www.tandavnews.com
Fact ~ In search of truth

आर्थिक वर्ष २०७५/७६को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौँ (रासस)

सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

Batas

चुनावी घोषणापत्रका आधारमा एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेको छ ।

संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछन् ।

संघीय संसद् सचिवालयले संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ४ बजे राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।

राष्ट्रपतिबाट हुने संघीय संसद्को सम्बोधन कार्यक्रममा सहभागी हुन आउने व्यक्तिको स्वागत तथा व्यवस्थापनका लागि कार्य विभाजन गरी कर्मचारी खटाइएको छ । उक्त विशेष कार्यक्रममा सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई निम्त्याइएको छ ।

नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको बताइएको छ ।

संयुक्त बैठक सकिएलगतै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले नीति तथा कार्यक्रम प्रस्तुत भई सम्बोधन गर्ने कार्यका लागि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.