www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशलाई हार्दिक स्वागत छ

नेपालको मध्यभाग भन्ने बित्तिकै गण्डकी प्रत्येक नेपालीहरुको मगजमा स्मरण हुन्छ । बिषेशगरि गण्डकी भन्ने शब्द नदीसँग जोडिएको छ ।

हुनत गण्डकी शब्द मगर भाषाको शब्द भएता पनि गण्डकी सम्रग नेपालीहरुको प्रिय शब्द हो । मैले गण्डकी शब्द सँग मात्रै जोडिएर कुरा गर्न खोजेको हैन । खासगरि अहिलेको प्रदेश नं ४ को नामाकरणको बिषयले गर्दा यो शब्दको चर्चा गर्न मन लाग्यो ।

आज मात्रै प्रदेश नं ४ को नाम बिधिवत रुपमा गण्डकी घोषणा गरिएको छ । यस अर्थमा पहिला त गण्डकी प्रदेशलाई समृद्धि, बिकास र सुशासनको शुभकामना दिनुपर्छ । र आफैमा गौरव र इतिहास बोेकेको गण्डकी नामलाई स्वागत गर्नुपर्छ ।

Batas

मुक्तिनाथको शिरबाट शालिग्राम कुंद्दै बग्ने पवित्र नदि कालिगण्डकी नवलपुरको त्रिवेणीसम्म पुग्दा अरु ६ वटा साना नदिहरुलाई आफ्नो आँङमा मिसाउछिन् । मलाई लाग्छ गण्डकी नाम होइन, सभ्यता हो । हामी सात वटा नदिको वरपर बसोवास गर्ने सप्तगण्डकी सभ्यताका सन्तानहरु हौं ।

मुस्ताङ , म्याग्दी , बाग्लुङ र पर्वतलाई कालिगण्डकीले आफ्नै लहरोमा बेरेकी छन् । कास्कीलाई सेती र मनाङ,गोरखा,तनहुँलाई मस्र्याङदिले सिञ्चित गरेकी छिन् ।

स्याङजालाई कालिगण्डकीले अंगालो मार्दै देवघाट सम्म पुग्दा गण्डकी बुढि हुन्छिन् र साना ठूला नदिहरुलाई संगालेर सप्तगण्डकीको रुपमा नवलपुरको त्रिवेणी पुग्छिन् गण्डकी ।

हामिलाइ यि नदिहरुले परिचित गरेका छन् । प्रदेशकाे सिमानालाइ नदिहरुले अंगालो हालेका छन् र हामी सुरक्षित छौं । जव म मुग्लिनपारि पुग्छु मलाई सबैले गण्डकीको मान्छे भन्छन् , अनि सोध्छन् गण्डकीको खबर के छ ? सायद तपाईहरुलाई पनि धेरैले गण्डकीको खबर सोधेका हुन सक्छन् ।

मलाई त लाग्छ गण्डकी भन्ने बित्तिकै तमुहरु बस्ने ठाउँ भन्ने बुझिन्छ । तमु र गण्डकीको बिचमा नङ र मासुको सम्बन्ध छ । तपाई झापादेखि कन्चनपुरसम्म गएर सोध्नुस् गुरुङको थलो कहाँ हो , जवाफ एउटै हो गण्डकी । अनि कसरी हुदैन गुरुङहरुको गण्डकी ? मगरको त झन् आफ्नै शब्द हो । मुक्तिनाथबाट बग्दै आउँदा सायद मगरहरुले नदिलाई आफ्नो भाषामा गण्डकी भनेको हुनुपर्छ । त्यसो त मगरहरुका निम्ती पनि गण्डकी शब्द बिझाउनु पर्छ भन्ने लाग्दैन ।

धार्मिक हिसावको कुरा गर्दा गण्डकीलाई सम्रग विश्वभरिका हिन्दूहरुले पबित्र जलतिर्थको रुपमा मान्दछन् । हरेक हिसाबले प्रदेश नं ४ को नाम गण्डकी राख्दा आक्रोशित हुनुको कुनै अर्थ छैन ।

संघियताको बहस सुरु भैरहदा केही पार्टीहरुले प्रदेश सिमाकंन भन्दा अगाडी नै जातिय आधारमा विभिन्न नाम फलाकेको हामीले देखे सुनेकै हौं ।

