www.tandavnews.com
Fact ~ In search of truth

फेवातालमा माछापुच्छ्रेसँगै राष्ट्रिय झण्डाको छायाँ

ईश्वर देवकोटा
पोखरा, 
ताण्डव न्यूज ।

‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ’

दिनेश सुब्बाले लेखेका र प्रकाश श्रेष्ठले गाएका यि शब्दले फेवातालकाे सौन्दर्यतालाई केही हदसम्म चित्रित गर्छ । गित लेखिएजस्तै, गाइएजस्तै फेवातालले माछापुच्छ्रेको विम्वलाई सधैं समाहित गरिरहेको हुन्छ । माछापुच्छ्रेको छायाँले फेवाको सौन्दर्य बढाउन होस्टेमा हैसे गरिरहेको छ ।

Batas

अब फेवामा हिमालको छाँया मात्रै रहने छैन । आकाश खुल्दा फेवातालमा देखिने माछापुच्छ्रेकाे छायाँसँगै नेपालको राष्ट्रिय झण्डा फहराउने योजना गण्डकी प्रदेशले निर्णय गरेको छ ।

गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को बैठकले पोखरा ड्यामसाइडमा एक सय मिटर अग्लो नेपालको राष्ट्रिय झण्डा निर्माण गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको मन्त्रीपरिषद्को १६ औं बैठकबाट प्रदेशको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिकासँगको वित्तीय साझेदारीमा राष्ट्रिय झण्डा निर्माण गर्ने भएको हो ।

‘महानगरपालिकाबाट इस्टिमेट लागत सहितको योजना फाइल प्रदेश सरकार समक्ष आईपुगेको छ’, बैठकको निर्णय बारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘झण्डैं एक करोडको लागत अनुमानित गरिएको छ, कुल लागतको ५०/५० प्रतिशत महानगर र प्रदेश सरकारको साझेदारी रहनेछ ।’

फेवातालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ माथी राष्ट्रिय झण्डा देखिने गरी संरचना निर्माण गरिने प्रवक्ता बस्नेतले जानकारी दिए । ‘प्राविधिक दृष्टिकोणले कुन स्थानमा झण्डा निर्माण गर्दा उपयुक्त हुन्छ सोही अनुसार निर्माण गरिने छ ।’ उनले भने ।

त्यस्तै, बैठकले प्रदेश सरकार सञ्चालनका लागि प्रयोगमा ल्याएका संरचना एवं आवश्यक पर्ने पूर्वाधार संरचना प्रदेश मातहत ल्याउन संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अहिले सीप विकास तालिम केन्द्रको भवनमा बसेको छ । यस्तै अन्य मन्त्रालयहरु पनि अन्य निकायकै मातहतमा रहेको संरचनामा बसेको छ । ‘प्रादेशिक संरचना व्यवस्थापनका लागि प्रदेश सरकारकै नाममा भौतिक संरचना र जग्गा चाहिन्छ, सरकारका प्रवक्ता मन्त्री बस्नेतले भने, सबै संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न अनुरोध गरेका छौँ ।’

प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७५-०७६ लाई प्रदेश सरकारको संरचना निर्माण र कानुन निर्माणको बर्षको रुपमा लिएको छ । तर कर्मचारी नहुँदा बजेट कार्यान्वयनमा समस्या आएको छ । गण्डकी सरकारले आफु मातहत चाहिने विभाग, डिभिजन कार्यालय र ईकाई समेत गरेर ३२०० कर्मचारी आवश्यक रहेको भन्दै दरबन्दी र कर्मचारी माग गरेर संघीय सरकारलाई पठाइसकेको छ । तर संघीय सरकारले अहिलेसम्म कर्मचारी नै नपठाएको मन्त्री बस्नेतले बताए ।

‘कर्मचारी नहुँदा योजना कार्यान्वयन प्रभावित भएको छ मन्त्री बस्नेतले भने, एकातिर कर्मचारी आउँदा बस्ने र काम गर्ने ठाउँ छैन भने अर्कोतिर कर्मचारी नहुँदा बजेट कार्यान्वयनका काम पनि गर्न सकिएको छैन ।’

तत्कालका लागि प्रदेश सरकार मातहत महाशाखाहरु बनाएर काम गरिरहेको समेत उनले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.