पोखरा ।
इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवल विहीबारदेखि सुरु भएको छ । भेक्टर ‘डाइरेक्ट यो भिजन’ नामाकरण गरिएको उक्त तीन दिने एफएसयू फेस्टिवलको संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले एक समारोहका बीच उद्घाटन गरे ।
पर्यटनमन्त्री अधिकारीले प्राविधिक शिक्षाको विकासले मुलुक समृद्ध हुने भन्दै दक्ष इञ्जिनियर नै राष्ट्र निर्माणको आधार भएको बताए । उनले ईञ्जिनियरले नै नयाँ नेपाल बनाउने भन्दै ईञ्जिनियरिङका विद्यार्थीले आफ्नो देश बनाउनतर्फ सोच्न आग्रह गरे ।

स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पसको आयोजनामा भएको सो फेस्टिवलमा मन्त्री अधिकारीले मुलुकभरका विद्यार्थीको सिर्जनालाई एकै थलोमा प्रदर्शन गर्न आयोजित यस्तो फेस्टिवल अन्त्यन्त लाभदायक भएको बताए । उनले आफूले सिकेका ज्ञानलाई प्रयोग गरी अरुमाझ प्रस्तुत गर्ने यस्तो मौका युनियनले प्रदान गरेकोमा यसप्रति आभार समेत प्रकट गरे ।
उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय, ईञ्जिनियरिङ अध्ययन संस्थान डिन त्रिरत्न बज्राचार्य, फेस्टिवलका मुख्य प्रायोजक न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिका निर्देशक लक्ष्मीप्रसाद सुवेदी, स्ववियू सभापति इन्द्र पौडेल, उपसभापति कुन्दनकुमार महतो, सचिव विजय झा लगायतले बोलेका थिए ।
‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक ईञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ आयोजित सो फेस्टिवलमा मुलुकभरका प्रतिष्ठित झण्डै दुई दर्जन इन्जिनियरिङ क्याम्पसबाट विद्यार्थी सहभागी हुनेछन् । तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुको गरी ८० बढी रहेका छन् ।
जहाँ विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रविधिका सामाग्री प्रदर्शन गरिएको स्ववियू सभापति इन्द्र पौडेलले जनाए । फेस्टिवल अवधिभर करिव २० हजार बढीले अवलोकन गर्ने संयोजक किरण तिवारीले बताए । नेपालका उत्कृष्ट ईञ्जिनियरिङ कलेजहरुबाट सहभागिता रहेको छ ।
फेस्टिवलमा पाँच सय बढी त स्टल नै हुनेछन् । गत वर्षको एक्स्पोमा दश हजार भन्दा बढीले अवलोकन गरेका थिए । यसपटक २० हजार बढीले अवलोकन गर्ने सदस्य अनिल गौतमले जनाए । कार्यक्रममा बिज्ञान तथा प्रविधिको अलवा मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल कम्पिटिसन जस्ता थुप्रै अन्य कार्यक्रम पनि हुनेछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.