पोखरा
ईश्वर देवकोटा/ताण्डव न्यूज ।
पोखरा लेखनाथ महानगरपालिकाले काम नगर्ने ठेकदारलाई कारवाही गरेको छ । आ.व. २०७४/०७५ मा टेण्डर आह्वान गरेर निर्माण सम्झौता गर्ने तर समयमा काम नसक्ने ठेकदार कारवाहीको दायरामा ल्याएको हो ।
मेयर मानबहादुर जिसीको निर्देशनमा, ठेक्का सम्झौता लिएर पनि समयमै नसक्ने ठेकदारलाई कारवाही स्वरुप जरिवाना लिइएको मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।
सबै सम्झौता महानगरभित्रका विभिन्न वडाका सडक निर्माण रहेका छन् । जसको समयसीमा गएको असारमा सकिएको छ ।
सम्झौता अनुसारको समय भित्र काम नसक्ने ठेकदार/कम्पनीलाई महानगरले पत्र मार्फत जानकारी गराएको महानगरका डिभिजनल इन्जिनियर सोभियत खड्काले जानकारी दिए ।
‘जिम्मेवारी लिएका निर्माण कम्पनीलाई महानगरबाट पत्रद्वारा जानकारी गराइएको छ,’ उनले भने, ‘समय सकिएका निर्माण कम्पनीले सम्झौता अनुसारको लिक्विडिटी ड्यामेज अन्तर्गत प्रतिदिन ०.०५ प्रतिशत पेनाल्टी महानगरमा बुझाउनुपर्ने हुन्छ ।’
दुई तीन वटा सडकको काम आजभोली सम्ममा सम्पन्न गर्ने देखिएको भन्दै इन्जिनियर खड्काले समय नाघे पछि स्वतः जरिवाना तिनुपर्ने बाध्यात्मककारी अवस्था रहेको जनाए ।
समयसीमा भित्रमा पनि नसक्ने र पेनाल्टी बढ्दै जाँदा पनि वास्ता नगर्ने कम्पनीलाई कस्तो किसिमको कारवाहीको व्यवस्था छ भन्ने ताण्डवको जिज्ञासामा इन्जिनियर खड्काले भने, ‘कुल लागतको १० प्रतिशत सम्म पेनाल्टी रकम हुन आएमा उक्त कम्पनीलाई कालोसूचिमा राख्न सिफारिस गरिने छ र काम सम्पन्न नै नगर्ने कम्पनीले जति प्रतिशत बाँकी काम रहन्छ सो रकम हर्जना स्वरुप असुल उपर महानगरले गर्नेछ ।’
टेण्डर खुलाएका महानगर भित्रका २६ वटा सडकका लागि विभिन्न कम्पनीहरुले निर्माण सम्झौता गरेका थिए । जसमा ५ वटा सडकका लागि जिम्मेवारी लिएका कम्पनीले समयमै काम सम्पन्न गरेका छन् । भने ३ ठेकदार/निर्माण कम्पनीले समयसीमा नाघेर निर्माण कार्य सम्पन्न गर्दा जरिवाना बापतको शुल्क तिरेका छन् ।
समयमै काम नसक्ने १५ ठेकदार/कम्पनी कारवाहीको सूचिमा
समयसीमा भित्र काम नसक्ने ठेकदार/निर्माण कम्पनीको नामावली महानगरले तयार गरेको छ ।
जसमा आइ डि कन्स्ट्रक्सन पोखरा, सीता विल्र्डस, विश्वरुपा निर्माण सेवा ललितपुर, एम/एस आचार्य निर्माण सेवा बाग्लुङ, एम÷एस जय बुलुन्द निर्माण कम्पनी प्रालि काठमाडौं, बिनु कन्स्ट्रक्सन, टिबिएम कन्स्ट्रक्सन, जस्ट इन टायम कन्स्ट्रक्सन, जिएस इन्जिनियरीङ एण्ड विल्र्डस, समुन्द्र कन्स्ट्रक्सन, आचार्य विल्र्डस, सिटी विल्र्डस, लोयल कन्स्ट्रक्सन, मीर नेपाल कन्स्ट्रक्सन, आरुसी सीता जे भी निर्माण कम्पनी रहेका छन् ।
जसको निर्माण सम्झौता अनुसार असार मसान्त भित्र नै समय सकिएको महानगरले जनाएको छ । जसबाट महानगर भित्रका विभिन्न १८ वटा सडकको निर्माण काम सम्पन्न हाल सम्म पनि हुन सकेको देखिदैन् ।
निर्माण सम्झौता गर्ने ठेकदार/कम्पनीलाई महानगरले दिनप्रतिदिन जरिवाना बापतको शुल्क थप गर्दै गइरहेको मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
समय नाघेर निर्माण सम्पन्न गर्ने ३ कम्पनीबाट एक लाख ३० हजार जरिवाना असुल
समयसीमा नाघेर काम सम्पन्न गर्ने ३ निर्माण कम्पनीबाट महानगरले जरिवाना बापत झण्डैं एक लाख ३० हजार जरिवाना असुल उपर गरेको छ ।
जसमा मिर नेपाल कन्स्ट्रक्सनले ३५ हजार ८ सय ३३ रुपैयाँ जरिवाना तिरेको छ । उक्त कम्पनीले पोखरा–२१, स्थित दोपहरे, वडा कार्यालय र हेल्थ पोष्ट अफिस सडक निर्माणको जिम्मेवारी लिएको थियो । कम्पनीले महानगरसँग असार १५ गते सम्पन्न गर्ने भनि सम्झौता गरे पनि १५ दिन ढिलो गरी निर्माण सक्दा सो रकम जरिवाना बापत तिरेको हो ।
एस आर इन्जिनियरिङ एण्ड विल्र्डसले सम्झौता गरेको पोखरा–२८ स्थितको आरुपाटा मैदान सडकको काम १९ दिन ढिलो गरी सक्दा झण्डैं ५० हजार जरिवाना तिर्नुपरेको छ ।
त्यस्तै, ढिलो गरी निर्माण सम्पन्न गर्ने आइ डि क्रिपेस/क्रिस्मा कन्स्ट्रक्सन जे भी कम्पनीबाट महानगरले झण्डैं ४५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।
कम्पनीले जिम्मेवारी लिएको पोखरा–२८, स्थितको झाझारमारे, देउमाडी हुँदै ओख्ले सडकको निर्माण १५ दिन ढिलो गरी मात्र सम्पन्न गरेको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।