www.tandavnews.com
Fact ~ In search of truth

मिटर व्याजकाे कालाे धन्दा

पाेखरा, ताण्डव न्यूज
ईश्वर देवकोटा/अर्जुन गिरी । 

मिटर घुमेजस्तै व्याज रकम फनफनी घुमेर जोडिने रकम हो मिटर व्याज । लिएको वा दिएको रकमको चर्को व्याज जोडिदै जान्छ अनि छोटो अवधीमै साँवा भन्दा व्याज धेरै हुन्छ ।

विदेशबाट भित्रिएको मिटर व्याजको चलन नेपालमा आएको धेरै भएको छैन । नेपालमा सामान्य रुपमा चलेको मिटर व्याज अझ तिव्र गतीमा दौडाउन क्यासिनोले ठूलो भूमिका खेल्ने गरेको छ । जुन–जुन सहरमा क्यासिनो थियो त्यहाँ मिटर व्याजको धन्दाले राम्रो ठाउँ लिन थाल्यो । जसको प्रभाव पोखरामा पनि नपर्ने कुरै भएन् ।

Batas

वेलुका जुवा खेल्न पस्यो अनि रकम हारेको झोकमा मिटर व्याजमा पैसा लियो । अनि एक दुई हप्ता पछि तिर्दा चर्को व्याज (१ सयको २० देखि ३० रुपैयाँ व्याज ) तिर्ने ।

क्यासिनोबाट विस्तारै भित्रिएको मिटर व्याजको धन्दालाई पोखरामा २०६३ पछि जग्गा दलालले गति दिन थाल्यो । पोखरामा प्रतिष्ठित व्यवसायी, समाजमा गन्यमान्य, धनाढय घर परिवारकाले पनि मिटर व्याजको बाटो रोज्न थाले । मिटर व्याज लगाउने अनि रकम उठाउन गाह्रो भएपछि टोले गुन्डाको प्रयोग गर्ने ।

त्यसपछि २०७० तिर त जग्गा व्यवसायीले शिखरनै चुमेको थियो । त्यसैको समानन्तर रुपमा अघि बढ्दै थियो मिटर व्याजको धन्दा । २०७३ सालमा बै‌ँकले व्याज बढाएपछि जग्गा व्यवसायीमा एक खालको ब्रेक नै लाग्यो । जसको असर मिटर व्याज धन्दामा पनि पर्यो ।

तर मिटर व्याजमा पैसा खोज्ने नयाँ व्यवसायीहरु भेटिदै थिए । विशेष गरि सुनचादी व्यवसायी, फेन्सी, औषधी व्यवसायी मिटर व्याजमा आकर्षत भएका थिए ।

अनि यसका ग्राहक र साहु वने यहाँका राजनीतिक नेता, होटल व्यवसायी, पत्रकार, सञ्चारकर्मी, बैंकर, सहकारीका व्यक्ति, जग्गा दलाली । एक पटक समान ड्याम्म किन्यो अनि वेच्यो । जसका लागि मोटो रकम आवश्यक पर्ने ।

भन्दा भन्दै सापटी पैसा नपाएपछि मिटर व्याजमै रकम लिने गरेको एक सुनचाँदी व्यवसायी बताउँछन् । ‘अब के गर्ने लाखौको सुन एक पटकमै किन्नुपर्छ,’ उनले भने, ‘भनेको बेला पैसा दिन सकेन भने व्यवसायी चौपट हुन्छ । त्यो भन्दा मिटर व्याजमा लियो सुन किन्यो, बेच्यो र पैसा फिर्ता गर्यो ।’ स्रोतका अनुसार अधिकाशं सुन पसलले मिटर व्याजमा रकम लिएर सुन किन्ने गरेका छन् ।

