
सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।
पोखरामा सञ्चालित दोहोरी साँझमा २०५८ सालदेखि केशव देवकोटाले निरन्तर गाइरहेका छन् । पहिलो पटक दोभान दोहोरी साँझबाट गाउन सुरु गरेका देवकोटा अहिले पोखरा दौतरी दोहोरी साँझमा कार्यरत छन् ।
यती लामो समय दोहोरीमा सक्रिय देवकाटाले गाएरै मात्र बाँच्न सकिने अनुभव पनि सगाँले । भन्छन्, ‘दोहोरीमात्र भनेर त टिक्न गाह्रो नै हुन्छ । अहिले हरेक कार्यक्रममा दोहोरी कलाकार बोलाइने हुँदा सहज भएको छ । गीत गाउनको लागि प्राक्टिस र स्वरको पनि रियाज हुँदा बाहिर संगीत सिक्नु परेको छैन् ।’

यहाँ दोहोरी संख्यात्मक रुपमा बढेपनि कलाकारलाई पनि सजिलो भएको उनी बताउँछन् । ‘अहिले धेरै दोहोरी साँझ छन् । पारिश्रमिकको हिसाबमा पनि पहिला ५ हजार हुनु र अहिले १५ हजार हुनु एउटै हो,’ उनी भन्छन्, ‘दोहोरी पहिलाको भन्दा धेरै भएकोले पनि कलाकार जता राम्रो पारिश्रमिक हुन्छ त्यतै जाने अवसर पनि मिलेको छ ।’ दोहोरी साँझ नयाँ कलाकारको लागि इस्टिच्युटको रुपमा लिन सकिने उनको अनुभव छ । ‘नयाँ कलाकारले संगीत देखि गायनको प्राक्टिस गर्ने थलो भएको छ,’ उनले सुनाए ।
देवकोटाको जस्तै लामो दोहोरीको अनुभव कृष्ण सुवेदीको पनि छ । उनले दोहोरी साँझबाट कलाकारलाई स्वरको रियाज र संगीतको ज्ञान प्राप्त गर्न सकिने बताउँछन् । ‘रातको समय काम गर्दा नराम्रो दृष्टिकोणले हेर्नी वर्गहरु पनि छन् । आफू अनुशासित ढंगले काम गर्न सकियो भने गाउन चाहनेको लागि राम्रो प्लेटफर्म दोहोरी साँझ हो,’ उनले सुनाए, ‘अझै पनि दोहोरी साँझको व्यवसाय व्यवस्थित र मर्यादित भने हुन बाँकी नै छ ।’
रात्री व्यवसाय भित्र जति सहज लाग्छ, त्यसलाई वहन गर्न उत्तिकै गाह्रो हुने दोहोरी व्यवसायीहरु बताउँछन् । कुनै समय १, २ बजेसम्म पनि गीत संगीतले गुञ्जायमान रहन्थ्यो बजार । यतिबेला भने रातको १२ बजे सुनसानमय देखिन्छ । प्रशासनबाट नै समयसिमा तोकेपछि रात्रीकालिन व्यवसायीहरु १२ बजे बन्द गरी गइसक्नुपर्ने हुन्छ ।

केही वर्ष पहिले पूर्व गृहमन्त्री वामदेव गौतमले राजधानी लगायत देशका मुख्य सहरमा खोलिएका रात्रीकालिन व्यवसायमा समय सिमा बन्द गर्नुपर्ने आदेश दिएपछि यो व्यवस्था लागू भएको हो । प्रशासनबाट ११ बजे साउन्ड सिस्टम बन्द, ११ः३० मा काउन्टर विल बन्द, ११ः४५ मा दोहोरीमा आएका पाहुना गइसक्नुपर्ने र १२ बजे पूर्ण रुपमा बन्द गरिसक्नुपर्ने व्यवस्था छ ।
दोहोरी व्यवसायी संघका अध्यक्ष अर्जुन गुरुङका अनुसार पोखरा–लेखनाथमा २२ वटा दोहोरी साँझ सञ्चालनमा छन् । यी मध्ये १७ वटा संघमा दर्ता भएका छन् बाँकी प्रशासनबाटै दर्ता गरी सञ्चालनमा ल्याइएका छन् । ‘केही दोहोरी साँझहरु खुलेपनि संस्थागत रुपमा नआएका पनि छन्, ’ उनले भने । उनका अनुसार एउटा दोहोरी साँझबाट बढीमा १३ जना वाद्यवादन सहित कलाकार छन् ।
‘अहिले दोहोरी साँझमा गाउने कलाकारलाई उति सारो समस्या छैन्,’ उनले भने, ‘अहिले गाएरै बाँच्न सकिने अवस्था आएको छ । हरेक कार्यक्रममा दोहोरीको ट्रेन आएको छ ।’ पहिलेको तुलनामा बढी दोहोरी साँझ हुनु नै कलाकारको लागि फाइदाजनक रहेको उनी बताउँछन् । ‘रातीको काम हो । थोरै समयको लागि जति पारिश्रमिक पाउँछन् त्यो राम्रो हो,’ उनले सुनाए ।
गायिका ज्योति लोहनी दोहोरी साँझमा मात्र गीत गाएर टिक्न गाह्रो भएको बताउँछिन् । ‘हरेक कुराहरु महंगो छ । पारिश्रमिक कम हुन्छ, कोठाभाडा मात्र तिर्न पुग्छ,’ उनले सुनाइन्, ‘त्यसैले दोहोरी भनेको कमाउने भन्दा पनि रियाज सेन्टर जस्तो लाग्छ ।’ यसबाटै केही गर्छु कमाउँछु भनेर ठूलो सपना देख्दा गाह्रै हुने उनको बुझाई छ ।
१८ सय रुपैयाँबाट गाउन थालेका नारायण भट्टराई भने अहिले दोहोरी साँझबाट सन्तुष्ट छन् । रातको समय चार घण्टामा राम्रो पारिश्रमिक पाउने गरेको उनले सुनाए । ‘छोटो समयमा राम्रो आम्दानी हुन्छ । गीत गाउनेहरुलाई राम्रो आवसर पनि छ । दोहोरीमा गाएर बाँच्न सकिने बेला पनि आएको छ,’ उनले भने, ‘पहिला दोहोरी कम कलाकार धेरै थिए ।
अहिले कलाकारहरु पनि राजधानी तिर पलायन हुने क्रम छ । कलाकार कम हुँदै दोहोरी संख्यात्मकहरु बढ्दैछन्,’ उनले सुनाए, ‘कलाकार हानथाप भइरहन्छ । कलाकार धेरै नहुँदा पारिश्रमिक बढेको छ । साहुहरुले पनि पैसा बढाएर दिन्छु भनेर बोलाउने गर्छन् ।’
पछिल्लो समय दोहोरी साँझबीच कडा प्रतिस्पर्धा भइरहेको उनको बुझाई छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।