www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको ऐतिहासिक घोषणा, अाजदेखि एउटै झण्डामुनी एमाले र माओवादी केन्द्र

काठमाडौँ (रासस)

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।

यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरे । विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो ।

Batas

करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक(नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाएका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भन्नुभएको‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन भन्ने धारणा राखे ।

सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को विषयलाई अगाडि बढाउन नयाँ पार्टी जिम्मेवारपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताए । नेपालका कम्युनिष्ट पार्टीले सामन्तवादको अन्त्य र लोकतान्त्रिक गणतन्त्र  स्थापना गर्न योगदान दिएको बताए । उहाँले पार्टी हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय  समितिसमेत गठन गरिएको जानकारी दिए ।

गत असोज १७ गते दुई पार्टीबीच छबुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत दुवै दल अगाडि बढेका थिए । दुई पार्टीले संयुक्त रुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टी पंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।

उनले दुई पार्टी विधिवत् एकीकरण भई निर्वाचन आयोगमा दर्ता गरिएको उल्लेख गर्दै युगीन घोषणाले राजनीतिक स्थायित्व र समृद्धिको बाटामा लैजान महत्वपूर्ण योगदान गरेको बताए।

समाजवादोन्मुख संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक, रुपान्तरणको दिशामा अगाडि बढ्न मार्गप्रशस्त गरेको नेता नेपालको भनाइ थियो । नेकपाले शान्तिपूर्ण प्रतिष्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्र संघको मूल्यमान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गर्नेछ ।

जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशित सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहने जानकारी दिँदै उहाँले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको जानकारी दिए । उनले एकताको महान् अभियानमा सहभागी हुन अरु कम्युनिष्ट पार्टीलाई पनि आह्वान गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले २० हजार ४४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गरिने उल्लेख गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.