www.tandavnews.com
Fact ~ In search of truth

संकटमा युवा विद्यार्थी आन्दोलन

आज जेठ १ गते । वाम युवा विद्यार्थी संघ संगठनहरुले आजको दिनलाई दिवसको रुपमा मान्दै आएका छन् ।

आफ्नो संगठनको स्थापना दिवसको अवसरमा लगभग तीन दशक देखी मनाउँदै आएको यो दिवस यस बर्ष पनि कुनै न कुनै कार्यक्रमको आयोजना मनाइदैछ, मनाउँदै छन् ।

पञ्चायतको निरंकुश व्यवस्था बिरुद्धको आन्दोलनको क्रममा स्थापना भयो र राजनैतिक आन्दोलनलाई सहयोग गर्ने क्रममा युवा विद्यार्थी आन्दोलन विकसित हुँदै आयो ।

Batas

राजनैतिक दलहरु प्रतिबन्धित हुदाँ खुल्ला संगठनकोे रुपमा विद्यार्थी संगठनहरु परिचालित भए, गराइए । दलहरुको प्रवक्ताको रुपमा विद्यार्थी संगठनहरुलाई हेरिन्थ्यो । विधार्थी नेताहरुबाट आएका कुराहरु राजनैतिक दलका आधिकारीक धारणा मानिन्थ्यो ।

पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्ने क्रममा थुप्रै नेता कार्यकर्ता उत्पादन गर्यो, युवा विद्यार्थी आन्दोलनले । सामुदायीक हक हितका बिषय उठाए पनि पञ्चायती व्यवस्थाको अन्त्य नै तत्कालिन युवा विद्यार्थी आन्दोलनको उद्धेश्य थियो । जे भएपनि आम नेपाली जनताको आर्कषण र विश्वास पनि आर्जन गर्यो ।

असंगठित रुपमै भएपनि २००७ साल देखि नेपालको राजनैतिक परिर्वतनमा युवाहरुको ऐतिहासिक, सहासिक र गौरवपूर्ण भूमिका स्थापित भएको छ । पञ्चायतका बिरुद्ध संगठित रुपमै युवा विद्यार्थीले संघर्ष गरेर नै आजको उपलब्धि हाँसील भएको कुरामा दुईमत छैन् ।

राणाको जहानिय शासन, पञ्चायती निरंकुश शासन र तत्कालिन ज्ञानेन्द्रको शाही ‘कु’ प्रतिगामि बिरुद्धको आन्दोलनमा युवाहरुको उत्साहजनक उपस्थिती, संगठित पहलकदमी, परिपक्क नेतृत्वको भूमिकालाई कुनैपनि हालतमा नजरअन्दाज गर्न सकिदैन र हुँदैन पनि ।

यिनै आन्दोलनका क्रममा युवा विद्यार्थी संगठनले स्थापित गरेको नेतृत्व संख्यात्मक रुपमा आजको नेपाली राजनीतिको केन्द्रिय भूमिकामा ठूलै छ । अतः नेतृत्व विकासका दृष्टिकोणले पनि युवा विद्यार्थी आन्दोलन उपलब्धी मूलक नै छ ।

२०४६ सालको परिर्वतनले पञ्चायतको अन्त्य भयो । राजनैतिक स्वतन्त्रता सहितको बहुदलिय व्यवस्था स्थापित भयो । विद्यार्थी संगठनहरु कति आवश्यक भन्दै औचित्य माथि प्रश्न उठेका पनि थिए । यद्यपी नयाँ नयाँ दल र तिनका भातृ संगठनका रुपमा युवा विद्यार्थी संगठन खुल्दै गए । थपिदैं गए ।

ठूला साना सबै दलका युवा विधार्थी संगठनहरु अहिले पनि कृयाशिल नै छन् हुँदै आएका छन् । व्यवस्था बदलियो, परिस्थिती बदलियो, आन्दोलका आवश्यकता बदलिए परिस्थितीले भूमिकामा परिर्वतनको माग गर्यो तर युवा विद्यार्थी संगठनले आफूलाई बदल्न सकिरहेका छैनन् ।

अझैं पनि उहिल्यै पुर्खाहरुले निर्माण गरिदिएको दवाब र जागरणको भूमिकाको माला जप्दै चलेको छ युवा विद्यार्थी आन्दोलन । २०४६को परिर्वतन पछि सामुदायिक हितलाई केन्द्रमा राख्ने नीति तय गरेपनि अन्ततःदलहरुको राजनैतिक अभिष्ट पुरा गर्ने हतियार बन्दै आयो । आफ्ना राजनैतिक दलहरुलाई सामुदायिक हितका बिषयमा बुझाउनुको सट्टा आफ्ना दलले गराएका काम मात्रै गर्ने भए ।

आफ्नो दल सत्तामा नपुगी केहि हुँदैन भन्ने भएपछि दलको पुच्छर हुनुको विकल्प रहेन । सामुदायिक हित , राष्ट्रिय आवश्यकता, आत्मनिर्भर अर्थतन्त्रका लागि दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक सुधार, सामाजिक जागरणका लागि युवा परिचालन गर्ने नीति तथा कार्यक्रम बनाउन बहस छलफल गरी प्राज्ञिक योगदान गर्नुको सट्टा दलीय दलदलमा युवा विद्यार्थी आन्दोलन फस्न पुग्यो ।

२०६२/६३ को जनक्रान्तिपछि युवा विद्यार्थी आन्दोलन अलमलको बीचबाट गुज्रिएको छ । एकातर्फ राजनैतिक क्रान्ति समाप्त भयो भन्ने ।

