www.tandavnews.com
Fact ~ In search of truth

‘दोषी ठहरिए कारबाही भोग्न तयार छु’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

‘तारा बजी लै लै मामा आए घोडा
माइजू आइन् डोली पापा ल्याइन् सोली
बुबु माम सुपुक्क काफल गेडी कुटुक्क
बिरालो भन्छ म्याउँ म्याउँ
गुल्टो भन्छ उछिट्याउँ’  भन्दै गुनगुनाइरहेका छन् एक कक्षामा विद्यार्थीहरु । सङ्ख्यामा गन्ती गर्दा ७ जना । माछापुच्छे« गाउँपालिका वडा नं ६ भिडाबारीमा रहेको बराह माध्यमिक बिद्यालयमा ताराबाजी लैलैको लोक लय यसरी नै गुञ्जिन थालेको पनि दुई बिस बाह्र वर्ष भइसकेछ ।

‘अनुशासन विद्यार्थीको गहना हो’ लगायतका विद्यार्थी लक्षित जोसिला र प्रेरणादायक श्लोकहरुले स्कुलको भित्ता पोतिएका छन् । तर ‘चिल्ड्रेन्स् आर दि रिफ्लेक्ट अफ प्यारेन्ट्स’ भन्ने जस्ता अभिभावकमैत्री श्लोकहरु भने बिरलै देखिन्छन् । शान्त तथा मनोरम वातावरणमा वि.सं २०२४ सालमा स्थापित बराह माबिको बाहिरी स्वरुप आकर्षक देखिएतापनि भित्री मुहार भने कालो गेरुले पोतिएको जस्तो छ । स्थानीय अभिभावकहरुद्वारा विद्यालयसँग सरोकार राख्ने व्यक्तिहरुले आर्थिक घोटाला गरेको आरोप बाहिरिएपछि भेडाबारी क्षेत्र नै पछिल्लो समय तरङ्गित बनेको छ । विद्यालयका भूपू विद्यार्थी कृष्णप्रसाद अधिकारी, स्थानीय उमानाथ अधिकारी, सोही विद्यालयमा अध्यापन गरेर अवकाश लिएका भूपू शिक्षक जयलाल दवाडी, लगायतले विद्यालयका प्रध्यानाध्यापक नरबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा केही शिक्षकहरुलाई आर्थिक अनियमितताको दोषारोपण गरेपछि विद्यालयको गुणस्तर र अध्ययनरत विद्यार्थीहरुको भविष्यमाथि प्रश्न खडा भएको हो ।

Batas

यतिबेला आरोप लगाउने एक पक्षले सत्य घटना बाहिर ल्याउनका लागि कसरत गरिरहेको छ भने विद्यालयका प्रध्यानाध्यापक तथा समितिका अध्यक्ष लगायत आर्थिक हिनामिना प्रकरणमा मुछिएका शिक्षकहरु नखाएको बिष लाग्दैन भन्दै अभिभावक भेला बोलाएर आफूहरुलाई चोखो साबित तुल्याउन खोजिरहेका छन् । तर यसको सत्य, तथ्य र निष्पक्ष निष्कर्ष भने यथाशीघ्र बाहिर ल्याउनै पर्ने स्थानीयवासी तथा अभिभावकहरुको माग छ ।

आरोप निराधार हुन् : प्रअ नरबहादुर गुरुङ

विद्यालयका प्रध्यानाध्यापक नरबहादुर गुरुङले केही स्थानीय अभिभावकहरुले लगाएको आरोप निराधार रहेको बताएका छन् । गत सोमबार विद्यालयमा आयोजित अभिभावक भेला कार्यक्रममा बोल्दै प्रअ गुरुङले आरोप कसैको चरित्र हत्या गर्ने धेयका साथ निजी स्वार्थका लागि आरोप दोषारोपण गरेको बताए । उनले वार्ताबाटै सत्य कुराको टुङ्गो लगाउनपर्नेमा जोड दिँदै आफू दोषी ठहरिएको खण्डमा कारबाहीको भागेदार हुन मञ्जुर रहेको उल्लेख गरे ।

