www.tandavnews.com
Fact ~ In search of truth

बलात्कार अंग प्रर्दशनको कारणले मात्रै हुन्छ ?

सुमित्रा भट्टराई

केही अघि राजधानीको ल्याण्डमार्क होटलमा भएको बलात्कार घटनाले नेपाली सञ्चारमा तरंग ल्यायो । प्रहरीकै उपस्थितिमा पीडितलाई केही रकम दिएर मिलापत्र गरिएको त्यो घटनामा पछि प्रहरी अधिकृत नै कारवाहीमा परे ।

राजधानीमै भएको त्यो घटनामा सामाजिक सञ्जालमा धेरैले सकारात्मक तथा नकारात्मक दुवै खाले प्रतिक्रिया दिएका थिए ।

Batas

सकारात्मकमा पीडित युवतीलाई न्याय प्राप्तिका लागि प्रोत्साहित गर्ने किसिमका प्रतिक्रिया थिए । केही प्रतिक्रियाको आशय यस्तो थियो : ब्वाईफ्रेन्डले बोलाउँदैमा जाँदा यस्तै हुन्छ, कपडा नै त्यस्तै लगाएपछि हुने नै यस्तै हो ।

उसो त अधिकांश किशोरी पीडितलाई दिईने प्रतिक्रिया हो यो । बलात्कार जस्तो संवेदनशिल घटनामा लेखिएका कमेन्ट देख्दा पीडितलाई शारीरिक बलात्कार सँगसँगै मानसिक पीडा थप्न खोजिएको थियो ।

बलात्कार पीडितलाई सँगसँगै आत्महत्या घटनाका पीडित किशोरी युवतिले पाउने सामाजिक शोक सन्देश पनि प्रेममा बिछोड सहन नसकेर होला, गर्भवती थिई होला सहन नसकेर गई.. यस्तै यस्तै हुन्छन् । सामाजिक सञ्जालमा किन हामी यति धेरै असामाजिक हुन्छौँ ?

छोटै लुगाको कारणले बलात्कार हुने हो भन्ने तपाईको प्रतिक्रियामा गुन्युले ढाकिएका पचहत्तर देखि असी वर्षीया आमाहरू किन बाँकी रहँदैनन् ? आफ्नो लुगा सम्हाल्न नजान्ने बालिका पनि सामुहिक बलात्कारका घटनामा पीडित हुन्छन् ।

पाटीमा जीवन घिसारिरहेका मनोसामाजिक अपांगता भएका महिलाहरूले बावुको पहिचान बिनाका सन्तान बोकेर हिँडेको पनि हामीले देखेकै हो ।

ब्वाईफ्रेण्डसँग जाँदा बलात्कृत भईन् मानौँ जानु उनको गल्ती भयो तर बैवाहिक बलात्कारको कानुन व्यवस्था भएको मुलुकमा प्रेमीले बलात्कार ग¥यो भने उजुरी गर्न पाउने व्यवस्था छैन र ? कसैले प्रति प्रश्न गरिदेला भन्ने डरले वा प्रमाण जुटाउन नसक्दा कार्यस्थलमा हुने दुव्र्यवहारलाई चुपचाप सहनुपर्ने अवस्था छ ।

हामीले त एउटा समाचार पढ्छौँ अनि बिर्सिन्छौँ, कतिले कमेन्ट लेख्छौँ । पीडितले आफूमाथि भएको हिंसा जीवनभर भुल्दैनन् । अनि त्यो पीडामाथी अनेकथरी कमेन्ट गरेर हाम्रो कुन इन्द्रियलाई सन्तोष मिल्छ ? बलात्कारका घटनाका पीडितले शारिरीक रूपमा क्षणिक पीडा महसुस गर्छन् भने मानसिक पीडाले जीवनभर तर्सने पीडित हुन्छन् ।

केही महिना अघि बाग्लुङमा एक किशोरी आफ्नै दाजुबाट पटक–पटक बलात्कृत भईन्, परिवारका सदस्यलाई भन्न सकिनन् । गर्भ रहेर शारिरीक बनावट फेरिन थालेपछि आमाले थाहा पाइन् ।

छोरीको पेटमा आफ्नै छोराको गर्भ हुर्किँदै छ । ति आमाको मनमा के बित्यो होला ? बलात्कारबाट बच्चा जन्माएकी छोरी अहिले कास्कीमै रहेको एक सेफ हाउसमा छिन्, बच्चालाई अरूको जिम्मा लगाइयो ।

आरोपित छोरा प्रहरी हिरासतमा छन् । अचेल हाडनाता करणीका घटना पनि बिस्तारै प्रकाशमा आउन थालेका छन् ।

अचेल केही किशोरीहरूले सामाजिक सञ्जालमा लेख्छन्: कपडाले बलात्कारका लागि उक्साउँछ भने सोही किसिमका कपडा लगाउने पुरूष किन बलात्कृत हुँदैनन् ?

