पोखरा
ताण्डव न्यूज ।
हुन त, नेपालको कानून सर्वसाधरणको लागि जटिल मानिन्छ । त्यहीँ भएर पनि होला कुनै समस्या प¥यो भने मानिसहरु वकिलको सहयोग लिन्छन् । त्यो पनि राम्रो शुल्क तिरेर । आफ्नो पक्षको वकिलले आफ्नै पक्षमै मुद्दा जिताउँछ भन्ने विश्वास हुनु स्वभाविकै हो ।
तर पोखरा–४ बस्ने पदम कुमार माकाजुुलाई आफ्नो पक्षकै अधिवक्ता रोहितराज वास्तोलाले गलत निर्देशन गरेको आरोप लगाएका छन् । त्यति मात्र होइन उनले अधिवक्ता वास्तोलालाई कडा कारवाहीको माग राख्दै विभिन्न न्याय सम्बद्ध संघ/संस्थामा उजुरी समेत दिएका छन् ।

घटनाक्रम …
पदम कुमार माकाजुले आफ्ना चिनजानका साथी पोखरा–४, बस्ने पवनकुमार प्रजापतिलाई अप्ठ्यारो परेकोले घर जग्गा धितो जमानी राखी पोखरा फाइन्नास लिमिटेडबाट झण्डैं २ करोड २५ लाख रुपैयाँ झिक्न दिए ।
केही समय पछि पवनकुमार प्रजापतिले सांवा र ब्याज बापतको किस्ता बैंकमा हाल्न छाडिदिए । निरन्तर बैंकले ऋणी पवनकुमारलाई ताकेता गर्दा पनि उनले चासो दिएनन् । फलस्वरुप धनजमानी बसेका पदमकुमार माकाजु परिबन्धमा परेर बैंकलाई सांवा र ब्याजको किस्ता बुझाउँदै गए ।
उनले पवनकुमारलाई पैसा झिक्न दिँदाका पूर्वसर्त सहितको सम्झौता गराए । ०६९ चैत्र १९ गते दुवै जनाले लिखित सहमति गराए । लिखितलाई कानूनी मान्यता दिन अधिवक्ता रोहितराज बास्तोलाले जयकाली ल सेवाको कार्यालयमा बसी सम्झौता (मस्यौदा) लिखित तयार गरे ।
माकाजु र प्रजापति बीच भएको पहिलो सम्झौतालाई आधार बनाउँदै अधिवक्ता बास्तोलाले दोस्रो सम्झौता गराए ०६९ चैत्र २२ गते । दुई बीचको आपसी लेनदेनलाई आधार बनाई सम्झौता पत्रको व्यहोरामा करार ऐन २०५६ बमोजिम उक्त सम्झौता पत्र तयार गरिएको उल्लेख गरियो ।
सम्झौता अनुसार पवनकुमार प्रजापतिले कुनै पनि बुँदा कार्यान्वयन नगरेपछि पीडित बनेका माकाजुले थप कानूनी उपचारको लागि सम्झौता लिखित गराउने अधिवक्ता बास्तोलालाई गुहारे । अधिवक्ता बास्तोलाले कानूनी उपचारका लागि करार बमोजिमको रकम र क्षतिपूर्ती दिलाइ पाउँ भनी कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गराउन लगाए ।
माकाजु र प्रजापति बीच दोस्रो पटक सम्झौता गराउँदाको बखतमा ९ नं. बुँदामा ‘सम्झौतापत्रमा लेखिएका शर्तहरु मध्ये कुनै शर्तको कुनै पक्षबाट परिपालना नभएमा सोको परिपालना गर्न गराउनका लागि पूर्व सम्झौतापत्रमा साक्षी रहेका व्यक्ति पोखरा–४, बस्ने तिर्थ राना, प्रदिपराज भण्डारी, कृष्णबहादुर थापालाई मध्यस्थता गर्न दिन दुवै पक्ष मन्जुर भइ विवाद समाधानका लागि पहल गर्न कानून अनुसार दुवै पक्ष सहमत भएको’ अधिवक्ता बास्तोलाले उल्लेख गरी सम्झौता गराए ।