उनले भने ‘२० वर्ष भाडामा दिनुअघि १ व्यक्तिलाई ७ वर्षका लागि दिइएको थियो । पछि, विद्यालय र स्थानीयको हित हुने खालको प्रस्ताव लिएर अर्को व्यक्ति आउनुभयो । ७ वर्ष भाडामा दिएको व्यक्तिकै सहमतिमा, उहाँलाई लिनेवालाले नै क्षतिपूर्ति दिने गरी सहमति भएर २० वर्षका लागि भाडामा दिइएको हो ।’

शैक्षिक गतिविधिलाई विस्तार गर्ने उद्देश्य र स्थानीयलाई पनि हित हुने भएकाले समितिकै छलफल र सहमतिमा जग्गा दिइएको गुरुङको भनाइ छ । ‘टेन्डर आह्वान नगरिएको मात्र हो । विद्यालयको समिति, जनप्रतिधिसँग व्यापक छलफल सहित सहमति गरेर नै सबै कुरा भएको छ । प्रक्रिया नपुगेको हो भन्ने लाग्दैन,’ उनले भने, ‘शैक्षिक विकासकै लागि यो सब गरिएको हो । उसले बनाएका संरचनाहरु सबै छाडेर जाने सहमति छ । फेरि सहमति अनुसार कार्य नगरे स्वतः खारेज हुने गरी सहमति पनि गरेका छौं नि ।’

सरकारले दिउँसो कक्षा सञ्चालन गर्न लगाएपछि लिइएको तलबबारे स्पष्ट पार्दै प्रअ गुरुङ भन्छन् ‘प्लस टु का कक्षाहरु दिउँसो सञ्चालन गर्न गाह्रो हुँदाहुँदै पनि हामीले सरकारको आदेशलाई पालना गर्दै सुरु ग¥यौं । कतिले त अझै बिहानै सञ्चालन गरिरहेका पनि छन् । जतिवटा संकाय भएपनि सरकारले १, २ वटा अनुदान दरबन्दी भनेर दिन्छ । आन्तरिक स्रोतले जे जति भ्याउँछ त्यहीअनुसार गर्नु भनिएको छ । माविलाई प्लस टु को नियुक्ति त छैन,’ उनले थपे, ‘माविकै तलब खाएर पढाउनु पर्ने भो । योग्य शिक्षकलाई पढाए बापत प्रोत्साहन स्वरुप दिइएको हो । पहिला एउटा कक्षाको ५ हजार रुपैयाँ खाने शिक्षकलाई दिउँसोमा सञ्चालन भएपछि २ हजारमा मनायौं । त्यो पनि समितिकै निर्णयअनुसार दिइएको हो । सबै सहमति छ समितिको । पछि विवाद आएपछि त्यो २ हजार पनि बन्द गरियो ।’

स्मारिका निर्माणको विषयम प्रअ गुरुङले समिति नै बनाएर काम गरिएको सुनाए । संयोजकको जिम्मा रामजीप्रसाद पौडेललाई दिइएको र पौडेलले नै तयार पारेको दस्तावेजको आधारमा स्मारिका निर्माण गरिएको उनले बताए । आफू प्रअ नरहँदा पनि विवाद हुने गरेको सम्झँदै उनी भन्छन् ‘म प्रअ नहुँदा पनि विवाद भैरहन्थ्यो । अहिले ढाई करोड रकम छ, अझ ८० लाख त फिक्स डिपोजिटमा राखेका छौं, २० लाख थपेर १ करोड बनाउने योजना पनि छ ।’