मिटर व्याज लगाउने व्यक्तिले देखाउनको लागि मात्र व्यवसायी गर्ने स्रोतको भनाई थियो । ‘यसो फेन्सी, मुवाई पसल अनि जग्गा दलाली भन्यो अनि काम भने मिटर व्याज लगाउने हो,’ स्रोतले भन्यो, ‘पोखरामा टन्नै छन् मिटर व्याज लगाउनेहरु । प्रहरीले चाहे उनीहरुलाई भर्खरै पक्राउ गर्न सक्छन् । तर के गर्ने सानो माछा समाएर बस्छन् प्रहरी ।’

चर्को व्याज पाउने लोभमा मिटर व्याजमा लगानी गर्ने चलन बढ्दो बैक, वित्तीय र सहकारी संस्थाको निक्षेप संकलनमा असर पारेको एक बैकर स्रोतले बताए । ‘यस्तो व्यक्ति आउँछन कर्जा लिएर मिटर व्याजमा लगाउँछन्,’ स्रोतले भन्यो, ‘तर समयमै ब्याज र किस्ता तिर्न नसक्दा कारोबारमा अप्ठ्यारो निम्तिन्छ ।’

मिटर व्याजलाई कानुनले अपराधकै रुपमा लिन्छ । कास्की प्रहरीकहाँ आउने अधिकाँश लेनदेन, चेक बाउन्स र घर खाली गरिदिने घटना सोझे मिटर व्याजसँग जोडिएको हुन्छ । लिने वेला चर्को व्याजमा लिने अनि दिन नसक्नु अनि भागेर हिड्नु परेको धेरैले गुनासो गर्छन् ।

मिटर व्याजमा रकम दिएका व्यक्तिले पहिलेनै चेक लिएको हुनाले कानुनी रुपमै बलियो भएर बसेको पाइन्छ । मिटर व्याजको घटना तब बाहिर आउँछ जब पीडितले प्रहरीकहाँ जानकारी गराउछ । नत्र प्रहरीलाई यस सम्बन्धी कारवाही र कानुनी दायरामा ल्याउने काम भनेको फलामे चिउरा चपाउनु जस्तै हो ।

पोखराका मिटर व्याजको दुनियाँमा वेताज बादशाह मानिने व्यक्तिलाई कास्की प्रहरीका ७० प्रतिशत प्रहरीले चिन्छन् । उनीहरुसँग खाने बस्ने घुम्ने हिड्ने पनि हुन्छ ।

ति मिटर व्याजेको धन्दा गर्ने व्यक्तिहरुको फेसबुक फेज हेर्दा यस्तो लाग्छ कि ति प्रहरी अधिकृतलेनै उनीहरुलाई संरक्षण गरेको जस्तो । प्रहरीले मात्र होइन ठूलो व्यवसायीदेखि सामान्य व्यवसायीलाई पनि उनीहरुको काण्ड थाहा छ ।

राजनीति, सामाजिक संघसंस्थामा आवद्धता र धनको आडमा उनीहरु बलियो भएर बसेका छन की कानुनको हात उनीहरुसम्म पुग्न निकै गाह्रो छ । मिटर व्याजबाट पीडित भएकाहरु पनि उनीहरुको विरुद्ध प्रमाण पेस गर्न र आवाज उठाउन डराउछन् ।

हुन त कास्की प्रहरीले असार तेस्रो साता मिटर व्याजमै संलग्न रहेको भन्दै १५ जना टोले गुन्डाको पत्रकार सम्मेलन गरेर नाम नै सार्वजनिक गर्यो ।

प्रहरीले दिएको विवरण अनुसार ललितकुमार गुरुङ, चन्द्र गुरुङ, शनिराज डंगोल, सुमन श्रेष्ठ, पुनम गुरुङ, प्रकाश गुरुङ, धनकुमार पुर्जा, महेश अर्याल, सुजन लामा, जीवन थापा, विजय गुरुङ, नविन गुरुङ, विजय रानाभाट, रोहित सुनार र विकास गुरुङलाई हिरासतमा लियो अनि अनुसन्धान अघि बढ्यो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाले टोले गुन्डाहरु मिटर व्याजमा संलग्न रहेको भन्दै प्रमाणकै आधारमा उनीहरुलाई पक्राउ गरिएको बताएका थिए ।

मिटर व्याजमा खरो उत्रिएको कास्की प्रहरीले पक्राउ परेकालाई सार्वजनिक मुद्दा दर्ता गरि अनुसन्धान अघि बढायो । जसअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले साउन ६ गते उनीहरु मध्ये केहीलाई ६, ४ र २ महिना जेल चलानसहित रकम जरिवाना गरायो ।

तत्कालिन कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सुनाएको फैसला अनुसार टोले गुन्डा ललित गुरुङलाई ६ महिना कैद सजाय र पच्चिस हजार रुपैयाँ जरिवाना तोकियो ।

त्यसैगरी चन्द्र गुरुङ, धनकुमार पुर्जा, कृष्ण रोकामगर, महेश अर्याल, प्रकाश गुरुङ, शनिराज डंगोल, पुनम गुरुङ, सरोज चापागाईलाई ४-४ महिना कैद सजाय र २५ हजार जरिवाना तोकेको छ भने सुमन श्रेष्ठलाई २ महिना जेल सजाय र २० हजार जरिवाना फैसला गरियो ।

कास्की प्रहरीले चालेको कदम प्रशंसनीय भएपनि मिटर व्याजमा संलग्न (ठूलो माछा) अर्थात मुख्य नाइकेहरु खुले आम महंगा गाडी चढेर हिडेका छन् । प्रहरीले चाहे उनीहरुलाई तुरुन्तै पक्राउ गर्न सक्ने एक व्यवसायी स्रोतले बताए ।

‘करौडौ रकम मिटर व्याजमा लगाउने अनि गुण्डा लाएर पैसा उठाउने चलन अझै पनि छ,’ स्रोतले भन्यो, ‘उनीहरुले आफ्नो व्याज अशुल्नलाई धेरैको घर, घडेरी र गाडी कुम्लाएका छन्, तर उनीहरु विरुद्ध बोल्न डराउछन् । अब मिटर व्याज जस्तो कुरा आफूपनि फसिन्छ कि भनेर मुख खोल्न मान्दैनन् ।’

प्रहरीले चाहे यसको सञ्जाल सजिलै तोड्न सक्ने एक प्रहरी अधिकृतले बताए । ‘प्रमाण खोज्ने हो भने एक न एक जनाले बोल्छन्,’ उनले भने, ‘तर हाम्रौ केही प्रहरी अधिकृत तिनीहरुसँग बसेर रौसी खान्छन् अनि अरु बोल्न डराउनु स्वभाविकै हो नी ।’

मिटर व्याजको खेल

कुनै पनि व्यक्तिलाई पैसाको अत्ति आवश्यक पर्छ, त्यो वेला उच्च व्याज दरमा रकम लिन्छन् । सामान्यतया एक लाख रुपैयाँ व्याजमा दिँदा एक हजार देखि दुई हजार रुपैयाँसम्म व्याज तिर्नुपर्छ । छोटो समयको लागि लिइने मिटर व्याजमा एक लाखको महिनामा ३० हजार देखि ५० हजारसम्म रुपैंयाँसम्म व्याज तिर्नुपर्छ ।

यसमा मिटर व्याज दिनेले अग्रिम व्याज कटाएर रकम दिन्छन् । कानुनी अवरोध नहोस् भनेर मिटर व्याजमा लिएको रकम बराबरको चेक पहिलेनै लिन्छन् । तोकिएको मितिमा रकम नपाए फेरी सावामा व्याज थपेर फेरी नयाँ चेक बनाएर लिन्छन् ।

यदी रकम नै दिन मानेन भने चेक बाउन्स गरि कानुनी उपचारमा जान्छन् । केही व्यक्तिले भने गुण्डा लगाएर थर्काउँछन् । रकम तिर्न केही सिप नलागेपछि घर,जग्गा र गाडी समेत साहुको नाममा दिन्छन् ।