यसैका निम्ति धेरै र्याली भेला र आमसभाहरु नभएका होइनन् । धेरै नै बल गरेर यो प्रदेशलाई साम्प्रदायिक जातियकरण गर्न खोजेको तितो यर्थाथबाट हामि जानकार नै छौं ।

गण्डकी एउटा यस्तो क्षेत्र हो , जहाँ सबै जात जातिहरुको बसोबास छ । संख्याकै कुरा गर्ने हो भने ३० प्रतिशत जनजाति र बाँकी ७० प्रतिशत अरु जातिका मानिसहरु छन् ।

यस्तो प्रकारको मानव बसोबास भएको ठाउँमा कथित जातिय नाम, धर्म र संस्कृतिका कुरा गर्दा ढिलो चाँडो हामी पनि कंगो, हाइटि,  श्रीलंका र भारत जस्ता मुलुकहरुले भोगेको भोगाइ भोग्ने ठाउँमा आइपुग्छौं ।

ति देशहरुमा जाति जाति बिचको लडाईले ठूलो घाउ बनाएको छ । जुन अझै निको हुनसकेको छैन । हुतु र तुत्सिहरु लडेकै छन् , हिन्दू र मुसलमानहरु लडेकै छन् । यसका हामि प्रत्यक्षदर्शी हौं ।

यिनै दृष्टान्तहरुका बाबजुत पनि सबैका लागी सर्व स्विकार्य गण्डकी नाम राख्न छाडेर तमुवान र मगरातका नाममा आन्दोलनका घोषणा गर्ने कथित जनजातिका संघ संस्थाहरु जुन बिदेशीको लगानीमा चलेका छन् । उनिहरुले गर्ने आन्दोलनको कुनै तुक रहदैन ।

अझै भन्नु पर्दा समाजको स‌स्कृति, भाषा, सामाजिक सहिष्णुतामा खलल पुर्याउने संघ संस्था र व्यक्तिलाई कारवाहीको पक्षमा ल्याउन पर्छ । जहाँ सम्म ३० प्रतिशत जनजाति भित्र पनि संर्किण सोच राख्ने मुस्किलले २ प्रतिशत पुग्लान् । हाेइन भने बाँकी धेरै जनजाती स‌किर्ण जातीयताकाे पक्षमा छेनन् । यो बिषयमा आन्दोलनकारीहरुले हेक्का राखेका छन् कि छैनन्  ?

गण्डकी नामलाइ कागजमा लेखेर जलाइरहदा केही व्यक्ति र पात्रहरुलाई बहिस्कार गरिरहदा, अर्को ठूलो ७० प्रतिशतको जमातले फेरि अर्को पक्षलाई बहिस्कार गर्ने ठाउँमा पुग्यो भने के हुन्छ ? यि र यस्ता क्रियाकलापले समाजलाई सुशासनमा होइन, द्धन्दमा लैजान्छ ।

धार्मिक, सास्कृतिक, ऐतिहासिक र भौगोलिक हिसाबले गण्डकी शब्दको अगाडी अरु नामहरु फिक्का हुन्छ । गण्डकी हाम्रा सबै जातिका पुर्खाहरुको इतिहास हो । इतिहासबाट पाठ नसिक्ने हो र, इतिहासको धरातलमा नटेक्ने हो भने अहिलेको पुस्ताको गन्तव्य कहाँ हो ?

गुरुङ मगरका नेता अन्य जातिका नेता बन्न सक्ने कि नसक्ने ? अन्य जातिका नेता गुरुङ मगरका नेता बन्न सक्ने कि नसक्ने ? झन् हामिले सबै प्रकारका जातिय प्रणालिहरुलाई अन्त्य गरेर वर्गीय प्रणालिको सुरुवात गरि सबैमा समान अधिकार पुर्याउनु पर्छ भन्ने कुरा उठाइरहदा जाति जाति बिचको घोचपेच र संघर्षले हामीलाई कहाँ पुर्याउला ?

गण्डकी प्रदेशमा सबै जाति समुदाय मिलेर बस्नुको बिकल्प छैन । यसैमा सबैको भलो छ । बिरोधका लागी बिरोध नगरौं । भर्खरै जन्मेको गण्डकी प्रदेशलाई हार्दिक स्वागत छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.