www.tandavnews.com
Fact ~ In search of truth

‘टुरिस्ट बस’का ड्राइभरकाे मापसे माेह

अच्युत रेग्मी
काठमाडौँ (रासस)

जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे ।

जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो ।

Batas

सोही दिन राति ८ बजे काठमाडौँबाट ३५ यात्रु बोकेर भैरहवाका लागि हिँडेको ना६ख १०८० नंको यात्रुबाहक बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो ।

जेठ २२ गते साँझ ४ः३० बजे काठमाडौँबाट ४० जना यात्रु लिएर बागलुङ जान लागेको बा५ख १५५४ नंको बस ट्राफिक प्रहरीको फन्दामा प¥यो ।

सोही दिन साँझ ८ः३० बजे काठमाडौँबाट ३० जना यात्रु लिएर विराटनगर जान लागेको ना६ख १५६१ नं को बस जाँचका क्रममा ट्राफिक प्रहरीको फन्दामा प¥यो ।

यी त केबल प्रतिनिधि घटनामात्र हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले तीन दिनमा सातजना रात्रिकालीन बस चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रणमा लिएको छ ।

चालकको लापरवाहीका कारण वर्षेनी हजारौँ यात्रु दुर्घटनाको शिकार बनिरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले रात्रिकालीन बस जाँचका घटनालाई कडाइ गरेको छ ।

महाशाखाले नियन्त्रणमा लिएका रात्रिकालीन बस चालकलाई सार्वजनिक मुद्दा चलाएको छ भने सम्बन्धित समितिबाट नयाँ चालक झिकाएर यात्रुलाई गन्तव्यस्थलसम्म पुग्ने वातावरणसमेत मिलाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त रात्रिकालीन बस चालकले मापसे गरी सवारी चलाएको भन्ने जनगुनासो आएपछि महाशाखाले रात्रिकालीन सवारी साधनलाई कडाइका साथ जाँच गरेको बताउछन् । “एउटा चालकको लापरवाहीका कारण कोही पनि यात्रु दुर्घटनाको शिकार नबनुन् भन्ने हाम्रो प्रमुख लक्ष्य हो”, उनी भन्छन् ।

महाशाखाले चालू आर्थिक वर्षको अहिलेसम्म ७९ रात्रिकालीन बस चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिसकेको छ ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रह्लाद लोहनी मापसे गरी सवारी चलाउने पर्यटक बस चालकलाई कडा कारवाही गर्नुपर्ने बताउछन् ।

“पर्यटक बसले स्वदेशीमात्र नभएर विदेशी पाहुनासमेत बोक्ने हुँदा चालक भद्र र नरम हुनुपर्छ, जथाभावी गर्ने चालकले पर्यटक बस चलाउन पाइँदैन”, उनि भन्छन् ।

उहाँले पर्यटक बस चलाएर मापसे गर्ने चालकमाथि अनुसन्धान भइरहेको बताए ।

महाशाखाले काठमाडौँ उपत्यकामा चालू आवको १० महिनामा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएका तीन लाख ७८ हजार ९२७ चालकलाई कारवाही गरेको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २६ हजार १९७ जना रहेका छन् ।

उपत्यकामा हाल ४० ट्राफिक प्रहरी एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । उपत्यकामा ११ लाखभन्दा बढी सवारी साधन आवतजावत गर्छन् भने नेपालभर २७ लाखभन्दा बढी सवारीसाधन रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.