www.tandavnews.com
Fact ~ In search of truth

महानगरका ‘नोटिसेवल’ वडाअध्यक्षहरु

पोखरा
ताण्डव न्यूज ।

चर्चामा आउन अरुले भन्दा पृथक काम गर्नुपर्छ कि धेरै राम्रो काम गर्नुपर्छ ।

हुन त नराम्रो काम गरेपनि चर्चामा नआउने भने होइन् । फरक यती हो कि राम्रो कामको वाहवाह र सम्मान हुन्छ, नकारात्मक कामको आलोचना र विरोध हुन्छ ।

Batas

कहिलेकाहीँ जिम्मा दिएको काम राम्रोसँग पूरा गर्न नसक्दापनि चर्चामा आएको पाइन्छ । प्रसंग हो, स्थानीय तहको नेतृत्ववालाहरुको । चुनावी मैदानबाट विजयी भएका केही जनप्रतिनिधिहरु, जो कामको सफलता÷असफलता र कर्म गर्ने तरिकाले चर्चामा आउने गरेका छन् ।

पोखरा–लेखनाथ महानगरपालिकामा ३३ वटा वडा छन् । जनप्रतिनिधि चुनिएको एक बर्ष पुग्न लाग्यो । यो अवधिमा केही वडा अध्यक्षहरु राम्रो काम गरेर चर्चामा आए । केही क्षेत्र अधिकार भन्दा बाहिर काम गरेर त केही कामनै गर्न नसकेर चर्चामा आएका छन् ।

यस विषयमा ताण्डव साप्ताहिकका अर्जुन गिरीले तयार पारेको एक रिपोर्ट ।

 

सुत्केरीको लागि पोष्टीक आहार योजना

वडा : १
अध्यक्ष : शारदा पराजुली

पोखरा महानगरका ३३ वटा वडामध्ये ३ ठूला पार्टीले ६ वटा वडामा मात्र महिलालाई वडाध्यक्षको उम्मेद्वार बनाएका थिए ।

ती मध्ये वडा १ मा महिला उम्मेद्वार शारदा पराजुलीको नाम चुनाव जित्ने महिलाको सूचिमा आएपछि झन् उनको चर्चा सुरु भयो ।

स्थानीय चुनाव भयो र परिणाम पनि जनताले सोचे जस्तै आयो । त्यसपछि त झन् पराजुलीको नामले चुली टेक्यो । हुन पनि ३३ वडामा एक मात्र महिला वडा अध्यक्ष बनिन् पराजुली ।

वडाध्यक्षले निर्वाह गर्नुपर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै पराजुलीले सुत्केरी महिलाको लागि ल्याएको आहार योजनाले उनलाई झन् प्रशंसाको पात्रको रुपमा उभ्यायो ।

उनले सुत्केरीलाई महिनाको ५ सय गरि दश महिनाको ५ हजार पौष्टिक आहारको लागि पैसा दिने व्यवस्था गरेकी हुन् ।

 

अधिकार प्रयोग गर्न नसक्नु

वडा : ५
अध्यक्ष : धनबहादुर नेपाली

अध्यक्ष धनबहादुर नेपालीले कानुन अनुसार हुने काम पनि गर्न नसकेको भनी चर्चामा आए ।

पोखरा लेखनाथ महानगरपालिका वडा–५ मा सार्वजनिक जग्गा र व्यक्तिगत जग्गा मिचेर संरचना निर्माण गर्दा पनि अध्यक्ष नेपाली मौन रहेको भन्दै उनी आलोचित भएका छन् ।

स्थानीय प्रेमबहादुर खत्रीले संधियाराको जग्गा मिचेर आफ्नो घर बनाइएको प्रमाणित भएपनि वडाध्यक्ष नेपालीले कारवाही गर्न नसकेको भन्दै गुनासो आएको थियो ।

त्यति मात्र होइन मेयर मानबहादुर जिसीले कानुन अनुसार मिचिएको पाएकाले कारवाही गर्न पत्रचार गरेपनि नेपाली मौन रहेपछि विवाद झन् बल्झिएको थियो ।

त्यसैगरी जिरोकिलोमिटर नजिकै भूपीशेरचन राजमार्गसँग जोडिएको श्री नमूना आदर्श आमा समूहले मापदण्ड विपरित भवन संरचना बनाउँदा समेत अध्यक्ष नेपालीले केही गर्न नसकेको भन्दै आलोचना थपिदैं गएको छ । पटक–पटक स्थानीयले गुनासो गर्दा समेत अध्यक्ष नेपालीले केही गर्न सकेनन् ।

