www.tandavnews.com
Fact ~ In search of truth

महानगरका सडकमा ढिस्को र खाल्डो, (फोटो फिचर सहित)

माधव भुसाल 

पाेखरा, ताण्डव न्यूज।

पोखराको अधिकांश सडकमा घातक ढिस्को र खाल्डो हुँदा पनि सम्बन्धित निकाय मौन छन् । ढल, खानेपानी, टेलिकमको जोइन्ट छोप्न राखिएको चेम्बरले दुर्घटना निम्त्याएको सिर्जनाचोकका कमल अधिकारी बताउँछन् ।

Batas

हल्लनचोकबाट स्कुटरमा सिर्जनाचोक आउँदै गरेका अधिकारीको त्यही ढिस्कोमा परेर दुर्घटना भएको थियो ।

स्कुटर कम गतीमा भएका कारण ठूलो क्षती हुनबाट जोगिएको अधिकारीले सुनाए । ‘चैत्र २ गते स्कुटरबाट घर आउँदै थिए, ढिस्कोमा परि डिस्व्यालेन्स भयो, अनि पल्टियो,’ उनले घटनाको बारेमा भने, ‘घुडा र हातमा सामान्य चोट लाग्यो स्कुटरको साइड मिरर फुट्यो ।’ त्यहाँ मात्र नभएर धेरै ठाउँमा यस्तो ढिस्कोले समस्या पारेको उनले गुनासो पोखे ।

नयाँबजार पोखरा टायर मर्मत केन्द्र, महेन्द्रपुलको देब्रे साइड, नागढुङगा, बगरबाट केआइसिंह पुल जाने बाटोमा, सिर्जनाचोक हुँदै हल्लनचोकसम्म पुग्दा ६ ठाउँमा, लेकसाइडको आर्ट ग्यालरी अगाडि यस्तो च्याम्बरको कारण सवारी चालकलाई निकै अप्ठ्यारो परेको छ ।

डिस्को र खाल्टोको कारणले निकै समस्या भोग्नु परेको विरौटा निवासी रेशम गुरुङ बताउँछन् । ‘मज्जैले गाडी चलाई राखेको बेला सानो ढिस्को देखिन्छ केही नहोला भनेर कुदायो ड्याङ्ग ठोकिन्छ,’ उनले भने, ‘यस्तो ढिस्को निकै घातक छ, यसको व्यवस्थापन गर्नुपर्छ ।’ ढिस्को मात्र नभएर सडकै विचमा खाल्टोले गर्दा पनि समस्या पारेको उनले सुनाए ।

तेर्सापट्टी पुग्दा झन् प्वाल सहितको ढिस्को रहेको गुरुङले बताए । ‘पालिखेचोकमै खाल्डो छ, त्यति मात्र हो र, नदिपुरबाट नारायणस्थान मन्दिर जाने चोकमै ठूलो खाल्डो छ,’ उनले भने, ‘यो महानगरपालिकाको गाडी त्यो बाटो हिड्दैनन कि हिडेर पनि देख्दैनन् ?’ पानीको पाइप बनाउने नाममा सडक बिगार्ने काम भएको उनले बताए । ‘स्थानीयले पनि जतापायो त्यतै खनेर छाड्नु गलत प्रवृती छ,’ उनले भने, ‘जसले खनेको हो राम्रोसँग पुर्ने जिम्मा पनि उसैको हुन्छ ।’

यसरी सडक भन्दा माथी उठेको भागले दुर्घटना निम्त्याउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख तथा इन्स्पेक्टर ऐनबहादुर मल्ल बताउँछन् । ‘सडक भन्दामाथी उठेको भागले दुर्घटना हुनु स्वभाविकै हो,’ उनले भने, ‘यसको लागि महानगरपालिकामा पर्ने सडक महानगरपालिकाले हेर्नु पर्यो र सडक विभाग अन्तर्गत पर्ने सडक विभागले हेर्नुपर्छ ।’

महानगरका वरिष्ठ इञ्जिनियर सारदामोहन काफ्ले यस्ता ढिस्काले सवारी सञ्चालनमा असहज हुने गरेको बताए । ‘हामीले टेलिकम र खानेपानी कार्यालयहरुलाई भनिसकेका छौं । टेलिकमका तारहरु र खानेपानीको पाइप व्यवस्थापन गरेर संस्थानले नै यसको व्यवस्थापन गर्नुपर्छ’ उनले भने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.