काठमाडौँ (रासस)
काठमाडाैँ महानगरपालिका, शिक्षा विभागले ‘शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय’ काठमाडौँलाई विद्यालय व्यवस्थापनसम्बन्धी अभिलेख हस्तान्तरण गर्न आग्रह गरेको छ ।
विभागका प्रमुख प्रल्हाद अर्यालले एकाइ कार्यालयलाई पत्र पठाउँदै काममा सहज बनाइदिनका लागि विद्यालयका व्यवस्थापनसम्बन्धी सबै अभिलेख हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ ।

उहाँले जिल्लाको माध्यमिकसम्मको शिक्षाको काम संविधानअनुसार स्थानीय तहमा गर्ने भएकाले अहिलेसम्म कुनै अभिलेख नआउँदा काम गर्न समस्या परेको बताउनुभयो ।
उहाँले पटक पटक तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग अनुरोध गर्दा पनि हस्तान्तरण नगरेकाले पुनः एकाइ कार्यालयमा रुपान्तरण भएको कार्यालयलाई हस्तान्तरण गर्नका लागि पत्र लेखिएको जानकारी दिनुभयो ।
“हामीलाई संविधानले माध्यमिक तहसम्मको काम गर्ने अधिकार दिएको छ”, उहाँले भन्नुभयो, “तर अभिलेख नहँुदा काममा समस्या परेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारीले हस्तान्तरण नगरेको हुनाले पुनः पत्राचार गरेका हौँ ।”
यस्तै उपसचिव अर्यालले महानगरमा भवन अभाव भएकाले एकाइ कार्यालयमा नै कार्यालय स्थापना गर्नका लागि कोठासहित आवश्यक फर्निचर उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
अभिलेख अन्यत्र लैजानुभन्दा त्यही भवनमा राख्दा सजिलो हुने भएकाले एक फ्ल्याटसहित फर्निचर एक हप्ताभित्र उपलब्ध गराउन आग्रह गरिएको अर्यालले जानकारी दिनुभयो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.