
पोखरा
ताण्डव न्यूज ।
अखिल क्रान्तिकारी विद्यार्थी संगठन कास्की जिल्ला कार्य समितिकी एक विद्यार्थी नेतृले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठन केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष नारायण वडाल विरुद्ध निवेदन दिएकी छन् ।
उनले न्याय पाँउ भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भदाै ११ गते निवेदन दिएको ताण्डव न्यूजसँग बताइन् । ‘मेरो अभिभावक जस्तो मान्छेले ममाथि कु–दृष्टि राखेर यस्तो हर्कत गर्दा निकै पीडा महशुस भएको छ,’ उनले भनिन्, ‘नेताको नाममा यस्तो कु–कार्य गर्नेलाई कारवाही हुनुपर्छ भन्दै मैले पार्टी कार्यालयमा पनि निवेदन दिएको छु, साथै अखिल क्रान्तिकारी केन्द्र र जिल्लामा समेत बोदार्थ दिएको छु ।’
काठमाडौंमा घटेको घटना बारे कसैलाई नभन्नु भन्दै धम्काएको समेत उनले सुनाई । ‘उनले ममाथि हात हालेपछि मैले प्रतिकार गरे,’ उनले भनिन्, ‘म उम्कन सफल भए । त्यसपछि मलाई घटना बारे अरुलाई भने ठिक नहुने भन्दै बारम्बार धम्काए ।’

यस्तो कु–कार्य गर्नेलाई कडा कारवाही हुनुपर्ने उनको माग छ । ‘आज ममाथी भयो भोली अरुमाथि यस्तो प्रयास नहोस्,’ उनले भनिन्, ‘आज म जीउँदो छु यहीँ घटनाले केही भएको भए ? मलाई अरु केही होइन न्याय चाहियो । पार्टीले मलाई न्याय दिने छ । नत्र म कानूनी प्रक्रियामा अघि बढ्ने छु ।’
घटना क्रम (निवेदनमा उल्लेख गरे अनुसार)
म ……… अखिल क्रान्तिकारी कास्की जिल्ला समितिमा …………को रुपमा कार्यरत छु ।
मेरो केही व्यक्तिगत र केही सांगठनिक कामको शिलशिलामा म मिति २०७५/५/७ गतेका दिन काठमाडौं गएकी थिए । काठमाडौंमा कामहरु सहज होस् भनी नयाँ बसपार्क स्थित एक होटलमा बसेकी थिए ।
कामहरु धेरै थिए तर त्यो ठाउँ र बाटोहरु नचिनेकोले भोलिपल्ट मिति २०७५/५/८ गतेका दिन मैले बाटो चिनाइदिन र ठाउँहरु देखाइदिनका निम्त्ति मैले अखिल क्रान्तिकारी पूर्वअध्यक्ष (कास्की जिल्ला) तथा केन्द्रीय सदस्य (अखिल क्रान्तिकारी) नारायण बडाललाई अनुरोध गरे ।
उहाँ ठिक ११ बजे बिहान मलाई ठाउँहरु चिनाइदिनका निम्त्ति उहाँ म बसेको ठाउँमा आउनु भयो र मैले बाथरुम गएर लुगा फेरेर आउँछु भन्दा ढोका खोल्न लाग्दा ढोकाकै चुक्कुल लगाएर मलाई जर्बजस्ती हात समाई मेरो संवेदनशील अंगमा छोएर अश्लिल शब्द बोली जर्बजस्ती गर्ने प्रयास भयो । मैले प्रतिकार गरी उहाँको पञ्जाबाट फुत्कन सफल भए ।
उहाँले मलाई यो घटनाको विषयमा पोखरा गएर कसैलाई नभन्न भनी धम्की दिनु भयो । यदि भनेमा ज्यान मार्ने धम्की समेत दिनु भयो । यसर्थ यो सारा वृतान्त यहाँ समक्ष पेस गर्नुको पछाडि मलाई एउटा कमजोर महिला सम्झेर मेरो अस्मिता माथि धावा बोलेको र बलिदान र त्यसबाट सिर्जित हाम्रो गौरवशाली पार्टी र संगठनको इज्जत र प्रतिष्ठा समेत धमिलाउने कुचेष्ठा भएको तितो अनुभूति सहित दोषि उपर कडा कारवाही गरी म पीडितलाई न्याय दिनुहुन म यो विनम्र निवेदन पेस गर्दछु ।
झुटो आरोप हो : केन्द्रीय सदस्य वडाल
राजनीतिक प्रतिशोध उतार्न आफूलाई झुटो आरोप लगाइएको अखिल क्रान्तिकारी विद्यार्थी संगठन केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष नारायण वडालले बताए । ‘हो उनीसँग काठमाडौंमा भेट भएको हो,’ उनले भने, ‘तर मैले केही त्यस्तो गलत काम गरेको छैन् । पोखराका केही नेताले मेरो नराम्रो चाहन्छन् । त्यसरी नै गलत कथा रचिएको हो ।’
आफूले निवेदनको व्यहोरा पढ्न नपाएको उनले बताए । ‘मलाई पार्टीका केही नेताले फोन मार्फत कुरा गरेका छन्,’ उनले भने, ‘म विरुद्ध के लेखिएको छ त्यो निवेदनमा पढ्न पाएको छैन । फोनबाट जे सुने त्यो सबै गलत हो ।’
नियम र विधि अनुसार काम कारवाही हुन्छ : अध्यक्ष तामाङ
अखिल क्रान्तिकारी संगठनका अध्यक्ष रज्जित तामाङले यस घटना सम्बन्धी प्रक्रिया अघि बढ्ने बताए । ‘यो घटनाको विषयमा मकहाँ मौखिक रुपमा जानकारी आएको छ,’ उनले भने, ‘लिखित रुपमा आएपछि संगठनको नियम र विधि अनुसार प्रक्रिया अघि बढ्छ ।’
घटनाको बारेमा अनुशासन आयोगले काम कार्यवाही अघि बढाउने उनले सुनाए । ‘यस्तो विषय हेर्ने हाम्रो छुट्टै अनुशासन आयोग छ, त्यसले अनुसन्धान अघि बढाउछ अनि सोही अनुसार काम कारवाही हुन्छ ।’
बैठकमा कुरा उठाउँछु : कास्की अध्यक्ष आचार्य
निवेदन बोदार्थको रुपमा जिल्ला कमिटीलाई आएको अखिल क्रान्तिकारी विद्यार्थी संगठन कास्कीका अध्यक्ष रामजीप्रसाद आचार्यले बताए ।
‘मलाई हिजाे साँझ बोदार्थको रुपमा पत्र हात पर्यो,’ उनले भने, ‘कास्की ईन्चार्ज काठमाडांै हुनुहुन्छ, उहाँसँग यस विषयमा फोनबाट सम्पर्क भएको छ । उहाँ आएपछि बैठक राखेर कुरा गर्ने छौ ।’
पीडित विद्यार्थी नेतृले दिएको निवेदन
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.