www.tandavnews.com
Fact ~ In search of truth

गर्भजाँच बारेमा एसएमएसबाटै जानकारी दिने

बैतडी (रासस): मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ ।

बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत गर्भवतीको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिनुभयो ।

पाटन नगरपालिका, पुरचौडी नगरपालिका, डिलासैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ भने अन्य स्थानीय तहमा पनि यो कार्यक्रम सञ्चालनको तयारी भएको छ ।

स्वयंसेविकाले आफूसँग भएको मोबाइलमा गर्भवती महिलाको नाम इन्ट्री गर्नेबित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उनीहरुको नाम इन्ट्री हुने र गर्भवती महिलालाई चार, छ, आठ र नौ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजका आधारमा महिला स्वास्थ्य स्वयंसेविकाले महिलालाई गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाइजर जोशीले बताउनुभयो ।

आफूहरुले मोबाइलमार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनीका महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले जानकारी दिनुभयो ।
मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो कार्यक्रम सञ्चालन रहेका स्थानीय तहमा कार्यक्रम प्रभावकारीरुपमा जारी रहेको छ ।

मेडिक मोबाइल स्वास्थ्य सेवा कार्यक्रम नेपालमा सन् २०१३ मा बाग्लुङमा पाइलटिङकारुपमा शुरु गरिएको थियो । सन् २०१५ मा मात्र बाग्लुङ जिल्लाभित्र पूर्णरुपमा विस्तार गरी त्यसपश्चात् गोरखा, धादिङ, इलाम हुँदै यो वर्षदेखि बैतडीमा पनि शुरु गरेको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.