नयाँ संविधान जारी भएपछि अधिकार प्राप्तीको आन्दोलन सम्पन्न भयो पनि भन्ने अर्को तर्फ नीति कार्यक्रम र संगठन उही पुरानो लिने कुराले आन्दोलन बलियो हुन सक्दैन ।

अर्थात् धान काट्ने करौतीले बाँसघारी फाड्न सकिदैँन । हतियार बदल्नु पर्दछ ।

उहिले २०२२, २०४६, २०६३ मा बनाएका कार्यदिशा र संगठनात्मक संरचनाले आजका युवा विद्यार्थीलाई न त आर्कषण दिन सक्छ नत संगठित नै गर्न सक्छ । हिजोको गौरव गाथा गाएर मात्र आजको युगको नेतृत्व लिन सकिदैँन ।

युवा विद्यार्थीका क्षेत्रमा काम गर्ने संघ संगठन र नेतृत्वले आजका न्यूनतम परिवर्तीत परिस्थितीको विश्लेषण गर्दै नयाँ नीति नयाँ संगठनात्मक संरचना, जिम्मेवार र अनुसाशित नेतृत्व प्रदान गरे मात्र युवा विद्यार्थी आन्दोलन अगाडी बढ्न सक्नेछ ।

चीनको समाजवाद निर्माणमा चिनियाँ लाल सेनाले गरे जस्तै, भियतनामी समाजवाद रक्षाका लागी भियतनामी जनताले देखाएको धैर्यता जस्तै, सिंगापुर निर्माणमा त्यहाँका मजदुर र विद्यार्थीहरुले गरे जस्तै योगदान आज हाम्रो राष्ट्र निर्माणका लागी प्रगतिशिल, देशभक्त र जनवादी युवा विद्यार्थी माग गरेको छ ।

परिर्वतन गर्नुभन्दा परिवर्तनका उपलब्धिहरुको रक्षा गर्न अझ गाह्रो हुन्छ ।

हाम्रो उपलब्धिको रक्षा कवच बन्नु पर्दछ । आजका युवा विद्यार्थी निरक्षर उन्मुलनका अभियन्ता बन्नुपर्दछ, कुरिति कुसंस्कार उन्मुलनका लागी सामाजिक सुधारको नेता बन्नु पर्दछ । राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न उत्पादन गर्ने अभियानको सहयात्री बन्नुपर्दछ ।

आज युवा विद्यार्थी आन्दोलनमा थुप्रै विसंगतीहरु देखिन थालेका छन् । नेतृत्वका लागि हुने अस्वस्थ प्रतिस्पर्धा चाकडी चाप्लुसी, चन्दा असुली जस्ता निकृष्ट प्रवृतीहरु देखिन थालेका छन् ।

युवा संगठनहरु ठेक्का पट्टामा, विद्यार्थी राजनैतिक नियुक्ती, सम्बन्धन दिलाउने तर्फ, स्ववियू मार्फत आर्थिक अपचलन गर्ने ध्याउन्नमा लिप्त छन् । पद र शक्ति आर्जन गर्यो त्यसकै आडमा धन्दा चलायो ।

यति दे नत्र ठेक्का बन्द, नत्र कलेज बन्द, नेता नै संगठन, नेताको बोली नै निर्णय । न बैठक न सम्मेलन झमेला किन गर्नु । एउटा बलियो नेताको विश्वास जित्यो शक्तिमा बस्यो ।

धन्दा चलायो । एकाध कोठे अनलाइन चलायो, समाचार बनायो सामाजिक संजालमा हल्ला गर्यो नेता भयो ।

मूल्य मान्यता, नीति कार्यक्रम, सिद्धान्त, विचार अनुशासन कुन चराको नाम हो थाहा हुनु नपर्ने बस् पद चाहियो ।

अर्थात् युवा विद्यार्थी आन्दोलनमा ह्रास आएको छ । वैचारिक र सैद्धान्तिक विचलन देखिएको छ । युवा विद्यार्थी आन्दोलन प्रति आर्कषण घट्दो छ , विश्वास गुम्दो छ । युवा विद्यार्थी संघसंगठनहरुको औचित्य माथि प्रश्न उठाउन थालिएको छ ।

दलका नेताहरुका लागी कहिलेकाहीँ आफ्नै जनसंगठन टाउको दुखाइको बिषय समेत बन्ने गरेको छ । विनास अरुका कारणले होइन आफ्नै कारणले हुन्छ त्यसैले समयमै ध्यान नपु¥याउने हो वा नसच्चिने हो भने आजको यो संकटबाट युवा विद्यार्थी आन्दोलनलाई मुक्ति दिलाउन सकिदैंन, सम्भव छैन् ।

अब राष्ट्र निर्माणको कर्तव्यबोध, जनता प्रति जिम्मेवारीबोध, समुदाय प्रति दायित्वबोधले निपूर्ण स्वार्थ मुक्त राजनैतिक चेतनाले पूर्ण नेतृत्वबाट मात्रै युवा विद्यार्थी आन्दोलनको आजको चुनौति सामना गर्न सकिन्छ ।

युवा दिवस र विद्यार्थी दिवसको सम्पूर्ण सचेत युवा विद्यार्थीहरुमा शुभकामना ।

(न्यौपाने अनेरास्ववियूका पूर्व नेता तथा राष्ट्रिय युवा परिषद्का केन्द्रिय सदस्य हुन् ।)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.