www.tandavnews.com
Fact ~ In search of truth

विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुँदैनः मन्त्री अधिकारी

ईश्वर देवकोटा
पोखरा/ताण्डव न्यूज ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण नगरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।

निर्माणाधीन विमानस्थललाई केही जग्गा अपुग देखिएको भनि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)इकाइ शाखाले पोखरा–१४ वडालाई पत्र पठाएपछि आन्दोलित भएका स्थानीयलाई नआत्तिन उनले आग्रह गरे ।

Batas

‘आयोजना निर्माणाधीन छ,’ उनले भने, ‘निर्माण कम्पनी र क्यानले थप जग्गा चाहिएको भन्नु अस्वाभाविक होइन तर के कति आधारका लागि जग्गा चाहिएको भन्ने महत्वपूर्ण हो ।’

नीजि एयरलाइन्स कम्पनीको लागि थप जग्गा चाहिएमा उनीहरुले स्यवम् र प्राधिकरण मार्फत व्यवस्थापन गर्न सकिने भएको जनाउँदै मन्त्री अधिकारीले थप जग्गा अधिग्रहण गर्नुपरेको खण्डमा स्थानीय सरोकारवालाहरुलाई चित्त बुझाएर मात्र अधिग्रहण गरिने जनाए ।

‘ह्यांगर र पेट्रोलियम स्टोरेजको लागि जग्गा चाहिएको छ भन्ने बुझियो,’ मन्त्री अधिकारीले भने, ‘नयाँ सरचना थपको लागि जति जग्गा छ त्यसमै व्यवस्थापन गरिनेछ, थप जग्गा आवश्यक नै हो भने सम्बन्धीत नागरिकसँग प्रत्यक्ष सहमति नभई प्रक्रिया अघि बढ्दैन ।’

क्यानको बैठकमा थप जग्गा चाहिने भन्दै प्रस्ताव आए पनि आफूले हाल भइरहेको जग्गा मै आवश्यक संरचना व्यवस्थापन गर्न निर्देशन दिएको उनले सुनाए ।

सामाजिक प्रभावलाई मूल्यांकन नगरी आयोजना निर्माण पक्षले एकतर्फी माग गर्दा कहिलेकाहीँ समस्या देखिन सक्ने भन्दै अधिकारीले सबैमा ढुक्क हुन आग्रह गरे ।

मन्त्रालयबाट थप जग्गा अधिग्रहणका लागि कुनै पनि निर्णय नभएको स्पष्ट पार्दै मन्त्री अधिकारीले आयोजना सम्बन्धी निर्णय गम्भीर भएर मात्र गरिने जनाए ।

टर्मिनल भवन शिलान्यास

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य टर्मिनल भवनको शिलान्यास गरिएको छ ।  मन्त्री अधिकारीले आज विमानस्थल निर्माणस्थलमा उपस्थित भई वैदिक विधि पूर्वक भवनको शिलान्यास गरेका हुन् ।

बन्ने टर्मिनल भवन १४ हजार वर्गमिटरको आयतनमा निर्माण हुने छ । जसमा ८ हजार वर्गमिटर अन्तर्राष्ट्रिय उडानका लागि र बाँकी ६ हजार आन्तरिक(डोमेस्टिक) उडानका लागि प्रयोगमा आउने जनाइएको छ । भवन निर्माण सन् २०२० जुलाईमा सक्ने लक्ष्य लिइएको छ ।

अबको एक महिना पश्चात्त धावन मार्ग (रन वे) निर्माणका लागि समेत काम अघि बढिरहेको जनाइयो । जसकाे निर्माण सन् २०१९ जुलाइसम्ममा सक्ने लक्ष्य रहेकाे जनाइएकाे छ ।

भिडियो हेर्नुहोस्

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.