राजिनामा दिइँदैन : अध्यक्ष गौतम

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतमले दुई चार जनाको बेकुबी मागले राजिनामा नदिने बताए । ‘बोल्न पायो भनेर जे पनि बोल्ने, जे पनि गर्ने, उनीहरुले राजिनामा माग गर्दैमा दिइँदैन,’ उनी झोक्किदै भने, ‘यदि रामचन्द्र यो विद्यालयको लागि घातक छ भनेर तपाईहरुले, सबै अभिभावकले भन्नु भो भने मैले पनि महसुस गराँला नत्र कसैले आरोप लगाएको भरमा मरी गए राजिनामा दिन्नँ ।’

गौतमले आरोपमा कत्ति पनि सत्यता नभएको जिकिर गरे । ‘पहिले जग्गा सम्झैता गर्दा २ वर्षमा १० प्रतिशतले भाडा वृद्धि गर्ने गरी सहमति ग¥यौं । ६२ हजार वार्षिक प्राप्त हुन्थ्यो । विद्यालयकै पूर्व अध्यक्ष राजेन्द्र गुरुङलाई दिइएको जग्गा, उहाँमार्फत नै लमजुङका पवन रोकालाई दिइएको हो । उहाँहरुले शैक्षिक प्रयोजनका लागि लमजुङको गैरी क्याम्पसको शाखा खोल्ने भनेर विष्णु भुसाललाई ८५ रोपनी जग्गा लिजमा दिएको हो । जग्गामा एग्रो टुरिजम सम्बन्धित कार्यक्रम हुने भएकाले १८ जना व्यक्तिहरुको हस्ताक्षर सहित दिएका हौ,’ उनले थपे, ‘यदि विद्यालयमा राम्रो काम गर्न सकेन भने स्वतः समाप्त हुने भने लेखेर सहमति पनि भएको छ । २० लाख अग्रिम लिइएको भन्ने सत प्रतिशत झुट हो । त्यो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह गर्दछु ।’

घुस लिने र दिने दुबै भष्ट्राचारी हुन् : विष्णु भुसाल

अभिभावक भेलामा बोल्दै जग्गा लिजमा लिएका विष्णु भुषालले घुस लिने र दिने दुबै भष्ट्राचारी भएको भन्दै उक्त जग्गा पाउनका लागि कुनै पनि रकम फजुल नदिएको बताए । ‘२० लाखको आरोप जुन आएको छ, यो पूरै गलत प्रचारबाजी भएको छ । २० लाख त के २ रुपैयाँ पनि मैले दिएको छैन,’ उनले भने, ‘पैसा दिएको र लिएको बारे तपार्इँहरु प्रष्ट हुनुस्, सहमति बाहेकका आर्थिक कारोबार भएको छैन ।’

विद्यालयमा आइएससी भेटेरिनरी लगायतका प्राविधिक शिक्षा पछिल्लो समय पनि सञ्चालनमा भएकोले बराह मावि कै जग्गा रोज्न परेको उनले सुनाए । जग्गाको बिवाद र स्मारिकाको विषयलाई लिएर स्थानीय देवीप्रसाद अधिकारीले असमझदारी पैदा हुन आवश्यक नरहेको बताए । उनले विसं २०१८ सालको अदालती फैसला देखाउँदै अधिकारीले भने, ‘ यी यो फैसला छ, सार्वजनिक जग्गा नै हो स्थानीय भएका कारण बाजे बराजुले भोगचलन गरे, कस्को कति भन्ने एकिन प्रमाण छैन । अझ उनीहरुले सार्वजनिक जग्गा भोगचलन गरेको भन्दै दण्डित समेत हुनुपरेको रहेछ ।’

यसअघि विद्यालय प्रशासन र ब्यवस्थापन समितिको मिलेमतोमा गैरकानुनी रुपमा शिक्षकलाई पैसा दिएको, बिना प्रकृया विद्यालयको जग्गा भाडामा दिएर पैसा खाएको, इतिहास मेटाउने उद्देश्यले स्मारिका प्रकाशन गरिएको लगायतका विषयमा स्थानीयले आरोप लगाएका थिए ।

यो पनि पढ्नुहोस्

बराह माविमा अनियमितता ! (भिडियो सहित)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.