www.tandavnews.com
Fact ~ In search of truth

मार्फाली गाउँ र स्याउले बोलाइरहेछ…

पोखरा,
सुरज हजारे दाहाल

यति बेला मुस्ताङको मार्फा गाउँ स्याउले रातम्य भएको छ । तीजदेखि दशैं अगाडिसम्म यहाँ स्याउ टिप्न शुरु गरिन्छ । स्याउको राजधानीको रुपमा परिचित मार्फा गाउँ बृष्टि छायाँमा रहेको मुस्ताङ जिल्लामा अवस्थित छ ।

हिमाल पारी रहेको मार्फाको भौगौलिक र जैविक विशेषता अलग छ । कालीगण्डकी उपत्यकामा अवस्थित यस हिमाली गाउँ समुद्रि सतहदेखि मार्फाको उचाई २६५० मिटरमा छ । समुद्रबाट त्यति टाढा नभए पनि अन्नपूर्ण हिमालले वाफिलो हावा रोक्ने भएकोले यहाँ वार्षिक २५ सेन्टिमिटर भन्दा कम पानी पर्दछ ।

मार्फा शब्द ‘मार’् र ‘फा’ मिलेर बनेको छ । ‘मार्’ को अर्थ मिहेनती र ‘फा’ को अर्थ जनता हो । थकाली जातीको घनावस्ती रहेको मार्फा गाउँ स्याउ खेतीको लागि प्रख्यात रहेको छ । ३०० वर्ष अगाडि हालको पुरानो मार्फामा मात्र मानिसहरु बस्ने गर्दथे । माथिल्लो भेगमा पानी घट्ट नभएकोले मानिसहरुलाई अन्न पिस्न हालको नयाँ मार्फमा झर्नुपर्ने हुँदा निकै गाह्रो भएको थियो ।

सुबिधाका लागि त्यसपछि मानिसहरु बिस्तारै झर्न थाले र हालको मार्फा गाउँमा बस्ती बसेको हो । करिब २ घण्टा हिडेर पुगिने परानो मार्फामा मुस्किलले दुई घर मात्र रहेका छन् र बाँकी सबै पुरानो मार्फा स्याउ खेतीले भरिएको छ ।

मार्फा गाउँको दक्षिण भेगमा तिब्बतियन शरणार्थी क्याम्प र छाइरो गोम्पा नाम गरेको गुम्बा हरेको छ । प्रत्येक घर माथि पुरानो चलन अनुसार काठको चाङ राखिएको देख्न सकिन्छ । नेपालमा संविधान तथा मुलकी ऐन रहे पनि मार्फामा भने मुखियाको नियम चल्छ । गाउँलेहरुलाई नियमन गर्नाको लागि मुखियाले कानून तथा नियम बनाउने गर्छन् ।

Lama collectio News Middle

मार्फालीहरुले एक वर्षको लागि ४ जना नाइके रोज्ने गर्छन् । ति चार जनाले मुखिया मध्ये एक जनाले एक महिनासम्म गाउँ चलाउँछन् । प्रत्यके अर्को महिना मुखिया परिवर्तन हुन्छ ।

स्याउ अनुसन्धान केन्द्र
मार्फा आफैमा स्याउको राजधानी हो र यहाँ स्याउको अनुसन्धान लागि शितोष्ण बागवानी विकास केन्द्र रहेको छ । यसको स्थापना २०२३ सालमा भएको थियो । स्याउ र साग मात्र फलाइने मार्फामा अनुसन्धान केन्द्रको कारण मार्फालीहरु बन्दा, गाजर, खुर्सानी, ब्रोकाउली, भेडें खुर्सानी लगायतका तरकारीको खेती गर्न सफल भएका छन् ।

पछिल्लो पटक केन्द्रले स्याउको अलवा एलमण्ड तथा आरुमा पनि अनुसन्धान गर्दै आएको छ । ४१ प्रकारका स्याउको अनुसन्धान पूरा भए पनि मार्फाको माटो सुहाउँदो ४ प्रकारका स्याउको मात्र व्यवसायिक खेती गरिएको छ ।

रेड डिलेसियस, रोयल डिलेसियस, रिच ए रेड र गोल्डन स्याउको खेती प्रचुर मात्रामा गरिएको छ । अनुसन्धान केन्द्रले कृषकलाई स्याउको बेर्ना ४० रुपैयाँमा बेच्दै आएको छ । गोल्डन एप्पल अन्य स्याउ भन्दा नाजुक भएकोले गाडीमा हाल्दा बोक्रा उक्निे तथा दाग लाग्ने भएकोले यसबाट सुकुटी र रक्सी बनाउने गरिन्छ ।

केन्द्र आफैले पनि स्याउबाट एप्पल ब्राण्डी बनाउने गरेको छ । रोपेको ५ वर्षमा स्याउको बोटले फल दिन सुरु गर्दछ । ६ देखि ८ वर्षसम्म करिब २ किलो फल दिए पछि ८ औं वर्षपछि भने एउटै बोटले १५० केजी भन्दा बढी फल दिन्छ । माघमा फूल फुलेर असोजमा खान तयार हुन्छ । ज्याम र जुस बनाउ उच्च गुणस्तरको स्याउ र रक्सी बनाउन भने कम गुणस्तरको स्याउको प्रयोग गरिन्छ ।

यसरी पुग्ने ः
पोखराको लेकसाइडबाट हरेक बिहान ७ बजे एकै मुस्ताङको जोमसोमका लागि बस तथा जीप छुट्छन् । बसको भाडा एक हजार र जीपको १७ सय पर्छ । दिउँसो ४ बजेभित्र जोमसोम पुगिन्छ । जोमसोम पुग्नु आधा घण्टा अगावै मार्फा आइपुग्छ । मार्फा गाउँ २ दिन बसेर पोखरा फर्किदा ५५ सय मात्र खर्च हुन्छ । मार्फा कोशेली घरबाट मुस्ताङे दाल, खुर्सानीको छोप तथा एप्पल ब्राण्डी खरिद गर्न सकिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop