकी’ भन्ने एक किसिमको मनको भयले डेरा जमाएको थियो । महिनावारी हुने दिन कटेपछि झन् निरुको मन पोल्न थाल्यो । उनले रोशनलाई फोन गरिन् । रोशनले ‘केही हुँदैन’ भनेर सम्झाए । नभन्दै मितिको एक हप्ता पछि निरुको महिनावारी भयो । निकै खुसी हुँदै उनले त्यो कुरा रोशनलाई सुनाइन् । ‘मैले केही हुँदैन भनेकै त थिए नि,’ भन्दै रोशनले अँगालो हाले । त्यसपछि त झन् निरुको रोशन प्रति विश्वास बढ्दै गयो ।

लेकसाइड बसेको केही महिना पछि फेरि रोशनलेसँगै बस्ने भन्दै प्रस्ताव गरे । यसपटक भने निरुले सजिलै स्वीकार गरिन् । बिदाको दिन परेको हुनाले बहिनी घर गएको मौका पारेर रोशनलाई कोठामै बस्न बोलाइन् । पहिलो रात जस्तै त्यो रात पनि उनीहरु बीच सजिलै तनमन साटियो । यसपटक भने रोशनले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेनन् । रोशनप्रतिको बढ्दो आशक्तिले निरुले पनि उति सारो चाख दिइनन् ।

समय बित्दै थियो । त्यतिकैमा निरुको महिनावारी हुने मिति एक दुई दिन गर्दै ३ हप्ता सर्यो । दोस्रो हप्ता नै कट्दा निरुले रुदैँ रोशनलाई फोन गरिन् । तर रोशनले केही हुँदैन भन्दै टारे । त्यसपछि उनीहरु बीच भेटघाट र फोन सम्पर्क पहिलेको तुलनामा कम हुन थाल्यो । साढे २ महिना बितेपछि निरुले आफ्नो परिवारलाई भन्न नसकेपछि नजिक कि केटी साथीलाई नै सबै कुरा सुनाइन् । साथीले रोशनलाई फोन गरेर गाली गरिन् । त्यति गर्दा पनि समस्या साम्य भएन ।

केही सीप नलागेपछि निरुले रोशनकी सानी आमालाई फोन गरेर सबै कुरा बताइन् । सानी आमाले आफ्नो श्रीमान र रोशनकी आमालाई सबै कुरा सुनाइदिइन् । त्यसपछि रोशनकी आमा भोलि पल्टनै पोखरा आइन् । निरु र रोशनलाई सँगै राखेर कुरा गरिन् । रोशनको आमाले दुवै जनालाई गाली गरिन् । रोशन बेरोजगार भएको भन्दै निरुलाई एबोर्सन गर्न आग्रह गरिन् ।

गर्भ बसेको साढे ३ महिना भइसकेको थियो । निरुले एबोर्सन नगर्ने भनेपछि रोशनको आमा झन् रिसाइन् । ‘एबोर्सन नगरे नगर म रोशनलाई घर लैजान्छु, तँ जे सुकै गर्ने हो गर्’ भन्दै थर्काउँदै हिडिन् । रोशनका सानो बुबा सरकारी कर्मचारी, उनलाई यस्तो घटनाको परिणाम के हुन्छ भन्ने राम्रोसँग हेक्का थियो । रोशनकी आमालाई उनले एउटा जुक्ती दिए ।

योजना अनुसार रोशनकी आमाले निरुलाई सरसल्लाहको लागि भन्दै आफ्नो बाहिनी कहाँ खाना खाने गरि निम्तो गरिन् । रोशन आफैंले निरुलाई लिएर आए । खानापान भएपछि रोशनकी आमाले आँखा भरी आँशु लिदै ‘नानी बिहे भन्दा अघि बच्चा जन्मायो भनेर समाजले तिमीलाई कुन नजरले हेर्ला ?’ भनिन् । एबोर्सन गरेपछि रोशनसँग बिहे गरिदिने बाचा गरिन् । रोशनले पनि आमाको कुरामा थपिथपाउ लाउँदै निरुलाई मान्न विवश बनाए ।

रोशनलाई नै पाउने आशामा अन्त्य त निरुले गर्भमै बच्चाको माया मारिन् । एक अस्पतालमा गएर निरुको एबोर्सन गरिन् । त्यसको एक दुई दिन रोशन निरुलाई भेट्न कोठामै गए । तर, एक हप्ता पछि रोशन भेट्न आउन त परै जाओस् फोन नै अफ भयो । रोशनकी सानी आमालाई फोन गर्दा उल्टो थर्काइ खानु पर्यो ।

रोशनकै लागि ठूलो मूल्य चुकाएकी निरु झन् पीडामा परिन् । ‘म सोझैँ रोशनकै घरमा जान्छु’ भनेर रोशनकी सानी आमालाई फेरि फोन गरिन् । सानी आमाले उता कुरा पु¥याइन । त्यसपछि त झन् निरुलाई अपरिचित नम्बरबाट मार्ने धम्की समेत आयो । भनेको नमाने बहिनीलाई समेत मारिदिने भनेपछि निरु मौन रहन बाध्य भइन् ।

निरुको पीडा देख्न नसकेपछि बहिनीले लमजुङ दिदीलाई फोन गरिन् । तीन बहिनी मध्ये निरु माइली थिइन् । जेठी दिदीको लमजुङ बिहे भएको थियो । दिदी पोखरामै आएर निरुलाई भेटिन् । ६ महिना अघि मात्र देखेकी निरु, निरु जस्तै थिइनन् । केही न केही गडबढ छ भन्ने दिदीले देख्नेबित्तिकै थाहा पाइहालिन् । निरुले पनि सबै कुरा भन्न बाध्य भइन् । दिदी पनि बहिनीलाई न्याय दिलाउन के गर्ने भन्ने सोच्न सकिनन् । केही सिप नलागेपछि निरुको दिदीले नेपाल प्रहरीमा रहेका मामाको छोरालाई गुहारिन् ।

असई मामाका छोराले सबै कुरा सुनेपछि रोशनका सानो बुवा जो सरकारी कर्मचारी छन् उनलाई फोन गरे । असई मामाले निरुलाई केटाले नअपनाए,फकाएर एबोर्सन गर्न बाध्य पार्ने सबैलाई कानुनी दायरामा ल्याउने भनेपछि दुवै परिवार बिच छलफल चल्यो ।

निरुका मामाका छोरा पनि आए । उनीलाई सम्झाए । अन्ततः निरु पारिवारिक सहयोग पाइरहेकी भएर सामान्य रुपमा आइन् । रोशनको परिवारले क्षतिपूर्ति स्वरुप २५ लाख तिरे । घटनापछि पनि निरुले पोखरा छाडेर घरतिरै गइन् ।

निरुको घटना एक उदाहरण मात्र हो । निरु जस्तै पोखरा लेखनाथकी मीरा (नाम परिवर्तन) लाई यस्तै समस्या परेको थियो । श्रीमानले कुटेर घरबाट निकाल्दिए भनेर घटना मिडियामा पनि आयो । कुरा बुझ्दा एबोर्सन गराएर तर्काएको भन्ने खुल्यो तर गोपनीयताको अधिकारलाई ध्यानमा राखेर त्यो कुरा उल्लेख गरिएन् । दुई वर्ष अघि उनीहरुको घटनाको सार्वजनिक भएको थियो । त्यस बेला मीराले आफ्नो बिलौना वेला जिल्ला प्रसाशन कार्यालय अघि रुँदै सुनाएकी थिइन् ।

मीरा र नरे (नाम परिवर्तन) एउटै कलेज पढ्दा प्रेममा परे । प्रेम सम्बन्ध विवाहमा परिणत भयो । विवाह भएपछि मीराले अध्ययन रोकिन् तर उनकै दबाब र सहयोगमा नरे अध्ययन अघि बढाए । नरे पढ्दै गरे । केही वर्षपछि नरेले इन्जिनियरिङ पूरा गरे । समय बित्दै जाँदा उनी छोराका बुबा पनि बने । तर पनि नरे खुशी थिएनन् ।

नरेको चाहना अर्कै थियो । उनलाई मीरासँग सम्बन्ध टुटाउन थियो । सोझी केटी मीरासँग सम्बन्ध बनाउनजति सजिलो भयो, त्यति नै गाह्रो सम्बन्ध टुटाउन । पढेलेखेका नरेले एउटा जुक्ती निकाले । राम्रो पैसा कमाउने भन्दै विदेश जाने सल्लाह गरे । मीराले पनि छोराको भविष्य राम्रो हुने सोचेर नरेलाई विदेश पठाउने निधो गरिन् ।

Lama collectio News Middle

स्टुडेन्ट भिसामा जाँदा डिपेन्डेन्टमा गाह्रो हुने भन्दै नरेले मीरालाई डिभोर्स गर्नु पर्ने बताए । मीरालाई त्यो कुरा चित्त बुझेन् । तर नरेले अनेक कुरा गर्दै इमोस्नल ब्ल्याक मेल गरे । परिवारकै भविष्य राम्रो हुने भनेपछि मीरा राजी भइन् । पेपरमा मात्र डिभोर्स गर्ने भनेर मीरा राजी भएकी थिइन । तर उनलाई के थाहा पेपर म्यारिजलाई नै कानुनले मान्यता दिन्छ भनेर ।

डिभोर्स गरेपछि नरे ढुक्क भए । मीरासँग अधिकारिक रुपमै सम्बन्ध नभएपछि नरे खुल्ला हिँड्न थाले । केही महिना बित्यो तर नरे विदेश गएनन् ।

यता मीरा श्रीमतीकै रुपमा घरधन्दा समालेर बसेकी थिइन् । जुनबेला नरेलाई आफ्नो यौन प्यास मेटाउनु थियो त्यो बेला मात्र उनी मीरासँग बस्न आउथें नत्र अरु दायित्वबाट बिल्कुलै टाढा भइसकेका थिए ।

त्यसरी नै आउने जाने क्रममा मीराको पेटमा गर्भ रह्यो । मीरा पहिलो बच्चा गर्भ रहँदा जति खुशी थिइन, त्यो भन्दा बढी दोस्रो बच्चाको खबरले खुशी भइन् । तर उनको खुशी धेरै हप्ता टिकेन । जब उनले नरेलाई यो खबर सुनाए नरेले गर्भपतन गर्न दबाब दिए । मीराले मानिनन् । नरे र उनका परिवार मिलेर फकाएर मीरालाई गर्भपतन गराउन लगाए ।

गर्भपतन गरेको केही महिना बितेपछि मीरालाई घरबाटै निकाल्ने योजना बुनियो । घर परिवारको व्यवहार देखेर मीराले कुराको सुईको पाइन् । त्यति हुँदा पनि मीरा सहेरै बसिन् । उनलाई हुँदाहुँदै श्रीमानले कुटपिटनै गर्न थाले । नरेको साथ नछोडे मारिदिने समेत धम्की दिए ।

घरपरिवार हुँदै समाजलाई घटना बारे थाहा भयो । समाजका केही गन्नेमान्य व्यक्ति छलफल गर्दा नरेले श्रीमतीसँग पहिलेनै डिर्भोस भएको कागज समेत देखाए । मीरा छाँगाबाट खसे जस्तो भइन् ।

मीराले रुदैँ कागजात पत्र विदेश जानका लागि मात्र बनाएको बताइन् । कानुनी रुपमा मीरा चुकिन् तर स्थानीयले उनी अन्यायमा परेको भन्ने प्रष्ट भयो । त्यसपछि आमा समूहका र केही स्थानीय भएर मीराकै पक्षमा जिल्ला प्रहरी कार्यालय

कास्की आए । उनीहरुले महिला शेलमा आएर कुरा राखे । तर कानुनी रुपमा केटामाथि भएको हुनाले प्रहरीले पार लगाउन सकेनन् ।

त्यहाँबाट कुनै सिप नलागेपछि आमा समूहले मीरालाई लिएर जिल्ला प्रशासन कार्यालय कास्की पुगे । जिल्ला प्रशासन कार्यालयले मीराकै चाहना अनुसार निर्णय गर्यो । मीरालाई डिभोर्स स्वरुप २० लाख रुपैयाँ उपलब्ध गरायो ।

फकाएर गर्भपतन गराउनु गैह्रकानुनी

अधिवक्ता दुर्गा भण्डारी कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)

महिलाको आफ्नै इच्छाले १२ हप्तासम्मको गर्र्भ राख्न वा फाल्न पाउने व्यवस्था कानुनमा उल्लेख छ ।

अन्य व्यक्तिको करकाप तथा बल प्रयोग गरी, गर्भपतन गराएमा अपराध मानिन्छ, कानुन बमोजिम सजायको भागिदार बन्नु पर्छ । त्यस्तो अवस्थामा कसैले पनि गर्भपतन गर्ने नियतले, जानी जानी गर्भ पतन गरे वा गराएमा, कसैले गर्भवती महिलालाई करकाप गरी, धम्की दिई र ललाईफकाई प्रलोभनमा पारी गर्भपतन गराएमा पीडक (कसुरदार) लाई १ वर्षदेखि ५ वर्ष कैद र ५० हजार जरिवाना हुन्छ ।

कसैले गर्भवती महिलामाथि आक्रमण गरी महिला सामान्य रही गर्भ पतन भएमा थप पाँच वर्ष सजाय थप हुनेछ । त्यस्तै गर्भमा रहेको भु्रणको पहिचान गरी गर्भपतन गराउने र गर्नेलाई डेढ बर्ष कैद । गर्भ पतन गर्ने उद्देश्यले भ्रुणको पहिचान गर्ने गराउनेलाई छ महिना कैद सजाय हुनेछ ।

यो नियम प्रस्तावित फौजदारी कसूर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक को परिच्छेद १३ गर्भ संरक्षण विरुद्धको कसुर अन्तर्गत बुदा नं. १८६ र १८७ मा छ । यस्ता गर्भपतन सम्बन्धी सबै कसुरहरु भएको मितिले छ महिनाभित्र उजुरी दिई सक्नुपर्ने प्रावधान राखिएको छ ।

 

एभोर्सनको घटना अल्ली जटिल छ

इन्स्पेक्टर चन्द्रा गुरुङ जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख

नाता कायम गरि पाऊँ भनेर लिखित र मौखिक उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीमा आउने गर्छ । यहाँ महिनाको दुई तीन वटा नाता कायम गरि पाऊँ भनेर घटना आउँछन् । हामी कहाँ यो घटनाको मुद्दा दर्ता हुँदैन । हामीले दुवै पक्षलाई बोलाएर छलफल मात्र गराउँछौं । मिले भने ठिकै छ मिलेन भने सम्माननीय अदालत पठाउने हो ।

जहाँ सम्म एभोर्सनको घटना हो, यो अलि फरक र जटिल छ । यदी केटीको चाहना विपरीत जवरजस्ती एभोर्सन गर्न लगाइन्छ भने अपराध अन्तरगत नै पर्छ । यो विषयमा घटना हेरेर हुन्छ । तर यहाँ आउने पीडित पक्ष अर्थात् महिलाले जवरजस्ती एभोर्सन गर्न लगाएको भनेर खुलेर कुरा गरेको पाइदैन् ।

अन्य घटना जस्त एभोर्सनको घटनामा पीडित खुलेर कुरा गर्न मान्दैनन् । पीडित र उनको परिवारको इज्जत जान्छ भनेर लुकाउने गर्छन् ।

केही वर्ष अघि लेखनाथकै एउटा घटनामा पनि पीडित महिलालाई कुटपिट मात्र नभएर एभोर्सन गर्न लगाएको भन्ने पछि थाहा पाएका हौँ । अविवाहितको पक्षमा भने अधिकाशं घटना प्रहरी कहाँ आइपुग्दैन ।

दुवै पक्षका आफन्तको रोवरमा पीडितलाई न्याय हुने गरी टुङ्ग्याउँछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery