www.tandavnews.com
Fact ~ In search of truth

सांसदको रोषः पुल मर्मत र सडक स्तरोन्नतीको कुरा उठाउँदा सरकारले रिपोटिङ गर्ने तर कार्यान्वयन नगर्ने

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभाका सांसदले संसदमा आफूहरुले उठाएका एजेण्डालाई सरकारले प्राथमिकता नदिएको प्रति रोष प्रकट गरेका छन् । प्रदेश सभाको मंगलबार बसेको बैठकमा कांग्रेस सांसद भागवत प्रकाश मल्लले राम्दीमा कालीगण्डकी नदी माथि बनेको पुल र सिद्धार्थ राजमार्गको विषयमा पटकपटक कुरा उठाउँदा सरकारले चासो नदिएको आशय प्रकट गरे ।

‘राजमार्ग विकासको आधार हो, राजमार्गको समयअनुसार स्तरोन्नती गरिनुपर्छ ।,’ उनले भने, ‘गण्डकी प्रदेश र ५ नं. प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग राम्दीमा बनेको कालीगण्डकी माथिको पुल जिर्ण अवस्थामा छ, त्यहाँ ६ चक्के सानो सवारी मात्र गुड्न दिइन्छ, ठुला ढुवानीका सवारीलाई गुड्न दिइदैन्, तसर्थ सामान ढुवानीमा बढी मूल्य पर्न गएको छ । पुल मर्मत र सडक स्तरोन्नतीको कुरा उठाउँदा सरकारले रिपोटिङ गर्ने तर कार्यान्वयन नगर्ने नगराउने चलन बढेको’ बताए ।

Batas

बाग्लुङ देखि कुश्मीसेरा लगायतका जोड्ने बाटोमा अत्यधिक आवागमन बढेकाले सहज रुपमा सवारी आवागमन बनाउन कांग्रेस सांसद मणिभद्र शर्माले प्रदेश सभा बैठकमा माग राखे । नजिकिदै गरेका चाडबाडहरुलाई मध्यनजर गरेर भएपनि सो बाटोको दुर्दशा हटाउनु पर्नेमा उनको जोड छ । आफू लगायत धेरै सांसदहरुले उक्त बाटोको बारेमा धेरै पटक आवाज उठाउँदा समेत सम्बन्धीत निकायले जिम्मेवारी नलिएको भन्दै आश्चर्य प्रकट गरे ।

यस्तै, सांसद शर्माले विशेष समयमा बोल्दै पोखरा विश्वविद्यालयमा गएको भाद्र ५ गते इन्जिनियरिङ शाखामा रातको समयमा प्रवेश गरी अति गोप्य कम्प्यूटरको डाटा ह्याक गरेको सम्बन्धमा आजको बैठकमा सभामुखको ध्यानाकर्षण गराए । विश्वविद्यालयको महत्वपूर्ण शाखामा प्रवेश गरि दस्तावेज चोरी भएकोमा सत्ता पक्षकै भातृ संगठनका कार्यकर्ताको हात रहेको उनको दाबि छ ।

‘६ गते बिहान कर्मचारी आई पत्ता लागेपछि क्याम्पस प्रशासनले दिएको किटानी जाहेरीमा सत्ता पक्षकै भातृ संगठनका कार्यकर्ताको नाम छ,’ उनले भने, ‘सत्ता पक्ष बाटै संरक्षित भएकोले प्रशासनले पक्रिन नचाहेकोले जनगुनासो बढ्यो ।’

लाखौं विद्यार्थी पढ्ने विश्वविद्यालयमा विद्यार्थीकै जीवनसँग जोडिएका दस्तावेजहरु सुरक्षित नभएकोले प्रदेशकै सुरक्षामा प्रश्न उठेको उनले सुनाए । सत्ताको आडमा अराजकतालाई संरक्षित गर्न नहुने उनले बताए । छानबिनको जिम्मेवारी लिएको निकायले यथासक्य सत्यता बाहिर ल्याउन माग गरे ।

जनमोर्चा सांसद कृष्ण थापाले बाग्लुङ र गुल्मीसँग जोडिएको कालीगण्डकी करिडोरको अवस्था नाजुक रहेको सुनाए । आम नागरिकलाई सडकको पहुँच विहिनताबाट बञ्चित हुन नदिई सडक विस्तारको अन्यौता हटाउन आग्रह गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.