मिटर ब्याजमाथि अर्को धन्दा

मिटर व्याजमा डुवेकालाई उकास्ने नाममा मिटर व्याज भन्दा पनि चर्को व्याजमा रकम लिने नयाँ चलनलाई व्यवसायीले ‘किलोमिटर व्याज’ नाम दिएका छन् । जुन मिटर व्याज भन्दा घातक छ । पहिले नै मिटर व्याजमा फसेको व्यक्तिलाई साथी बनाई सहयोग गरे जसरी अझ चर्को मुल्यमा मिटर व्याजको रुपमा रकम दिन्छ ।

केही समयको लागि मिटर व्याजको तनाव कम गर्न सजिलै झन् ठुलो जालोमा फस्छन् । त्यसपछि घर, जग्गा, गाडी र व्यवसायीनै धरापमा पर्छ ।
पहिला २० देखि ५० मा व्याज लिएको व्यक्तिले त्यो ऋण तिर्न फेरी ५० देखि १०० सम्म मिटर व्याज लिन पछि पर्दैनन् । यसपछि उसको कालो दिन सुरु हुन्छ ।

रकम नदिए कानुनी रुपमा चेक छ, अर्को तिर घर परिवारनै मार्ने धम्की आएपछि घर, जग्गा, गाडी र व्यवसायनै साहुलाई बुझाउन बाध्य हुन्छन् ।

मिटर ब्याजमा बैंकरको भूमिका

पोखरा एक बैंकमा राजेन्द्र (नाम परिवर्तन)को लोन थियो । उनले पोखरा–१७ को एक आफ्नो जग्गा बैंकमा धितो राखेर ४५ लाख रुपैयाँ निकालेका थिए । २ वर्ष पुग्न नपाउदै राजेन्द्रलाई थप रकमको आवश्यक पर्यो ।

नयाँ व्यवसायी सुरु गर्न रकम चाहिएको हुनाले उनी त्यही बैंकमा कुरा गर्न गए । त्यो बैंकले रकम थप्न नमिल्ने भनेपछि राजेन्द्र निराश भए । व्यवसायी गर्ने भनेर अघि बढेपछि रकम त खोज्नै पर्यो भनेर साथीहरुसँग गुहारे ।

त्यसपछि उनको एक साथीले अर्को बैंकमा कुरा गरेर रकम लिकाल्ने जुत्ती दिए । उनी अर्को बैंकमा गए । बैकको मेनेजरले गाह्रो हुने भन्दै हाल टाल गरे । दुई तिन पटकको भेटपछि लोन मिल्ने प्रस्ताव आयो ।

तर पहिलाको बैकमा २० लाख रुपैयाँ मात्र तिरेको हुनाले बाँकी २५ लाख रुपैयाँ तिर्नुपर्ने भयो । पहिलाको बैंकको हिसाव क्लियर नगरी अर्कोमा सार्ने कुरै भएन ।

त्यसपछि रकम खोज्दै हिड्न थाले राजेन्द्र । त्यतिकैमा एक दिन ‘लोनको काम अघि बढाउनु पर्यो’ भन्दै लोन दिने भनेको बैंक मेनेजरबाट फोन आयो । ‘पहिलाको बैंकको लोन तिर्नुपर्ने रकम खोज्दा पाएको छैन’ राजेन्द्रले भने । त्यसपछि मेनेजरले राजेन्द्रलाई ‘साथीको नाताले सहयोग गर्छु’ भन्दै एउटा प्रस्ताव राखे ।

