www.tandavnews.com
Fact ~ In search of truth

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

बेइजिङ, रासस
(विशेष प्रतिनिधि हरि लामिछाने)

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् ।

सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका हुन् ।

Batas

विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको जनाए।

“अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोे भ्रमण फलदायी हुनेछ । नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ र गहिराइमा पु¥याउनेछ ” प्रधानमन्त्री ओलीले भने , “आपसी मैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर म आएको छु ।” प्रधानमन्त्री ओली पहिलोपटक सन् २०१६ को मार्चमा चीनको औपचारिक भ्रमणमा गएका थिए ।

उनले अघिल्लोपटक भएका व्यापार र पारवहन सम्झौता कोशेढुंगा भएको र त्यसले पूर्वाधार विकासका क्षेत्रमा अझ नयाँ उचाइमा पु¥याउन योगदान गर्ने र ती सम्झौतालाई अघि बढाउने पहल भइरहेको बताए ।

“हाम्रा स्रोत, साधनको परिचालन र छिमेकी र सहयोगीको साथ सहयोग लिएर अघि बढिनेछ । राजनीतिकरुपमा स्थिर र स्पष्ट दृष्टिकोणका साथ सरकार अघि बढ्छ । प्राकृतिक स्रोत र कच्चा पदार्थ सहज उपलब्ध छ । मजदूर हडतालका समस्या छैनन् । समृद्धि र विकासका लागि उपयुक्त वातावरण बनेको छ ” प्रधानमन्त्री ओलीको भनाइ थियो ।

समृद्ध र गतिशील मुलुक बनाउन पर्यटन, कृषि, उद्योगका क्षेत्रमा सहकार्यमा जोड दिँदै उद्यमशीलताको वृद्धि गरी दक्ष जनशक्ति, कृषिका निम्ति आवश्यक पर्ने पूर्वाधारको तयारी र प्रविधि हस्तान्तरणमा क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

“चीनको असाधारण क्षमता छ । सहयोगको भावना, तत्परता र सामथ्र्य छ । नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ । दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,” प्रधानमन्त्री ओलीले भने ।

नेपालको व्यापार घाटा कम गर्न, आयात कम गर्न र निर्यात बढाउन चिनियाँ सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्रीले संविधान जारी भएपछिको निर्वाचनबाट नयाँ, स्थायी र स्पष्ट प्रतिबद्धताको सरकार बनेको अवस्थामा सुशासन र विकासका लागि अनुकूल वातावरण सिर्जना भएको पनि बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.