www.tandavnews.com
Fact ~ In search of truth

च्याउले चिनिएका ‘कान्छा’

पोखरा
ताण्डव न्यूज ।

बागलुङ ढोरपाटनका डोरबहादुर घर्तिमगर पोखरामा ‘च्याउ कान्छा’ उपनामले परिचित छन् ।

उनको वास्तविक नामले भन्दा च्याउ कान्छाले चिन्नेहरु प्रसस्त छन् । उनी पोखरा आएर च्याउको व्यवसाय सुरु गरेको झन्डै १४ वर्ष पुग्न लाग्यो । यो अवधिमा उनले थुप्रै संघर्ष गरे । व्यावसायिक योजना बनाए अनि बल्ल ‘च्याउ कान्छा’ को उपनाम पाए ।

Batas

जनयुद्ध हटिसकेको थिएन् । केही गरौं भन्ने मनसायले घर्तिगमर बागलुङबाट पोखरा हानिए । उनले व्यावसायको ‘च्याउ’ खेती छानेँ । एउटा कोठाबाट च्याउको बिक्री वितरण सुरु गरे । सुरुमा गाह्रो भयो ।

च्याउँको महत्व, फाइदाको बारेमा बुझाउँदै बजार विस्तार गर्न हम्मेहम्मे नै प¥यो । त्यही मिहनतले गर्दा कोठाबाट सुरु गरेको च्याउको विक्री वितरण अहिले १५ रोपनी जग्गा सम्म फैलाएका छन् ।

पोखरा–लेखनाथ महानगरपालिका–३ नदीपुरमा च्याउ खेती सँगै यससम्बन्धी परामर्श समेत दिने गर्छन् । पश्चिमाञ्चल लुम्ले च्याउ फर्म तथा परामर्श केन्द्रको नामले च्याउ खेती सुरु भएको हो । च्याउ खेती सुरु गर्दा च्याउको दायारा ठूलो थिएन् ।

‘पहिला गुरुङ, मगरले मात्र च्याउँ खान्थे,’ उनले सुरुवातीको समय सुनाए, ‘अहिले क्षेत्री, बाहुन सबै जातीले खान थालेका छन् । अहिले प्राय च्याउ बढी प्रयोगमा आउने गरेको छ ।’ पकाउन सजिलो र खान सबैले रुचाउने हुँदा बढी प्रचलनमा आएको कान्छा बताउँछन् ।

व्यावसायिक रुपमा पनि च्याउ खेती गर्नेको संख्या बढेको उनको आँकलन छ । थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने र आम्दानी पनि राम्रै हुँदा यसको लोकप्रिय बनेको उनको विश्लेषण छ ।

च्याउबाट शरीरमा भिटामिन र औषधीको रुपमा प्रयोग गरिने हुँदा यसको माग बढेको उनी बताउँछन् । कृषिमा सरकारले दिने अनुदानले गर्दा च्याउ खेतीले फड्को मार्ने क्रममा रहेको उनी बताउँछन् ।

‘दुई वर्षपहिले जिल्ला कृषि विकास कार्यालयले एक जना किसान बराबर ४० हजार रुपैयाँ अनुदान दिएको थियो । अहिले भने पाइएको छैन्,’ उनी भन्छन्, ‘अहिले गाउँपालिका, नगरपालिकाबाट बजेट पास गर्नुपर्ने भन्ने सुनिन्छ ।’

च्याउका जात

च्याउका धेरै जात भएपनि ‘कन्य, गोब्रे र सिताके’ बढी प्रयोगमा आउने गरेको पाइन्छ । यसमा पनि कन्य सबैले रुचाउने र खान सुहाउने जात हो भने गोब्रे र सिताके बढी महंगो हुने गर्छ । कन्य २ सय ४० रुपैयाँ पर्छ भने गोब्रे ४ सय र सिताके एक हजार रुपैयाँ प्याकेट पर्ने गर्छ । कन्य बाह्रै महिना बनाउन सकिने भएपनि अन्यमा समय लाग्ने कान्छा बताउँछन् ।

च्याउ कसरी बनाउने

परालको माध्यमबाट च्याउ बनाउने हुँदा कहिलेकाँही पराल बिग्रदा च्याउमा खराबी देखिने गर्छ । ‘परालमा बढी पानी भयो भने जंगली च्याउ निस्कने हो नत्र खासै डर हुँदैन्,’ उनले सुनाए, ‘च्याउ खेती सुरु गर्दा ७० रुपैयाँ भारी पराल किन्नुपथ्र्यो । अहिलेत झन्डै ५ सय रुपैयाँ भारी पर्ने गर्छ ।’ विशेषत च्याउको लागि भदौ, असोज, मंसिर सिजन रहेको उनी बताउँछन् ।

च्याउ खेती गर्नको लागि हाल अहिले ७ जना कामदार रहेको उनले सुनाए । उनले छिट्टै नै तरकारी र भैसी फर्म पनि सञ्चालन गर्ने बताए । ‘तरकारी र भैसी फर्मको लागि ठूलो क्षेत्रफलको जग्गा खोज्दैछु,’ उनले सुनाए ।

विक्रीवितरण

उनको केन्द्रमा इन्डियन र नेपाली गरी दुई थरीका बिउ बिक्री वितरण हुन्छ । इन्डियन र नेपाली बिउको मूल्यमा खासै तलमाथि नभएपनि ग्राममा घटवड हुने गरेको कान्छा बताउँछन् । ‘च्याउ किन्ने भन्दा पनि बिउको लागि बढी किन्न आउने गरेको पाइन्छ,’ उनी भन्छन्, ‘च्याउको बिउ काठमाडौं र इन्डियाबाट आउने गरेको छ । अब आफै बिउ बनाउनको योजना छ ।’

पोखराको चिप्लेढुंगाको मन्डीबाट बिक्रीवितरण गर्दै आएको उनले सुनाए । च्याउ केन्द्रमा बढी बेनी, बाग्लुङ, पर्वत, दमौली र गोर्खाबाट च्याउ र यसको बिउ किन्न आउने गरेको उनले बताए । च्याउ सिजन अनुसार बिक्री हुँदा यत्तिकै कारोबार हुने यकिन नभएको उनले बताए ।

‘च्याउ कान्छा’ नाम कसरी रहन गयो त? उनले हाँस्दै भने, ‘च्याउको मार्केट बढेसँगै व्यावसायिक रुपमा यसैमा काम हुन थालेपछि च्याउ कान्छा भन्न थाले । अहिले सबैतिर यही नामले चिन्ने गर्नुहुन्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.