त्यति मात्र होइन सडक विभागले मापदण्ड विपरित संरचना बनाएको भनि पत्रचार गर्दा पनि अध्यक्ष नेपालीले कारवाही गर्न सकेनन् ।

महिलाहरुको लागि दालमोठ उद्योग संचालन

वडा : १३
अध्यक्ष : दर्शन लामा

दर्शन लामा वडा अध्यक्षको उम्मेद्वार भएदेखि नै चर्चामा आएका हुन् । लामाका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता मानिने वृजमान श्रेष्ठ रहेकाले पनि उनी चर्चामा आउनु स्वभाविकै थियो ।

चुनाव त जिते त्यसपछि नगर सभापती वृजमानले दर्शन लामासँग व्यहोरेको चुनावी नतिजाका कारण पार्टीबाट राजिनामा दिएपछि वडाध्यक्ष लामाको चर्चा पुनः चुलियो ।

अध्यक्ष लामाको काम गर्ने तवरतरिकाले पनि उनलाई चर्चाको सूचिमा रहन सफल बनायो । महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले महालक्ष्मी दालमोठ सञ्चालनमा ल्याएपछि आमनागरिकले अध्यक्ष लामाप्रति हेरिने नजर फराकिलो बनेको छ ।

वडाकै अनुदान रकम र दिदी बहिनी समूहको संयुक्त प्रयासमा उद्योग सञ्चालनमा ल्याइएको हो । वडाको पाँच लाख रुपैयाँ अनुदान रकम र दिदी बहिनीले पाँच लाख गरि दश लाख कुल रकमको लागतमा उद्योग सञ्चालनमा आएको हो ।

त्यसैगरी यहि शैक्षिक सत्रबाट वडाले गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि छात्रवृती प्रदान गर्ने योजना समेत लामाले अघि सारेका छन् । वडामै कक्षा १ देखि ८ सम्मका २५ जना विद्यार्थीलाई छात्रवृती प्रदान गरिने भएको छ ।

केही महिना अघि लामा एक विवादमा मुछिए । आर्वाको पशु सेवा केन्द्रको कार्यक्रममा अध्यक्ष लामा र महानगर पशु सेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद बीच हात हालाहाल भएको घटना बाहिर आयो ।

त्यसपछि महानगरपालिकाको पहलमा दुवै पक्षलाई राखी छलफल गरि विवाद टुङ्गाइएको थियो ।

जनतालाई पानी खुवाउन आफ्नो जग्गा धितोमा

वडा : २१
अध्यक्ष : खगराज आचार्य

कडा अनि मिजासिलो स्वभावका खगराज आचार्यको नाम पनि निकै चर्चामा रह्यो । पोखरा–२१ (दोबिल्ला पारी) रहेको क्रसर सञ्चालन गर्न नदिएपछि अध्यक्ष आचार्यको काम प्रति चर्चा हुन सुरु भयो ।

करिब एक दशकदेखि स्थानीय र प्रशासनलाई अटेर गरेर चलाएको क्रसर खगराज अध्यक्ष हुने बित्तिकै नविकरण हुन दिएनन् । सिम्रोन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी कास्कीका उपाध्यक्ष बलबहादुर राना (महत गौडे कान्छा) को अनेकौ प्रयासलाई विफल पार्दै अध्यक्ष आचार्यले सधैँका लागि क्रसर बन्द गरिदिए ।

आचार्यले पोखरा–२१ भरतपोखरी–कृस्ती निर्मल पोखरी सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि जग्गा धितो राखी धरौटी बुझाएपछि अझैँ बढी चर्चामा आए ।

३० करोडको आयोजनाको सम्झौता गर्न जनताले १ करोड ५० लाख रुपैयाँ धरौटी राख्नुपर्ने थियो । रकम नपुगेका कारण योजना रोकिनु हुँदैन भनेर अध्यक्ष आचार्यले जग्गा धितोमा राखेर ४० लाख रुपैयाँ बुझाएका हुन् ।