प्रस्ताव मिटर व्याजसँग जोडिएको थियो । केही दिनको लागि मेनेजरले २५ लाख दिने तर एक दिनको २५ हजार रुपैयाँ व्याज बुझाउनु पर्ने बताए । पैसाको खाँचो भएका हुनाले एक दुई दिनमै काम बन्ने भनेपछि राजेन्द्रले प्रस्ताव स्वीकृत गरे । बैंकको मेनेजरले आफ्नो एक जना विश्वासिलो ग्राहकलाई यस विषयमा पहिलेनै भनेका थिए । कुरा भए अनुसार आएको पैसा आधा-आधा बाड्ने पक्का भयो ।

मालपोतले एक दिन फुकुवा गरेको अर्को दिनमा बल्ल रोक्का गरेपछि करिब दुई दिनमा बैंकको काम हुनुपर्ने हो । तर त्यही बैंकको मेनेजरले ढिला गराई दियो । ५ दिनमा काम सकियो । २५ लाखको पाँच दिनमा राजेन्दले १ लाख २५ हजार रुपैयाँ व्याज तिरे ।

यस्तो हुन्छ भनेर आफ्ले त्यहाँबाट थापा पाएको राजेन्द्रले ताण्डव न्यूजलाई बताए । ‘म त पहिलो पटक परेको,’ उनने भने, ‘त्यो मेनेजरसँग मेरो सम्बन्ध निकै राम्रो छ अहिले । सम्बन्ध राम्रो भएपछि कुराकानी गर्दा मेनेजर आफैले स्वीकार गरे । अहिले मेरो पैसा पनि उनले वेला–वेलामा त्यसैगरी चलाउछन् ।’

उन्मुक्ती पाउन प्रेस नोट

२ करोड ५२ लाख ९० हजार तिर्नुपर्ने ऋण सहितको प्रेस नोट टाँसेर २ छोरा र श्रीमतीसहित विगत २२ वर्ष देखि पोखरामा बस्दै आएका भारतीय नागरिक सेख हुसेन ०७४ माघ १६ गते पोखराबाट लापत्ता भए । कारण थियो मिटर ब्याज र ढुकुटी ।

हुसेन सामान्य मजदुरबाट टायर मिस्त्री हुँदै साढे चार वर्ष अघि न्यूरोडमा खोलेको रोयल ट्रेडर्स मार्फत मार्बल र निर्माण सामग्री सप्लाईको व्यवसाय गर्दै आएका थिए ।

भारतीय नागरिक भएपनि लामो बसाई अनि सबैसँगको चिनजानकै कारण हुसेनलाई व्यक्ति तथा आर्थिक कारोबार गरिरहने संस्थाले सहजै विश्वास गरेका थिए ।

जब उनले व्यापार गरिरहेको न्यूरोडस्थित रोयल ट्रेडर्सको सटरमा २६ जनाको नाम किटान गरी मिटरब्याज र ढुकुटीको पैसा बापतको रकम मैले निजलाई तिर्नुपर्ने देखिएको भनी फरार भए तब उनीसँग कारोबार गरेका व्यक्तिहरु छाँगाबाट खसेजस्तै भए ।

तस्बिरः हुसेनले जारी गरेको नोटिस जसमा ढुकुटीवाला र मिटरब्याज कारोबारीको नाम उल्लेख छ ।

स्वर्णश्री सहकारी, शोभा दिदी, धरम दाइ, प्रेम दाइ, युवराज दाइ, भरत गौतम, र राजु गुरुङबाट उनले ६० प्रतिशत मिटर ब्याजमा पैसा लिइएको उनको प्रेसनोटमा उल्लेख छ । ढुकुटीवालाको नाममा विकास दाइ, हरि दाइ र बाबा हार्डवयरको नाम उल्लेख छ । त्यस्तैगरी, सावित्री दिदीबाट १० लाख रुपैयाँ ३६ प्रतिशत ब्याजमा लिइएको जनाइएको छ ।