यसर्थ, समस्या समाधानका लागि ‘करार सम्बन्धी उठेका कुनै विवादको सम्बन्धमा सोही करारनामाको शर्त बमोजिम गर्नुपर्ने र प्रस्तुत विषय करार ऐनको अधिकार क्षेत्रभित्र पर्ने भइ सो अधिकार क्षेत्रबाट उपचार प्राप्त गर्न सक्ने देखिएकोले यस्तो दुइ पक्ष बीच सम्पन्न भएको करारको सम्बन्धमा उठेको विवादमा यस अदालतको असाधारण अधिकार क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने’ उल्लेख गर्दै अदालतले माकाजुको मुद्दा उपर कारबाही गर्न नसक्ने भनी फिराद दाबी खारेज गरेको जनायो ।
विवाद समाधानको लागि सम्झौतामा मध्यस्थताको उल्लेख गर्ने अधिवक्ता बास्तोलाले सिधैं फिराद दाबी सहित मुद्दा दर्ता गर्न लगाएर पीडित माकाजुले दावी गर्दा जम्मा गरेको ८४ हजार २ सय ७० रुपैयाँ जफत गर्ने फैसला भयो । माकाजुको सो मुद्दा थप कानूनी उपचारका लागि उच्च अदालतमा छ ।
कानूनको पैरवी गर्ने व्यक्तिबाट नै कानूनको अपव्याख्या गरी गलत निर्देशन दिने अधिवक्ता बास्तोला उपर पीडित माकाजुले हदैसम्मको कारवाही माग गरेका छन् ।
माकाजुले कारवाहीको माग गर्दै कानुन व्यवसायी परिषद्, प्रधान न्यायधीश सर्वोच्च अदालत, सर्वोच्च अदालत बार एशोसिएसन, मुख्य न्यायाधीश उच्च अदालत पोखरा, उच्च अदालत बार एशोसिएसन, कास्की जिल्ला बार एशोसिएसन, मुख्य न्यायाधिश जिल्ला अदालत कास्कीमा आवश्यक उजुरी दस्तुर दाखिला गरी २०७५ असार १५ गते उजुरी दर्ता गराएका हुन् ।
‘सम्झौताअनुसार काम गर्न पवन कुमार प्रजापति नमानेपछि अधिवक्ता भएको नाताले निज रोहितराज बास्तोलासँग के, कसो गर्ने भनी सोधनी हुँदा मध्यस्थता ऐन र विधिबाट नभई करारको आधारमा फिराद गर्ने भनी मुद्दा दायर गरी म पीडितलाई थप हानी नोक्सानी पु¥याउँदै मुद्दालाई समेत कमजोर पार्ने काम भएको’ भनी माकाजुले उजुरी दर्ता गराएका हुन् ।

उनका अनुसार आफैंले सम्झौता गरेको पत्रको ९ नं. बुँदामा नटेकी सोझै अदालत प्रवेश गरी बहससमेत गर्ने कार्य भएको जसबाट कानून व्यवसायीको आचारसंहिता विपरित पेशागत चरित्र र धर्मको बर्खिलाप हुने कार्य गरेको आरोप छ ।
साथै, अधिवक्ता बास्तोलाले आवश्यक प्रक्रियाको थालनी नै नगरी अनावश्यक रुपमा मुद्दालाई पेचिलो बनाई समयको बर्बाद गराएर मुद्दालाई न कमजोर पारेको आरोप उनको छ ।
उजुरी परेको मलाई थाहा छैन : अधिवक्ता वास्तोला
उजुरी परेको विषयमा आफूलाई केही थाहा नभएको अवधिक्ता रोहितराज वास्तोलाले बताए ।
‘मलाई उजुरी परेको छ भनेर हल्ला सुनेको हो, मैले नी,’ उनले भने, ‘अरु मलाई केही थाहा छैन ।’
निर्वाचनको बेला यस्तो कुरा आएको उनले सुनाए । ‘निर्वाचनको हतकण्डा हो,’ उनले भने, ‘अरु केही होइन् ।’ ताण्डव न्यूजले यस विषयमा थप प्रश्न गर्दा उनले प्रतिक्रिया नजनाई सिधैं फोन काटिदिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.