www.tandavnews.com
Fact ~ In search of truth

प्रा डा केसीसँग भएको सहमति सदनमा टेबुल

काठमाडौँ (रासस)

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मागपछि सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौबुँदे सहमति सदनमा टेबुल गरिएको छ ।

आजको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर उक्त सहमतिका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका डा मीनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । सांसद डा रिजालले सरकार र प्रा डा केसीबीच वार्तामार्फत सहमतिमा अनशन टुङ्गिनु सकारात्मक भए पनि प्रा डा केसीले लामो समय अनशन बस्नुपरेको र संसद् पनि नियमित चल्न नसक्नु दुःखद हो भने ।

Batas

सरकारले जबर्जस्ती यथास्थितिमा विधेयक अघि बढाउन नसक्ने भन्दै उहाँले प्रा डा केसीको माग सम्बोधन गर्न भएको सहमतिले सार्वभौम जनताको जीत भएको उल्लेख गरे।

सरकारका तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र प्रा डा केसीबीच बिहीबार नौबँुदे सहमति भएपछि उनको स्वास्थ्यलाई ध्यानमा राखी सघन उपचार कक्षमा उपचार भइरहेको तथा सहमति भएका विषयलाई सरकारले प्राथमिकताका अगाडि बढाउने बताए ।

काँग्रेसका गगनकुमार थापा, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, लक्ष्मी परियार, उमा रेग्मी, रामबहादुर विष्ट र प्रकाश रसाइली तथा नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वार्ताका माध्यमबाट भएको सहमति सकारात्मक छ भन्दै बंगलादेशमा अध्ययन गरेर फर्केेका र अध्ययनरत छात्राका बारेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएका अभिव्यक्ति छानबीन गरी कानूनी कारवाहीको माग गरेका थिए ।

उनीहरुले प्रा डा केसीको मागका विषयमा भएका सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने बताउँदै सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान कार्यान्वयन नभएका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिपक्षी दलका सांसदले सरकारसँग पुनः स्पष्ट पार्न थप प्रश्न गरेपछि मन्त्री पोखरेलले सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौबुँदे सहमति सदनमा टेबल गर्दै थप जानकारी दिएका थिए ।

मन्त्री पोखरेलले जुम्लामा भएको घटना तथा बंगलादेशमा अध्ययनरत छात्राका बारेमा दिइएको सार्वजनिक अभिव्यक्तिका सम्बन्धमा सरकारले मन्त्रिपरिषद्मा छलफल भएपछि सदनलाई जानकारी दिने बताए ।

त्यसपछि पनि काँग्रेसका सांसदले सहमतिको पत्रका बारेमा सांसदलाई जानकारी पाउनुपर्ने अडान राखेपछि सभामुख महराले संसद् बैठक १० मिनेटका लागि स्थगन गरेका थिए ।

मन्त्री पोखरेलको जवाफपछि काँग्रेसका बालकृष्ण खाँडले प्रा डा केसीसँग भएको सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने बताउँदै सहमतिको मन्त्रिपरिषद्ले स्वामित्व लिनुपर्ने माग गरे ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.