नामै किटेर ढुकुटी र ६० प्रतिशत मिटर ब्याज उल्लेख गरेपछि हुसेन विरुद्ध पीडितहरु प्रहरी प्रशासन समक्ष कारवाहीको उजुरी गर्न समेत जान सकेनन् । कानूनी उपचारमा जान बाटो बन्द भएपछि हुसेन हालसम्म पनि बेखबर छन् । उनीसँग कारोबार गरेकाहरु ३० देखि ४५ दिनसम्मको चेक लिएर बसेपनि रकम पाउन सकेनन् ।

गत साउन १२ गते साँझ देखि इभा ट्रेडर्सका सञ्चालक फणिन्द्र ढुंगाना बेपत्ता छन् । उनी बेपत्ता हुनुको कारण पनि मिटर ब्याज कारोबार रहेको खुल्न आएको छ ।

कास्की धिताल घर भएका ३५ वर्षीय ढुंगानाले पत्रमा मिटर ब्याज कारोबारीको नाम समेत उल्लेख गरेका थिए । जसका कारण आफू नाजुक अवस्थामा पुगेको उनले पत्रमार्फत जनाएका छन् । ‘माधवलाल श्रेष्ठ र बालकृष्ण घिमिरे जस्ता अझ धेरै साहुसँग कारोबार गर्नाले सय कडा ५० देखि ८० प्रतिशसम्म ब्याज असुली गर्दै आएको र उनीहरुकै कारण आफू यो हालतमा पुगेको’ पत्रमा उल्लेख छ ।

ढुंगानाले छाडेको पत्रानुसार मिटर ब्याज कारोबारी माधवलाल र बालकृष्णलाई गएको १४ गते नै कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा लिई प्रहरीले थप अनुसन्धानका क्रममा एक जनाले ६ लाख र अर्कोले १२ लाख रुपैयाँ ढुंगानासँग मिटर ब्याज लगाएको स्विकारेका छन् ।

चोरसाँघुबाट सेतीनदीमा मानिस हाम फालेको सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि सो क्षेत्रमा खोजी कार्य जारी राखेको भएपनि हालसम्म पाउन सकिएको छैन् ।

मिटर व्याजको सञ्जाल तोडेरै छाड्छौ

ओमबहादुर राना
प्रमुख तथा एसपी
जिल्ला प्रहरी कार्यालय कास्की

हाम्रो कामनै हो गैरकानुनी काम गर्नेलाई कानुनी दायरामा ल्याउने हो । मिटर व्याजपनि अपराध अन्र्तगत पर्छ । यसलाई ठगिको रुपमा पनि लिन सकिन्छ । चर्को व्याजमा रकम दिने अनि रकम नपाएपछि धम्काउने थर्काउने रकम अशुल गर्ने गरेको पाइन्छ ।

विगतमा अपराधी घटनामा संलग्न रहेको व्यक्तिहरु यसमा सक्रिय देखिन्छन् । त्यही भएको हुनाले हामीले अहिले उनीहरुमाथी निगरानी बढाएका छौ । अर्को कुरा मिटर व्याजमा संलग्न रहेकालाई पक्राउ गर्न अल्लि जटिल छ ।

यदी पीडितलेनै आएर भनिदियो भने हामीलाई उनीहरु विरुद्ध कारवाही गर्न अझै सजिलो हुन्छ । हामीलाई कसैले स–प्रमाण यसबारे जानकारी गरायो भने हामी जुनसुकै पदका व्यक्ति भएपनि कानुनी दायरामा ल्याउछौ ।

हुन त यसलाई नियन्त्रण गर्न हामीले कदम चाली सकेका छौ । हामीले एक महिना यता ८ जनालाई मिटर व्याज अन्र्तगत कारवाही पनि गरिसकेका छौ । मिटर व्याज गैरकानुनी मानिन्छ तर यही अपराध हो भनेर किटान भएको छैन । यसले धेरै घटना निम्त्याउन सक्छ ।

हामी मिटर व्याज, गुण्डागर्दी, रकम अशुली गर्नेको विरुद्ध खरो उत्रिएका छौ । मिटर व्याजको सञ्जाल तोडेरै छाड्छौ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.