केही कडा देखिने यस अभिव्यक्तिमा सत्यता लुकेको छ । हो उनीहरूले लेखेझैँ कपडाकै बहाना गर्ने हो भने महिला र पुरूष दुवैले उस्तै लुगा लगाए पनि अथवा अंग प्रर्दशन गरेर उक्साएको भन्दै पुरूष बलात्कृत भएको घटना मैले सुनेको वा पढेको छैन् । के भावना र ईच्छा पनि व्यक्तिको पिच्छे फरक– फरक हुन्छन् र ?

एक व्यक्तिले क्षणिक स्वार्थ पूर्तिका लागि चालेको एउटा कदमले पीडितलाई ठुलो शारीरिक र मानसिक आघात् पुर्याउँछ । जुनसुकै कारण र अवस्था नै बहाना किन नबनाओस् यस्ता जघन्य अपराधका पीडकले उन्मुक्ति पाउनु हुँदैन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ लाई आधार मान्ने हो भने प्रदेश नम्बर ४ मा ८० जना बलिका तथा महिला बलात्कार तथा यौनजन्य हिंसाका घटनामा पीडित भएका खबर प्रकाशमा आए ।

यस्तै सन् २०१७ मा यस प्रदेशमा तीनजना बालक यौनजन्य हिंसामा पीडित भएको पुस्तकमा उल्लेख छन् । तीनवटै घटनामा पीडित बालक पुरूषबाटै पीडित भएका थिए ।

मेरो भनाई कतै कसैलाई चित्त नबुझ्न पनि सक्छ । हामी शरिरका कुरा गर्छौ । कपडाका कुरा गर्छौ । अंग प्रर्दशनका कुरा गर्छौँ । समस्या त त्यहाँ हैन हाम्रो मानसिकतामा छ । बलात्कारका घटना पुरूष दम्भ, अपराधिक मानसिकता र उसको लालनपालनमा भर पर्छ ।

उ हुर्केको परिवेशले उसलाई स्त्रीलाई कुन दृष्टिकोणमा हेर्ने, कस्तो व्यवहार गर्ने भनेर सिकाएको हुन्छ । यस्तै हामीकहाँ बर्जित विवाहपुर्व सम्बन्ध, केही संस्कृति पनि बलात्कार घटनाका कारक बन्ने गर्दछन् ।

युवा र युवतिबीच मित्रता नहुने हुँदा पनि व्यक्तिले आफूभन्दा अर्को लिंगको व्यक्ति कस्तो हुने ? उसको शारिरीक संरचना कस्तो छ ? भन्ने कौतुहलताकै आधारमा पनि नकारात्मक सोचले बलात्कारको बाटोसम्म पुर्याउँछ ।

कुनै–कुनै बलात्कारका घटनामा कुनै पुर्व रिसईबीका घटना जोडिन्छन् । विद्यालय र घर दुवैमा बालबालिकालाई पर्याप्त यौन शिक्षा नदिँदा, यौनलाई चाहिँदो बढी गोप्यता राखिदिएको कारणले पनि केही बलात्कारका घटना घटेको देखिन्छ ।

केही घटनामा १४/१५ वर्षीय बालकले गरेका बलात्कारका घटनामा आफूले ‘पोर्न साईट’ हेर्दा बलात्कार गरेको प्रतिक्रिया दिएका थिए । यति फरक फरक कारण छन् । अझै थपिन सक्छन् ।

तपाई हाम्रा प्रतिक्रिया भने अंग प्रर्दशन र छोटा कपडामै अल्झिएका छन् ।

Email:  [email protected]

twitter: @farsumitra

लेखकबाट थपः

इम्याजिन भर्सेज रियालिटी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.