पर्यटन क्षेत्रको विषयमा अध्यक्ष आचार्य दिएको धारणले झन् पछिल्लो समयमा उनी निकै चर्चामा आए । ‘पोखरा–२१ लाई पर्यटकीय क्षेत्र बनाउने र पर्यटक हातमा वियर लिएर घुम्न पाउने’ भन्ने विषय निकै चर्चामा आयो ।

आचार्यले पर्यटकले चाहे अनुसार खानपान गर्न पाउनु पर्छ भन्ने सोचले कुरा उठाएका थिए । उनको त्यो भनाई प्रति सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आएको थियो ।

नियमविपरित संरचना बन्दा मौन रहनु

वडा : २७
अध्यक्ष : पूर्णकुमार गुरुङ

पोखरा–२७ का वडा अध्यक्ष बनेको एक वर्ष पुग्न लाग्दा पनि पूर्णकुमार गुरुङले गतिलो काम गर्न सकेनन् ।

तालचोकबाट पश्चिम बगादी खोलाको डिलमा रहेको सार्वजनिक जग्गामा अनुमतिबिना विश्वकर्मा समाज तालाचोक इकाइले भवन बनाउदा रोक्न नसकेको भन्दै अध्यक्ष गुरुङ आलोचित भए ।

१ रोपनी ३ आना जग्गामा भवन बनाउँदा पनि वडाध्यक्षले रोक्न नसकेपछि स्थानीयले वडा कार्यालयमा ताला समेत लगाए । अध्यक्ष गुरुङले अनुमती बिना भवन बनाएको भनेर स्वीकार गरेपनि रोक्न नसक्दा जनता आक्रोशित भएका हुन् । अहिले भवन निर्माण कार्य रोकिएपनि विवाद भने कायम नै छ ।

क्षेत्र अधिकार भन्दा बाहिर काम गर्नु

वडा : ३३
अध्यक्ष : शिव आचार्य

अध्यक्ष शिव आचार्य वर्षमा दुई पटक चर्चामा आए । एक राम्रो काम गरेको हुनाले र अर्को क्षेत्र अधिकार भन्दा बाहिर रहेर काम गरेको हुनाले । आचार्यले क्षेत्र अधिकार भन्दा बाहिर रहेर बागमारा पुष्प बस्ती नजिकै रहेको डाँडा खन्ने अनुमती दिए ।

वडाबाट राजस्व पाउने भन्दै वडा अध्यक्ष आचार्यले नियमविपरित काम गरेपछि ठेकेदार र कामदारले दुख भोग्नुप¥यो । उनले गरेको त्यो काममा रकम खाएर चलखेल भएको हो की ? भन्ने संसय पैदा ग¥यो ।

सम्बन्धित निकायबाट प्रक्रिया पूरा नगरी काम गरेको भन्दै कास्की प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ ग¥यो । दोष वडाध्यक्षको तर दुख उनीहरुले भोग्नु परेसी आचार्य आलोचित भए ।

त्यो घटनाले ठूलो रुप लिनु अघि मेयर मानबहादुर जिसी र एसपी अशोक सिंहले कानुनी प्रक्रिया मिलाए । त्यति हुँदा पनि वडा अध्यक्ष शिवले आफ्नो गल्ती स्वीकार गर्न मानेका थिएनन् । तर मेयर जिसीले वडाध्यक्षले प्रक्रिया नबुझेर काम गरेको स्वीकार गरेका थिए ।

हुन पनि खानी वा कुनै पनि खार्ने काम गर्नु अघि वातावरण मुल्यांकन गर्नुपर्ने हुन्छ । अनि नगर कार्यपालिकाको बैठक वा प्रमुख स्तरीय निर्णय गरेर छोटो समयको लागि ठेक्कामा दिन मिल्ने प्रावधान छ ।

तर वडाअध्यक्ष आचार्यले अधिकार बाहिर रहेर काम गर्न दिएर आचोलित भए ।

आलोचित भएका शिवले एउटा भने निकै राम्रो काम गरे । उनले पोखरा–२१ (दोविल्ला पारी) रहेको क्रसर आफ्नो वडामा सार्न दिएनन् । सिम्रोन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी कास्कीका उपाध्यक्ष बलबहादुर राना (महत गौडे कान्छा) पोखरा–३३ बागमारा पुष्प बस्तीमा क्रसर सार्न खोजेका थिए तर अध्यक्ष आचार्यले दिएनन् ।

वातावरणका हिसाबले ठूलो असर पर्ने भन्दै अध्यक्षले स्वीकृत दिएनन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.