www.tandavnews.com
Fact ~ In search of truth

देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

गैँडाकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केबलकारको आज उद्घाटन गर्दै उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए।

उनले भने, “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिन सक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।” आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताए। उनले भने, “त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो ।”

Batas

सङ्घीय सरकारका तर्फबाट निजी क्षेत्रमा परेको अप्ठ्यारोलाई सहज गर्न धेरै मेहनत गरिरहेको उल्लेख गर्दै उनले परिणाम न निस्किँदासम्म आफूले  धेरै कुरा भन्न नमिल्ने बताए। उनले भने, “मलाई विश्वास छ परिणाम निस्कन्छ, हामीले जनतामा निराशा बाँड्ने काम रोक्नु पर्छ ।” सरकारले विद्यार्थी भर्ना हुनुअघि विकट गाउँसम्म पुस्तक पु¥याएको, राहदानी र लाइसेन्समा सहजीकरण गरेको उनले जानकारी दिए।

विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उनले बताए। पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उहाँले अझ बढाउने तयारीमा सरकार रहेको बता। उनले भने, “राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रदक छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ ।”  

बैङ्क ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उनले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताए। उनले भने, “गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौती पूर्ण हुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईँहरूको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ ।”

नेपाल अहिले पनि आर्थिक दबाबमा रहेको जनाउँदै उनले क्रमिक सुधार आउने र लय समात्ने विश्वास आफूले लिएको बताए। अप्ठ्यारो परिस्थितिमा नै जोखिम उठाएर विकास  परियोजनालाई अघि बढाउने आँट केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकालले गरेको भन्दै उनले सातै प्रदेशमा एउटा–एउटा पर्यटकीय क्षेत्रमा केबलकार पुर्याउने उनको योजनाको प्रशंसा गरे।  मौलाकालिका मन्दिर एउटा धार्मिक सांस्कृतिक र ऐतिहासिकस्थल भएको भन्दै प्रधानमन्त्री दाहालले तीन जिल्लाको सङ्गमका रुपमा रहेकाले देवघाट, नारायणी नदी यसको प्रभाव र योगदान सबैतिर फैलने बताए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.